कार्टुन चलचित्र कसरी बनाइन्छ ?
कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ । मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन । यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ । सिनेमाको विकास सन् १८९५ मा भएको हो भने कार्टुन सिनेमको विकास सन् १९०० को दशमा भएको मानिन्छ । सर्वप्रथम कार्टुन सिनेमा बनाउने काम वल्ड डिज्नेले गरेका थिए । डिज्नेले सन् १९३७ मा बनाएको संवादसहितको पहिलो कार्टुन सिनेमा ‘स्नो ह्वाइट एन्ड दी सेभेन ड्वार्फस्’ मा ४ लाख ७७ हजार चित्र प्रयोग गरिएका थिए । यो सिनेमाले खुब ख्याति कमाएका कारण सिनेमाको संवादलाई १३ विदेशी भाषामा अनुवाद गरिएको थियो ।
एउटा लगत्तै बनाएको अर्को चित्रमा थोरै अन्तर हुँदा त्यो चलेको अनुभव हुन्छ । त्यही चाललाई कार्टुन सिनेमा निर्माणमा प्रयोग गरिएको हुन्छ । जस्तो पहिलो चित्रमा हातमा अन्डा उठाइरहेको, दोस्रो चित्रमा हातबाट अन्डा छाडेको र तेस्रोमा जमिनमा खसेर फुटेको देखइएको छ । तीनै चित्रलाई एकपछि अर्को देखाए हातमा अन्डा खसेर फुटेको चाल स्पष्ट देखिन्छ । यसै चाललाई कार्टुन सिनेमाको प्रयोग गरिएको हुन्छ ।
एक सेकेन्डमा २४ वटा चित्र देखाउँदा कार्टुन सिनेमा चाल तयार हुन्छ । सिनेमाको भाषामा यी २४ चित्रलाई ‘फ्रेम’ भनिन्छ । यसरी हजारौं–लाखौँ फ्रेम जोडेर एउटा सिङ्गो कार्टुन सिनेमा निर्माण हुन्छ । आजकाल त चित्र कोर्ने काम कम्प्युटरहरूले गर्छन् । यस्तो विधिलाई एनिमेसन भनिन्छ । कागजमा चित्र बनाइन्छ भने कम्प्युटरमा वस्तु नै तयार हुन्छ । जस्तो : मान्छेको अगाडि र पछाडिको चित्र चाहिए कागजमा बेग्लाबेग्लै चित्र बनाउनुपर्छ । तर कम्प्युटरमा सिङ्गो मानिस तयार हुन्छ, अगाडि र पछाडि देखाउँदा घुमाउन मिल्छ ।
माथि भने जस्तै फ्रेमलाई कुनै किताबको पानाको पुच्छरमा टाँसेर किताबलाई फरर्र पल्छायो भने पनि कार्टुन सिनेमा जस्तो चाल देख्न सकिन्छ । एउटा पूरा कार्टुन सिनेमा तयार पार्न ती चित्रमा रङ, मानिसले बोलेरै भए पनि कुराकानी, अन्य गतिविधिका लागि थप आवाज राख्नु जूरी हुन्छ । कार्टुन चित्रहरू कथामा मात्र आधारित हुँदैनन् । यसमा मानिस, जनावर आदि पात्र हुन्छन् । चित्रमा मिल्दो मानिस छानेर उसको आवाज राख्ने गरिन्छ भने जनावरहरूको आवाजपनि सिनेमा बनेपछि भर्ने गरिन्छ ।