खानपान

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

Ram Thakuri
राम ठकुरी

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा बुद्धि बढाउने अनमोल खाद्यान्न तथा फलफूलहरू उत्पादन गरिदिएको छ । तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन् । कुनै प्रोटिन प्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन् । त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन् । चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन् । बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन् । तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन् ।

जमुना

जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ । वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो । जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ । बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ ।

पालुंगो

बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो । मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन । पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन् । माछामासुमा झैं प्रोटिन हुन्छ । यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन् । बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ ।

अमला

फलहरूमा अमला एक सर्वोत्तम फल हो । यो भिटामिन सीको भण्डार हो । यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन । नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ । मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ । बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ । अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ । अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधीमा पाइँदैन । प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ ।

स्ट्रबरी

अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो । रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ । सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ ।

बदाम

बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन् । यो मस्तिष्कका लागि निकै लाभदायक छ । बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो । मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ । बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ । बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ । बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो ।

ओखर

बदाम जस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ । तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन । सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ ।

अंकुरित गेडागुडी

अंकुरित गेडागुडी त अमृत भोजन नै हो । शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ । प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ । जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ ।

अन्य ब्रेन फुड्स

स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ । पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ । पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ । यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ‘ ब्रेन फुड मानिन्छ । आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ । रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी साईन्स इन्फोटेकका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।

यो पनि पढ्नुहोस्   

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!