जीवन-दर्शनविचार-विश्‍लेषण

इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई ब्रम्हा, विष्णु र महेश्वरसँग तुलना

Gopal Bhandari
गोपाल भण्डारी

वैदिक प्रमाण अनुसार परमात्माका अनन्त नामहरु र रूपहरु छन् भन्ने कुरा बुझिन्छ । परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ । नेपालीमा परमेश्वरलाई भगवान, परमात्मा वा परमेश्वर पनि भन्दछन् । परमेश्वरको परिकल्पना ब्रह्माण्डको संरचनादेखि सुरु भएको हो । वेदका अनुसार व्यक्तिका भित्र पुरुष ईश्वर नैं छ। परमेश्वर एक नैं छ। वैदिक र पाश्चात्य मतहरूमा परमेश्वरको अवधारणामा यो गहिरो अन्तर छ कि वेदका अनुसार ईश्वर भित्र र बाहिर दुइटै छ जबकि पाश्चात्य धर्महरूका अनुसार ईश्वर केवल बाहिर मात्र छ। ईश्वर परब्रह्मको सगुण रूप छ। हिन्दु धर्ममा ईश्वर त्यो शक्ति छ जसदेखि सारा संसार चल्दछ। आखिर इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई हाम्रा त्रिदेव ब्रम्हा, विष्णु, महेश्वर वा त्रिदेवी लक्ष्मी, सरस्वती र कालीसँग तुलना गर्न सकिन्छ ।

बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले परमाणु (इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन)लाई परमेश्वर (महेश्वर, विष्णु र ब्रम्हा)सँग तुलना गर्न सकिन्छ ।

परमाणु (न्यूट्रोन + प्रोटोन + इलेक्ट्रोन) ↔ परमेश्वर (ब्रह्मा + विष्णु + महेश्वर)

इलेक्ट्रोन  ↔  महेश्वर (अर्धाङ्गिनी पार्वती)

प्रोटोन  ↔  विष्णु (अर्धाङ्गिनी लक्ष्मी)

न्यूट्रोन  ↔  ब्रम्हा (पत्नी सरस्वती)

परमेश्वर

हिन्दू धर्ममा परमेश्वर भन्नाले ब्रम्हा, विष्णु र महेश्वर (शिव)लाई बुझिन्छ । वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता परब्रम्ह परमात्मालाई बुझाउँछ। हिन्दू धर्मका अनुसार सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र महेश्वर संहारकर्ता शिव एकै रूपका तीन अंग हुन्। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कम्मर भन्दा तलको भाग छ। सारा विश्व ब्रम्हाण्डमा ‘द पावर अफ ट्रिनिटी’ अर्थात त्रिगुणात्मक शक्तिबाट यो सृष्टि परिचालित भएको छ ।

परमाणु कुनै पदार्थको सबैभन्दा सानो भाग हो, जुन इलेक्ट्रोन, प्रोटोन  र  न्युट्रोन मिलेर बनेको हुन्छ । प्रोटोनहरू धनात्मक चार्ज र  इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन भने न्युट्रोनको चार्ज हुँदैन। आखिर इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई हाम्रा त्रिदेव ब्रम्हा, विष्णु, महेश्वर वा त्रिदेवी लक्ष्मी, सरस्वती र कालीसँग तुलना गर्न सकिन्छ  । सत्व, रज, तम (न्यूट्रोन, इलेक्ट्रोन र प्रोटोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरूदेखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ ।

माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ । जनै र गायत्री को परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’ ’भर्गो देवस्य धीमहि’ ’धियो यो नः प्रचोदयात’ । सत्य युगमा शक्ती परमेश्वरमा हुन्थ्यो भने आजको भौतिक कालीयुगमा शक्ती परमाणुमा रहेको हुन्छ । तसर्थ आज संसारभरी पारमाणिक र आणविक शक्तीको होडवाजीमा शक्तिशाली राष्ट्रहरु तछाडमछाड गरी अघी बढी रहेका छन ।

ब्रह्मा

हिन्दु धर्म अनुसार ब्रह्मा संसारका सृष्टिकर्ता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले न्यूट्रोनलाई ब्रम्हासँग तुलना गर्न सकिन्छ । न्युट्रोन चार्जरहित परमाणविक कण हो, जो परमाणुका न्युक्लियस(केन्द्र)मा  रहेको हुन्छ । ब्रह्मा संसारका सृष्टिकर्ता भएतापनि उनको भूमिका केन्द्रमा अभिभावकको रुपमा तटस्थ देखिन्छ । ब्रह्मामा भएको गुणलाई सत्वगुण मानिए जस्तै न्यूट्रोनमा भएको गुणलाई पनि सत्वगुणसँग तुलना गर्न सकिन्छ ।

विष्णु

हिन्दू धर्मका आराध्यदेव भगवान विष्णुलाई संसारको पालनकर्ता मानिन्छ। जसले यो सृष्टि चलाएको मानिन्छ। भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले प्रोटोनलाई विष्णुसँग तुलना गर्न सकिन्छ । प्रोटोन धनात्मक चार्जयुक्त परमाणविक कण हो, जो परमाणुका न्युक्लियस(केन्द्र)मा रहेको हुन्छ । विष्णु पालनकर्ता भएर संसारको सृष्टिलाई चलाई सकरात्मक बाटोतिर हिडाउन केन्द्रमा अभिभावकको भूमिकामा देखिन्छन । विष्णुमा भएको गुणलाई तमगुण मानिए जस्तै प्रोटोनमा भएको गुणलाई पनि तमगुणसँग तुलना गर्न सकिन्छ ।

शिव/महेश्वर

हिन्दू धर्मका अनुसार शिवलाई संसारको संहारकर्ता मानिन्छ। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले इलेक्ट्रोनलाई शिवसँग तुलना गर्न सकिन्छ । इलेक्ट्रोन ऋणात्मक चार्जयुक्त परमाणविक कण हो, जो परमाणुका न्युक्लियसलाई केन्द्र बनाएर परिक्रमा गरीरहेको हुन्छ । त्रिदेवहरूमा भगवान शिव संहारको देवता (विनाशकर्ता)को रुपमा नकरात्मक भूमिकामा संसारभर घुमिरहेको देखिन्छन । शिवमा भएको गुणलाई रजगुण मानिए जस्तै इलेक्ट्रोनमा भएको गुणलाई पनि रजगुणसँग तुलना गर्न सकिन्छ ।

भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ। यसरी नै इलेक्ट्रोनलाई पनि ब्रहमतत्व मानिन्छ किनकी यो संसारका हरेक बस्तुमा इलेक्ट्रोन रहेको हुन्छ ।  श+िव= शिव मिलेर बनेको शिवको नामको ि लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। इलेक्ट्रोनले परमाणुका न्युक्लियसलाई केन्द्र बनाएर परिक्रमा गर्न छाडेमा परमाणुको अस्थित्व कल्पना गर्न सकिदैन ।

शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ। शिवको टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमा माला छ। शिवले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। त्यस्तै इलेक्ट्रोनले पनि परस्पर विरोधी द्वैध (दोहोरो) चरित्रहरु अथवा गुणहरु देखाउछ । कहिले यसले पार्टिकल (कण)को जस्तो गुण देखाउछ भने कहिले वेभ (तरङ)को जस्तो गुण देखाउछ ।

शिव शक्ति हो। यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ। ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ। हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ। सनातन धर्मशास्त्रले शरीरको बल र विजयका लागि देवीको महिमा गर्छ भने आत्मबलका लागि शिवको। किनकि आत्मबल अरु सबै बलको जननी हो। तसर्थ शिव शक्तिको जननी पनि हो। शिव तत्व हो, शिव जीवनदर्शन हो, शिव विज्ञान हो, शिव पूरै परमात्मा हो र मानव जगत मरमात्माको अंश हो।

यसरी नै इलेक्ट्रोनलाई उर्जामा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने उर्जा उत्पन्न हुन्छ । महान् वैज्ञानिक आइन्सटाइनको विशेष सापेक्षतावादको सिद्धान्तको वैज्ञानिक सूत्र E = mc अनुसार उर्जाको मान इलेक्ट्रोनको पिण्ड वृद्धिलाई प्रकाशको गतिका वर्गदेखि गुणा गर्नमा प्राप्त हुन्छ। इलेक्ट्रोन र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ । कुनै वस्तुको पिण्ड नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ उर्जामा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र उर्जामा बदलिएको हुन्छ ।

अन्तमा, सबै परमाणुका न्युक्लियसमा प्रोटोन न्युट्रोनका सगै भएजस्तै ब्रह्मा र विष्णु पनि प्राय संसारका हरेक समस्याको सामधान गर्न सगै मिलेर बसेको पाईन्छ । पश्चिमा विज्ञानले जतिजति यसका बारेमा खोज्द्रै गए, पूर्वीय दर्शनमा उनीहरुको झन्झन् रुची बढ्दै गएको पाइयो । विज्ञानको विकासको क्षेत्रमा पनि पश्चिमले पूर्वकै अनुशरण गरेको हो । हाम्रो शास्त्रले धेरै पहिले सारा विश्वको मुलमा आत्मा छ भनेर भनिसकेको हो । प्रारम्भिक बिन्दु नै आत्मा र चेतना भनिएको थियो, त्यसैलाई आजको विज्ञानले ‘क्वान्टम कन्ससनेस’ भनेको छ । पश्चिमाहरु अहिले आएर बल्ल पूर्विय दर्शन र चिन्तनको मर्म बुझ्न थालेका छन् । यसरी परमेश्वरलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई ब्रम्हा, विष्णु र महेश्वरसँग तुलना

  • यादव भण्डारी

    कलात्मक बिश्लेषण।

Leave a Reply

error: Content is protected !!