विज्ञान जिज्ञासा

रक्सी पिउँदा किन मात लाग्छ ?

रक्सी एक किसिमको पेय पदार्थ हो जसमा इथिनोल हुन्छ । रक्सी यस्तो मादक पदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठीक ठाउँमा रहँदैन । रक्सी एक प्रकारको मन्द विष पनि हो । रक्सीको पिउने चलन प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । रक्सीलाई विभिन्न समय अनुसार विभिन्न उपनाम जस्तै: सोमरस, अङ्गुरको छोरी उपनाम दिईने गरिन्छ । रक्सीको आनन्द रिक्सा चलाउने मजदुरदेखि उच्च ओहदाको अधिकृत र राजनीतिज्ञले समेत लिइरहेका हुन्छन । रक्सी सेवनकै कारण विश्वभरि प्रत्येक वर्ष लगभग ३३ लाख मानिसको मृत्यु हुन्छ भने रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ ।

हामीले आएको रक्सीले सबैभन्दा चाँडो केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ। केन्द्रीय स्नायु प्रणालीले बोली, मांशपेशीहरु, ज्ञानेन्द्रीयहरु तथा पसिना ग्रन्थीहरुको नियन्त्रण गर्ने गर्छ। केन्द्रीय स्नायु प्रणालीले आँखा, कान, छालाजस्ता अङ्गहरुबाट सूचना लिई सामान्यतः मांसपेशी खुम्याई त्यसको प्रतिक्रिया दिन्छ । तर, रक्सीले केन्द्रीय स्नायु प्रणालीको काम गर्ने क्षमता घटाउने हुनाले अधिक रक्सी सेवन गर्दा मान्छे अनियन्त्रित हुने, उसले नसोची बोल्ने, आँखा तिर्मिराउने, पसिना धेरै आउने र पीडा चाल नपाउने जस्ता समस्याहरु देखापर्छन् । रक्सीले मस्तिष्कको बाहिरी तह फ्रोन्टल कोर्टेक्स्मा पनि असर गर्छ । फ्रोन्टल कोर्टेक्स्ले विचार गर्ने कार्यको नियन्त्रण गर्ने गर्छ ।

रक्सीले शरीरबाट धेरै पानी बाहिर निकाल्ने कार्यको नियन्त्रण गर्ने हर्मोनहरुको उत्पादनमा कमी ल्याउँछ, जसको कारण रक्सी खाँदा धेरै मात्रामा पसिना र पिसाब आउँछन् । यही कारणले शरीरमा पानीको कमी हुन्छ । त्यसैले रक्सी धेरै खायो भने पानी पनि धेरै खान मन लाग्छ । शरीरमा पानीको कमी हुँदा पोटासियमको मात्रामा पनि असर पर्छ । यही कारणबाट शरीरले आफ्नो नियन्त्रण गुमाउँछ । रक्सी सेवन गर्दा शरीरमा ग्लुकोजको मात्रा बढ्न जान्छ । यसबाट रगतमा ग्लुकोजको मात्रा कम गर्ने इन्सुलीनको उत्पादन बढ्न थाल्छ । इन्सुलीनले विस्तारै रगतमा ग्लुकोजको मात्रालाई घटाउँदै लान्छ । ग्लुकोजको मात्रा निकै घट्यो भने काँप्ने, धेरै पसिना आउने, थकाइ लाग्ने र आँखा तिर्मिराउने हुन्छ ।

हाम्रो शरीरमा रक्सीलाई पचाएर शक्तिमा बदल्ने (मेटाबोलाइज गर्ने) प्रमुख अङ्ग कलेजो हो । यसले शरीरभित्र प्रवेश गरेको ९० प्रतिशत रक्सी मेटाबोलाइज गर्छ भने १० प्रतिशत मात्र पिसाब वा श्वासप्रश्वासबाट शरीरबाहिर पठाउँछ । तर, कलेजोमा रक्सी मेटाबोलाइज हुने प्रक्रिया निकै ढिलो हुन्छ । कलेजोलाई आफ्नो काम गर्न पानीको निकै आवश्यक पर्छ । तर, रक्सीले शरीरमा पानीको मात्रा घटाउने हुँदा कलेजोलाई काम गर्न पानी अपुग हुन्छ । यस्तो स्थितिमा कलेजाले मस्तिष्कबाट पनि पानी लिन्छ । यही कारणले गर्दा रक्सी सेवनपछि टाउको दुख्ने हुन्छ । साथै, कलेजोमा रक्सी मेटाबोलाइज हुूँदा एसिटलडिहाइड नामक विषालु पदार्थको निर्माण हुन्छ । यसले कलेजो स्वयं, मस्तिष्क र पेटमा समेत असर गर्छ । यी कारणहरुबाट टाउको दुख्ने, वाकवाक लाग्नेजस्ता समस्याहरु देखा पर्छन् ।

यो पनि पढ्नुहोस्  

विवाहित महिलाले बढि रक्सी पिउँछन्

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!