राष्ट्रिय अन्तर्वार्ता

संसद भनेको बारमासे र जुवाडेहरुको अखडा हो – लक्ष्मण राजबंशी

मंसीर १८, काठमाडौँ ।  लक्ष्मण राजबंशी बौद्धिक जनतान्त्रिक परिषद पार्टीका अध्यक्ष तथा सांसद हुनुहुन्छ । उँहा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ । सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हिसावले संसद बैठकको अध्यक्षता पनि गर्नुभयो । दोस्रो संबिधानसभामा उँहा नेपा: राष्ट्रिय पार्टीवाट सांसद हुनु भएको हो । तर पछि उक्त पार्टीको नेतृत्वसंग नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा बैचारिक, सैद्धान्तिक  र राजनीतिक रुपमा फरक मत राखेकोले कुरा नमिलेर उहाँलाई पार्टीवाट निष्काशन गरिएको थियो ।

राजबंशी नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक, विगतमा नेपाल भाषा एकेडेमी–उप–कुलपति, शिक्षाबिद, शिक्षाप्रेमी तथा समाजसेवी, २०४६ सालमा शिक्षामन्त्रीको सल्लाहकार, ५२ वर्षशिक्षण, २८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख, एस.एल.सी. जेलबाट दिनुभयो, आनन्दकुटी बिधापिठमा १० बर्ष प्रधानाध्यापक, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मेलन र गोष्ठीहरुमा सहभागिता, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ । नेपालको बर्तमान  राजनीति, पहिला संसद हुदाँको भोगाई बारेमा केन्द्रित रहेर साइन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी  ।

१. संसदमा एउटा मार्गदर्शक अभिभावकको भूमिका निभाउनु भएको थियो । स्वाभिमानको सवालमा कसैसंग पनि शिर झुकाउनु भएन । समग्रमा यो निबर्तमान संसद भई सकेपछि कस्तो महसुस गरि राख्नु भएको छ ?

वास्तवमा मैले जुन आशा गरेको थिए त्यो धेरै थिएन किनभने संसद्को एउटा सिमा मलाई मोटामोटी थाहा थियो । यो चाही कुनै साच्चैको प्रजातान्त्रिक तरिकाले चुनिएका संसद थिएनन् । चुनावको प्रक्रियादेखि नै त्यहाँ धेरै गडवडी शुरु भएको थियो । चाहे त्यो पैसाको खेल होस् वा कुनै धाक-धम्कीको खेल होस् । चाहे बहिर्य शक्तिको खेल होस् । यी सवै पृष्ठभूमिवाट बनेको संबिधानसभाले साच्चिकै जनताको प्रतिनिधित्व गर्ला भन्ने कुरामा मलाई शुरुमा नै दुविधा थियो । तर संबिधानसभा सदस्य भएर गई हालेकोले गर्दा अरु भन्दा पृथक भूमिका निभाउछु भनेर त्यहि अनुसार मैले देश र जनताको स्वाभिमानको लागि कसैसंग पनि शिर नझुकाउई आवाज बुलन्द गर्दै शशक्त भूमिका निभाए । तर देश र जनताको हितको लागि पार्टीको संकुचित नीति बिरुद्ध बोल्न खोज्ने अन्य पार्टीका संसदहरुको धारणा स्थापित हुन नसकी संसदको गरिमालाई अझ साँघुरो बनाई उनीहरुलाई पार्टीको सानो घेराभित्र राखेर उनीहरुलाई अवसरवाट बन्चित गरी छायाँमा पर्ने प्रयास गरियो । मेरो अनुभवमा संसद भनेको बारमासे र जुवाडेहरुको अखडा हो जस्तो लाग्छ । ठुला ४/५ वटा पार्टीका नेताहरु देश र जनताको हितको निम्ति नभएर आफ्नो पार्टी र व्यक्तिको स्वार्थको मोलमोलाई मिलेन भने संसदको बैठक नै  स्थगित गर्ने जस्ता गैरजिम्मेवारीपूर्ण काम पनि भएको छ ।

२. अघिल्लो दिन भोली यति बजे संसद बस्ने भन्ने संसदहरु सांसदमा आई सकेको २/३ घण्टापछि पनि संसदको बैठक नबसी सूचना टाँसेर स्थगित गर्ने गलत संस्कारलाई सुधार्न के गर्नुपर्छ ?  

हेर्नुहोस यो भनेको हाम्रो देशका ठुला पार्टीका नेता, संसदका सभामुख र महासचीवको गैरजिम्मेवारीपनको पराकाष्ठा हो । संसद बस्ने बिजनेस छैन र देशको राष्ट्रिय सवालमा प्रयाप्त गृहकार्य भएको छैन भने किन संसद्को बैठक बोलाउनु ? एकदिनको संसद्को बैठक नबस्दा लगभग ३००० जना जति मान्छेको दिनचर्यामा नकारात्मक असर पर्नुको साथै राज्यको ढुकुटीको त्यतिकै दोहन हुनजान्छ । यो प्रवृति अव आउने  नयाँ संसदमा दोहारिनु हुदैन । सभामुखले सवै पार्टीका संसदीय दलका नेताहरुसंग प्रयाप्त गृहकार्य गरेर मात्र संसदमा छलफलको लागि बिजनेश लानुपर्छ । सभामुख जस्तो सम्माननीय भई सकेपछि कुनै पार्टीको साधारण सदस्यवाट राजिनामा दिई स्वतन्त्र हुनुपर्छ र संसद्को नियमावली अनुसार बैठक बोलाएपछि गर्नैपर्छ ।

३. सभामुख भएर पनि काम गरेको अनुभव सम्झदा पुर्वसभामुख सुभाष नेम्वाङ र ओनसरी घर्तीलाई कसरी तुलना गर्नुहुन्छ ?

स्वाभाविक रुपमा सुभाष नेम्वाङ अनुभवी बौद्धिक कानुनविद पनि भएकोले गर्दा उहाँले सभामुखको रुपमा संसद्को काम कारवाही सहज रुपमा संचालन गर्नुभयो भने ओनसरी घर्तीले पनि सभामुखको रुपमा ठिकै भूमिका निर्वाह गर्नुभयो ।

४. नेपाली राजनीतिमा विभिन्न पार्टीका नेताहरूको सिन्डिकेट तोड्न के गर्नुपर्ला ?

विभिन्न पार्टीका नेताहरूको सिन्डिकेट ब्यबहारले तोड्नुपर्छ । यसको लागि बहुमत वा बढी सिट ल्याउने पार्टी सत्ता पक्षमा बस्नुपर्छ र दोस्रो बढी सीट ल्याउने स्पष्ट रुपमा विपक्षमा बस्नैपर्छ । संसदमा सत्तापक्ष र प्रतिपक्ष आफ्नो भूमिकामा बस्नुपर्छ । यहाँ त प्रतिपक्ष नै छैन । सवै सरकारमा जाने अनि मिलाएर खाने भने जस्तो चलन चलिरहेको छ ।

५. संसदमा गाडी खरिद, संसदमा बैठक नबसको भत्ता लिने र खाजा खर्चमा १२ करोड अनियमितता र भ्रस्टाचार भएको छ ? संसद सचिवालयलाई न्यायको कठघरामा ल्याउन के गर्नुपर्ला ?

संसद गाडी खरिद प्रकरण, सचिवको तलव मन्त्रीको भन्दा दोब्बर, कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ करोड भत्ता, संसद्को खाना-नास्ता खर्च तीन वर्षमा ११ करोड जस्ता धरै अनियमितता भएको खवरहरु नआएका होइनन् । नेपाली जनताले तिरेको कर र बिदेशमा रहेका नेपालीको पसिनावाट उठेको रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई यसरी जथाभावी खर्च गरेर राज्यको ढुकुटी दोहन गरी अनियमिता गर्नेलाई कडा कारबाही गर्नेपर्छ । यस्तो निकायलाई कानुनको दायरा ल्याई महालेखा परीक्षकको कार्यालयले हिसाव-किताव एकदम पारदर्शी ढंगले हेर्नुपर्छ ।

६.  पहिला सांसद हुदाँ भन्न नमिल्ने तर अहिले भन्न मिल्ने देश र जनताले जान्नैपर्ने केहि कुराको ओपनसेक्रेट खुलाई दिनुपर्यो ।

मैले पहिला संबिधानसभा सदस्य र रुपान्तरिक ब्यबस्थापिका संसद्को सांसद हुदाँ संसदमा स्पष्ट रुपमा खुल्ला किताव जस्तै आफ्नो धारणा राखे किनकी मलाई कुनै डर र त्रास थिएन । सव कुरा संसदमा मैले बोली सकेको छु ।

७. अहिले जुन यो बाम गठबन्धन किन भयो होला जस्तो लाग्छ तपाईलाई ?

स्थानीय निकायको निर्वाचनपछि  एमाले पनि सोचे अनुसारको परिणाम ल्याउन सकेन र माओवादीले पनि । यसरी हुने हो भने त नेपालमा बहुमतको सरकार गठन नहुने र मिलिजुली गरेर गठबन्धन सरकार बनाउनै पर्ने भएकोले गर्दा देशमा राजनीतिक स्थायित्व नहुने देखेर भएको गठबन्धन भए देशको लागि राम्रै हुन्छ ।

८.  बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको भविष्य कस्तो देख्नुहुन्छ ?

मेरो बिचारमा लोकतान्त्रिक गठबन्धनको भन्दा बाम गठबन्धनको बढी सीट आउन सक्छ ।

९.  नयाँ बिबेकसिल साझाको भविष्य कस्तो देख्नु हुन्छ ?

देशका राष्ट्रिय एजेण्डा स्पष्ट हुनुपर्यो । १/२ ठाउँमा जित्लान । तर स्पष्ट रुपमा विदेश नीति र देशको अर्थ नीति आउनुपर्छ ।

१०. यो देशमा सच्चा राजनेता किन जन्मन नसकेको होला ?

सवभन्दा पहिला राजनेता हुन मेरो भन्ने भावना त्यागेर देशको बारेमा सोच्नुपर्यो । अझसम्म देशको बारेमा नसोची आफ्नो बारेमा सोच्ने मात्र नेता भएकोले राजनेता जन्मन नसकेका हुन् ।

११. अन्त्यमा, साइन्स इन्फोटेक मार्फत के भन्न चाहनुहुन्छ ?

अव आउने मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । म आम नेपाली जनतालाई विनम्र अनुरोध के गर्न चाहन्छु भने यो एतिहासिक निर्वाचन भएकोले गर्दा जनताले योग्य संसदलाई मत दिएर जिताऊ भन्ने अनुरोध  गर्न चाहन्छु ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!