राष्ट्रिय समाचारसमाचार

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि

२० पुुुस, भोजपुर । स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी विभिन्न खाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालीम दिइएको छ भने ३५ प्रसूति कक्षमा सहयोग पुयाउँदै आएको छ ।

जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालीम सहयोग गरिने वान हर्ट वल्ड वाइड भोजपुरका जिल्ला संयोजक रबीन जोशीले बताउनुभयो । घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भइरहेको आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताउनुभयो ।

मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने यस संस्थाले बर्थिङ सेन्टरमा आवश्यकताअनुसार औजार उपकरण सहयोग, आवश्यकता अनुसार मर्मत तथा सुदृढीकरणमा सहयोग, सेवा प्रदायकलाई विभिन्न किसिमको क्षमता अभिवृद्घि तालीम, जनचेतना सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । तालीम प्राप्त नर्सहरुले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलालाई पायक पर्ने स्थानमा गई भिडियो एक्सरे सेवा प्रदान गरी जटिलता पत्ता लगाई समयमै नजिकमा रहेको अस्पतालमा सिफारिश गरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिएको वान हर्टले जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!