राजनीति

नेपालको संक्षिप्त परिचय

नेपालको संक्षिप्त परिचय । नेपाललाई विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन् गरिएको छ । पश्चिम नेपालको वुटवल क्षेत्रमा पाइएको रामपिथेस मानवको अवशेषले करीव एक करोड वर्ष भन्दा अगाडिदेखि नै नेपालमा मानवको वसोवास शुरु भईसकेको तथ्य प्रष्ट हुन्छ । नेपाललाई सत्ययुगमा “सत्यवती”, त्रेतायुगमा “तपोवन” र द्वापरयुगमा “मुक्तिसोपान्” भनिन्थ्यो भने कलियुगमा “नेपाल” भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ । नेपाल शब्दको उत्पत्ति बारेमा ठोस प्रमाण नभए पनि एक प्रसिद्ध विश्वास अनुसार मरिची ऋषि पुत्र “ने” मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

नेपालको अन्तरिम संविधान २०६३ अनुसार, नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो । मूलतः संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । नेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा अवस्थित संसारकै सर्वोच्च शिखर सगरमाथा र शान्तिका प्रतीक भगवान गौतम वुद्धको जन्मस्थल लुम्बिनी रहेको देश हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट उत्तरदेखि ३० डिग्री २७ मिनेट उत्तरसम्म र ८० डिग्री ४ मिनेट पूर्वदेखि ८८ डिग्री १२ मिनेट पूर्वसम्म देशान्तर फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या लगभग २ करोड ६५ लाख छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ भने मध्य भाग केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । संसारका सबैभन्दा उच्च १४ हिमश्रृखलामध्ये ८ वटा नेपालमा पर्दछन् । लण्डनस्थित ग्रीन वीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकाले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!