सूचना प्रविधि

विद्युतीय गाउँ/ई-भिलेज (E-Village) भनेको के हो  ?

ई-गभर्नेन्ससँगै चर्चा भइरहेको अर्को विषय विद्युतीय ग्राम (ई-भिलेज) हो । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण वस्तीमा नविनतम प्रविधिको अधिकतम उपयोग गराउँदै त्यहाँका सर्वसाधारणले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकास एवम् विस्तारलाई थप सहज एवम् सरल बनाउन ई-भिलेजको अवधारणा ल्याईएको हो । ग्रामीण क्षेत्रलाई सूचना प्रविधिको सञ्जालमा ल्याएर त्यहाँको विकासमा सहयोग पुर्याउनु विद्युतीय ग्रामको उद्देश्य रहेको छ । ई-भिलेज अभियान अन्तर्गत ई-एजुकेशन, ई-हेल्थ, ई-एग्रिकल्चर तथा ई-गभर्नेन्सको विकास गरिने कार्यक्रम छ ।

ई-भिलेज अभियान अन्तर्गत एउटा साझा वेबसाइट बनाएर स्थानीय स्तरका सबै विषय सोही साइटमा राख्न सकिन्छ । सो वेबसाइटमा शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा स्थानीय स्तरमा भएका विकास तथा अवस्थाबारे जानकारी दिन सकिन्छ । ई-एजुकेशनको उद्देश्य विद्यालयमा कम्प्युटरको प्रयोग बढाउने र सोही प्रविधिको प्रयोगबाट शिक्षा दिनुरहेको छ । विद्यार्थीहरूलाई श्रव्य-दृश्यको माध्यमबाट अध्ययन गराउने काम अहिले भइरहेको छ । साथै, ई-एग्रिकल्चर अन्तर्गत इण्टरनेटको माध्यमबाट कृषिसम्बन्धी जानकारी दिइनुका साथै तरकारी खेती र बाख्रापालनबाट हुने फाइदाबारे बताउने र तरकारीको भाउ कहाँ कति छ भन्ने सूचना दिने जस्ता विषय समावेश गर्नु आवश्यक छ । त्यस्तै, ई-हेल्थअन्तर्गत इण्टरनेटको माध्यमबाट बिरामी उपचार गर्ने र स्वास्थ्यसम्बन्धी जानकारी दिइने व्यवस्था मिलाउन सके विकट क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो हुन्छ ।

सरकारले छानेका ३९ जिल्लामा पनि ई-भिलेज अवधारणा अन्तर्गत इण्टरनेट तथा अन्य पूर्वाधारको विकास गर्न लागिएको एचएलसीआईटीले बताएको छ । महावीर पुनले म्याग्दीको न्यादी गाविसबाट शुरू गरेको ताररहित ग्रामीण  इण्टरनेट प्रविधिले पनि ई-भिलेजको अवधारणालाई सहयोग पुर्याएको छ । ई-भिलेज स्थापनाका लागि विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि विभागले ल्यापटप, ब्रान्डेड डेस्कटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, मल्टी मिडिया प्रोजेक्टर, साउन्ड सिस्टम, सोलार प्यानल, इन्भर्टरका साथै राउटर, ब्याट्री, हार्डडिस्क, वेभक्यामेरा, डिजिटल क्यामेरा, ईन्टरनेट जडानका लागि आवश्यक उपकरणहरु दिने गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!