स्वास्थ्य

खोपले कसरी काम गर्छ ?

खोप भनेको रोग लाग्नबाट बचाउन भ्याक्सीन दिई शरीरको रोगसंग लड्ने क्षमता बढाउनु हो । वास्तवमा खोप दिनु भनेको शरीरमा प्रतिरोधात्मक प्रणाली निर्माण गर्नु हो । बच्चा जन्मेको पाँच वर्ष नपुग्दै उसलाई विभिन्न थरिका खोपहरु लगाइन्छन् । पोलियो, हेपाटाइटिस, दादुरा आदि जस्ता रोगका खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । यस्ता खोपहरुले काम कसरी गर्छन् त ?

हामीहरुमध्ये धेरैले के सोचेका हुन्छौँ भने रोग लाग्दा दिइने औषधि जस्तो खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप दिइँदा रोग सम्बन्धित भाइरस वा ब्याक्टेरिया नै शरीरभित्र पसाइन्छ । उदाहरणको लागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन् । तर, खोपमा ती कटिाणुहरुलाई शिथिल बनाइएका हुन्छन् । त्यसैले ती किटाणुहरुसँग रोग लगाउने क्षमता हुँदैन । शिशु अवस्थामा नै खोपमार्फत यस्ता किटाणुहरु शरीरमा प्रवेश गराइएको खण्डमा शरीरमा सम्बन्धित रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बढ्छ । र, भविष्यमा पनि रोग लगाउने किटाणु शरीरभित्र पसेमा केह कठिनाइ विना ने त्यसको प्रतिरोध हुने स्थिति कायम हुन्छ ।

शरीरमा जब शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छन्, तब शरीरमा रहेका बि–सेलहरु (एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन् । बि–सेलहश्र क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुको निर्माण हुन्छ । यी एन्टिबडीले रोग लगाउने ब्याक्टेरिया वा भाइरसविरुद्ध प्रतिरोध गर्छन् । त्यसैले कैयन् खोपहरु एकपटक दिइसकेपछि जीवनभरको लागि शरीरमा निश्चित प्रकारको रोगविरुद्ध प्रतिरोध गर्ने क्षमता कायम रहेको हुन्छ ।

तर कुनै-कुनै खोपले जीवनभरको लागि काम गर्दैन् । उदाहरणको लागि टिटानसको खोपले खास समय-सीमाको लागि मात्र काम गर्छ । यो र यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ । मानिस जन्मिँदा ऊसँग निश्चित प्रकारका रोगहरुविरुद्ध मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक तत्व उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन् । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन् । त्यस्तै, अन्य कैयन् रोगविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत् प्राप्त हुँदैनन् । त्यसैले भविष्यमा लाग्न सक्ने रोगविरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खास-खास रोगका खोपहरु दिइन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!