उर्जाराष्ट्रिय समाचार

नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा केन्द्रले १० वटा आयोजना एकसाथ अघि बढाउने

काठमाडौं, २१ असोज । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच दुर्गम क्षेत्रमा १० नमुना आयोजनाहरू एकसाथ अघि बढाउने समझदारी भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा तथा वातावरणमन्त्री जयदेव जोशीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालबीच समझदारी भएको हो ।

राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम स्थानहरूमा एक किलोवाटभन्दा बढी क्षमताका नमुना आयोजना निर्माण गरी ग्रामीण जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित समझदारी भएको केन्द्रका कार्यकारी निर्देशक धितालले जानकारी दिए । “रुकुम, रोल्पा, दार्चुलालगायतका विकट जिल्लामा १० वटा नमुना आयोजनाहरू केन्द्रको सहयोगमा समुदायले बनाउने तथा त्यसलाई प्रसारण र वितरण विद्युत् प्राधिकरणमार्फत गर्नेगरी समझदारी भएको छ,” उनले भने ।

समझदारीपछि आर्थिक अभावमा निर्माण हुन नसकेका समुदायमा आधारित आयोजनाहरूको सुलभ रूपमा निर्माण गर्न सघाउ पुगी दुर्गम भेगका समुदायलाई ठूलो राहत पुग्ने, आयोजनाको दिगोपनामा टेवा पुग्ने तथा राष्ट्रिय प्रसारण लाइनको पहुँचभन्दा बाहिर रहेका ग्रामीण समुदायको जीवनस्तरमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

वैकल्पिक ऊर्जा आयोजनाहरूको विस्तार एवं व्यवस्थापनमा समन्वय तथा साझेदारीको लागि लघु तथा साना जलविद्युत् प्रवद्र्धनका लागि ग्रामीण विद्युतीकरणलाई प्रभावकारी बनाउन तथा राष्ट्रिय प्रसारण लाइन पुगेका स्थानमा सौर्य, वायु तथा जैविक ऊर्जालाई व्यवस्थित रूपले राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने उद्देश्यसहित सम्झौता भएको कार्यकारी निर्देशक धितालले जानकारी दिए ।

दुवै संस्थाले साझेदारी र सहकार्यको अवधारणाको विकास गरी लघु तथा साना जलविद्युत्का साथै ग्रामीण क्षेत्रहरूमा अन्य नवीकरणीय ऊर्जा प्रविधिहरू सौर्य ऊर्जा, वायु ऊर्जा तथा जैविक ऊर्जा आदिको प्रवद्र्धन वा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार गर्दा स्थानीय निकायसँग समन्वय गरी विद्युतीकरण गरिने लक्ष्य राखिएको छ ।

राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण भइसकेका स्थानमा लघु जलविद्युत् आयोजनाको निरन्तर सञ्चालनार्थ राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने र आयोजनाहरूको एकीकृत रूपमा विकास गरी विभिन्न किसिमका आयआर्जनका क्रियाकलापहरू सञ्चालन तथा प्रवद्र्धनमार्फत रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी न्यूनीकरणमा योगदान पुयाउने लक्ष्य छ ।

साभार : उर्जा न्युज 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!