अन्तर्राष्ट्रिय समाचार

चीनमा फेसबुक होइन, वी–च्याट

श्रावण २९, २०७३।

चीनमा सन् २००८ देखि फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो । सामान्य मोबाइल अथवा कम्प्युटरबाट कुनै पनि ब्राउजर प्रयोग गरेर फेसबुक चलाउन सकिन्न । फेसबुक मात्र होइन चीनमा युट्युब, गुगल, ट्वीटर, जिमेल लगायतका वेबसाइट तथा सामाजिक सञ्जाल पनि प्रतिबन्धित छन् । चीन सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाए पनि विदेशीसँग सम्पर्क गर्न प्राय:जसो सरकारी निकायका फेसबुक आईडी छन् । चाइना डेली, पिपुल्स डेली, सीसीटीभी, सीआरआई तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग लगायतका थुप्रै संस्थाले फेसबुक चलाउँछन् । प्रतिबन्धित भए पनि फेसबुक चलाउन विभिन्न भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्नुपर्छ । कतिपय भीपीएन नि:शुल्क डाउनलोड गर्न मिल्ने हुन्छन् भने धेरैजसोचाहिँ पैसा तिरेर किन्नु पर्ने हुन्छ ।

अधिकांश नेपाली फेसबुकबाटै सञ्चार गर्छन् । चीनले फेसबुकजस्तै वी–च्याट बनाएको छ । यो चीनमा मात्र नभएर अहिले विश्वव्यापी बन्दै गएको छ । वी–च्याटमा टेक्स्ट म्यासेज गर्न, भ्वाइस म्यासेज गर्न लगायत भ्वाइस कल र भिडियो कल गर्न मिल्छ । यसमा फेसबुकमा जस्तै फोटो, भिडियो, विभिन्न समाचार र सम्बन्धित लिंकहरू पनि राख्न मिल्छ । चिनियाँले वी–च्याटलाई सामाजिक सञ्जालका रूपमा मात्र नभई सबै बैंकिङ कारोबार पनि गर्दछन् । वी–च्याटमार्फत् टयाक्सी भाडा तिर्ने कामदेखि रेस्टुरेन्टमा खाएको तिर्ने र सुपरमार्केटमा किनमेल गर्न पनि सकिन्छ । आफ्नो बंैक खातामा भएको असीमित पैसा अरूको खातामा सार्न र अरूबाट लिन पनि सकिन्छ ।

चिनियाँहरू पछिल्लो समयमा टेलिफोनको कम प्रयोग गर्छन् । धेरैजसो सञ्चार वी–च्याटबाट हुने गर्छ । स्मार्ट फोन बोक्ने सबै चिनियाँसँग वी–च्याट हुने गर्छ । चीनबाट फैलिएको वी–च्याट प्रयोगकर्ता अमेरिका, क्यानाडा, अस्ट्रेलिया, अफ्रिका, युरोप हुँदै संसारका सबै भागमा फैलिरहेको छ । अब नेपालबाट चीन भ्रमणमा आउनेले आफ्नो मोबाइलमा फेसबुक होइन वी–च्याट राख्न अनिवार्य जस्तै भएको छ । फेसबुकमा जस्तै वी–च्याटमा आफ्नो साथीलाई जोड्न भने बिर्सनु हुँदैन । फेसबुकको ठाउँमा वी–च्याट जस्तै ट्वीटरको ठाउँमा बिइपो र गुगलको ठाउँमा पाइतु चलाउँछन् चिनियाँहरू ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!