विज्ञान जिज्ञासा

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन । यो सर्वव्यापी घोलक पनि हो । यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ । पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन् । पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमीनमा पाइन्छ । हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ । सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।

पानी हाम्रो शरीरको लागि खानाभन्दा पनि महत्वपूर्ण तत्व हो । पानीबिना हामी २/३ दिनभन्दा बढी बाँच्न सक्दैनौ । पानीमा उल्लेखनीय पौष्टिकता हुँदैन । खानाले जस्तो पानीले हामीलाई शक्ति प्रदान गर्दैन, न त यसले शरीरको आकार नै बढाउँछ । तथापि विशेषज्ञहरुका अनुसार हामीले दैनिक न्यूनतम २-५ लिटर पानी पिउनुपर्छ । पानी हाम्रो शरीरको लागि यति धेरै किन आवश्यक छ त ?

विज्ञहरुका अनुसार स्वस्थ रहन शरीरमा ७० प्रतिशत पानी हुनु अत्यावश्यक छ । पानीले हाम्रो शरीरका अधिकांश प्रक्रियाहरुलाई मद्दत गर्छ । पानीले रक्तसञ्चार व्यवस्थित गर्ने काम गर्छ र रगत बग्ने नसाहरुलाई पनि स्वच्छ राख्छ । खाना पचाउन, खानाको मद्दतले उर्जा उत्पादन गर्न र शरीरमा हुने रसायनिक प्रतिक्रियाहरुको लागि पनि पानी नभई हुँदैन । पानीले शरीरमा रहेका हानिकारक तत्वहरु शरीरबाट बाहिर फाल्ने काम गर्छ, खासगरी पेट तथा आन्द्राहरुबाट ।

पानीले शरीरको तापक्रम स्थिर राख्न पनि मद्दत गर्छ । हाम्रो शरीरमा अनगिन्ती रसायनिक प्रक्रियाहरु चलिरहेका हुन्छन् । ती प्रक्रियाहरुको कारणबाट उत्पन्न भएको तापमानले शरीरको तापक्रम बढाउँछ । तर, पानीले शरीरले तापक्रम स्थिर राख्न योगदान पुयाइरहेको हुन्छ । हाम्रो शरीरमा सबै अङ्गहरुमा पानी हुन्छ । यतिसम्म कि हड्डी समेतमा पनि पानी हुन्छ । रगतमा ९०, मस्तिष्कमा ८५, मृगौलामा ८२, मांशपेसीमा ७५, कलेजोमा ६९ र हड्डीमा २२ प्रतिशत पानी हुन्छ । त्यसैले शरीरलाई स्वस्थ राखि राख्न धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

उभिएर किन पानी पिउन हुँदैन ?

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!