साहित्य-कला

पद्यश्री साधना सम्मान बैरागी काइँला र पद्यश्री साहित्य पुरस्कार निलमलाई

शनिबार, २९ असोज २०७३। यस बर्षको पद्यश्री साधना सम्मानबाट साहित्यकार बैरागी काइलालाई र पद्यश्री साहित्य पुरस्कार चिरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ।   शनिबार एक समारोहका बीच खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मानपत्र र जनही २ लाख रुपैयाँ  साहित्यकार द्वयलाई प्रदान गरेको हो ।

दुई लाख रुपैयाँ राशिको पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिन्छ । दुवै पुरस्कार भदौको तेस्रो साता घोषणा गरिएको थियो । यस वर्षको उत्कृष्ट पाँचको सूचीमा रामलाल जोशीको ‘ऐना’, कुमार नगरकोटीको ‘मिस्टिका’, भूपीनको ‘सुप्लाको हवाईजहाज’ र गिरीश गिरीको ‘वीरगञ्ज’ परेका थिए ।

पद्यश्री साधन सम्मानबाट सम्मानित बैरागी काइला आयामेली कविका रुपमा चिनिन्छन्। काइला नेपाल प्रज्ञा- प्रतिष्ठानको कुलपति समेत भएका थिए। उनी किराँत लिम्बू भाषा, संस्कृति र इतिहासको  अध्यान अनुसन्धानमा समेत संलग्न छन्।आयामेली अभियान मार्फत नेपाली साहित्यलाई नयाँ उचाइ दिएका र पछिल्लो समय लिम्बू समाजको सांस्कृतिक अन्वेषणमा समेत योगदा पुर्‍याएबापत उनलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री सम्मान दिएको हो ।

यस्तै पद्यश्री साहित्य पुरस्कारबाट सम्मानित निहारिका उपन्यास, कथा र कविता लेखनमा सक्रिय छन्।  महाभारतकालीन नारीले भोगेका दु:ख, कष्ट, अन्याय, विभेद र अनिश्चततालाई आजका नारीको कोणबाट प्रस्तुत गरिएको कृति ‘चीरहरण’ लाई २०७२ को उत्कृष्ट कृतिको रूपमा पुरस्कृत गरिएको हो । उनको उपन्यासमा द्वापर युगकी सत्यवतीदेखि द्रौपदीसम्मका नारी पात्रहरुको विश्लेषण आधुनिक युगको आँखाबाट गरिएको छ।

२०६३ मा स्थापित पुरस्कार र सम्मान सुरुमा मोफसलका स्रष्टाहरूलाई मात्रै दिइन्थ्यो । २०६६ देखि देशभरकै स्रष्टाहरूलाई दिइँदै आएको सम्मान र पुरस्कार यस वर्षदेखि विश्वव्यापी बनाइएको हो । ‘भूमण्डलीकरण र विश्वव्यापीकरणको यो युगमा हाम्रा सर्जकहरु विश्वको जुन कुनामा बसेर सिर्जना गरे पनि उनीहरु सम्मानको हकदार हुने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!