खानपान

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

डा. अरुणा उप्रेती
डा. अरुणा उप्रेती

सितलचिनीलाई अंग्रेजीमा मोरिन्गा (Moringa) भनिन्छ । सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने बढी किसिमका पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइन्छ । तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ ।

सितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ। तर, यसमा स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेको पाइँदैन । विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि ?

भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा-पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ । सितलचिनीमा प्रशस्त भिटामिन ए (Vitamin A) पाइन्छ ।

विज्ञका अनुसार सितलचिनी जस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् । गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ । सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन । घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं। अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन ।

स्वास्थ्य मन्त्रालय चाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ। तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन । विदेशीले किनेर दिए भने सिकाउँछ कि ? सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनु जस्तै हो ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

सस्तो तर स्वास्थ्यबर्धक खानाहरु

फापर र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु

कोदो र यसका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!