खानपान

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

डा. अरुणा उप्रेती
डा. अरुणा उप्रेती

करी पत्तालाई कतिजनाले मीठा निम पनि भन्छन् । सायद निमको पत्ताको औषधीजन्य गुण हुने तर तीतो नभएकाले यसलाई मीठा निम भनेको हुनसक्छ । मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको चाहिँ २००६ मा श्रीलंकाको बसाईमा हो । श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गरिँदो रहेछ । पहिले पहिले त म तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । सँगै खान बसेकी नर्सले छक्क परेर भनिन्, “यो त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्र्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यसमा यो त भिटामिन ‘ए’को भण्डार नै हो, अनि किन तिमीले फ्यालेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।”

यसमा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भु्रणलाई स्वस्थ पार्छ । पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन पनि मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र बिरे नुन पनि हाल्न सकिन्छ । लुतो, डण्डीफोर आदि निको पार्न निम प्रयोग गरिएजस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ ।

मेरो घरमा दुईवटा करी पत्ताका बोट छन् । प्रत्येक दिन २-४ वटा पत्ता चपाउँछु । तरकारी बनाउँदा पत्ता हाल्छु नै । पिसेको अचार बनाउँदा हरियो धनियाँसँगै करीपत्ता पनि पिस्छु । लामो सयमका लागि घरबाहिर जाँदा चाहिँ सुकाएको करी पत्ता सँगै लैजान्छु र चपाएर वा धुलो बनाएर तरकारी-दालमा हाल्छु । यसको भिटामिन ‘ए’ले आँखाको स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामिन ‘ए’को कमीले बालबालिका र गर्भवती महिलामा आँखाको समस्या देखापर्छ । भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करी पत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

सस्तो तर स्वास्थ्यबर्धक खानाहरु

फापर र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु

कोदो र यसका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!