विज्ञान

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडो मौसममा घाम ताप्न हामी लालायित हुने गर्छौं । यस्तो घाम ताप्नाले हामीलाई न्यानो मात्र दिँदैन, स्वास्थ्यको दृष्टिकोणले समेत यो निकै लाभदायक छ । ८० प्रतिशत भिटामिन ‘डी’ सूर्यको किरणबाट प्राप्त हुन्छ । सूर्यको किरण सिधा हाम्रो छालामा पर्न पाएन भने हामीलाई भिटामिन ‘डी’को कमी हुन्छ र यसले गर्दा हड्डीमा समस्या आउन सक्छ । पुरुषलाई भन्दा महिलालाई हड्डी पातलो हुने समस्या हुन्छ । त्यसैले यस्तो समस्या नहोस् भनेर हामी प्रत्येक दिन घाममा बस्नुपर्छ । शरीरलाई चाहिने भिटामिन ‘डी’ को मात्रामध्ये करिब ८०-९० प्रतिशत सूर्यको किरणबाट प्राप्त गर्छौं भने करिब १०-२० प्रतिशत हामीले खाने खाना र पौष्टिक तत्त्वबाट आउँछ । 

१. “भिटामिन डी” बन्ने प्रक्रिया

सुर्यको प्रकाशमा रहेको अल्ट्राभाइलेट किरणले हाम्रो छालामार्फत भिटामिन डी बन्ने प्रक्रियामा सहयोग गर्छ । भिटामिन डीले हाम्रो शरीरको हड्डीको वृद्दी विकासमा सहयोग गर्छ । बालवालिकाहरुको शारीरिक विकासमा यसको ठूलो भूमिका रहेको हुन्छ । साथै भिटामिन डीले स्तन, ठूलो आन्द्रा आदिको क्यान्सरबाट समेत जोगाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । बिहान वा मध्य दिनको घाममा केवल १० देखि १५ मिनट विताउनाले हाम्रो शरीरलाई चाहिने मात्रामा भिटामिन डी बनाउन सक्छ ।

२. मानसिक स्वास्थ्यमा फाइदा

विभिन्न अध्ययनहरुको अनुसार पहारिलो घाममा बस्नाले हाम्रो दिमागमा “सेरोटोनिन” भन्ने एक पदार्थ बढी मात्रामा बन्ने गर्दछ । यसले मानिसहरुमा देखा पर्ने विभिन्न मानसिक समस्याहरुलाई केहि हदसम्म भएपनि समाधान गर्नुका साथै उदासिपनाबाट पनि बच्न सहयोग पुराउँछ ।

३. उच्च रक्तचाप भएकाहरुमा फाइदा

घाम ताप्नाले हाम्रो शरीरमा “नाइट्रिक अक्साइड” भन्ने एक तत्वको उत्पादन बढ्ने र यसले रक्तनलीहरुलाई फुलाउने कारणले रक्तचापमा समेत कमी ल्याउने अध्ययनहरुले देखाएका छन् । त्यसैले उच्च रक्तचाप तथा मुटुका रोगीहरुले पहारिलो घाममा केहि समय बिताउँदा स्वास्थ्यको आगी लाभादायिक हुन जान्छ । छालाका रोगहरुको जस्तै सोरोयासिस, एक्जेमा तथा छालाका केहि संक्रमणहरुको उपचारमा पनि घामको किरण लाभदायक हुने गर्दछ ।

लामो समय घाममा बस्नाले घामको किरणमा हुने अल्ट्राभाइलेट किरणले छालाको क्यान्सर गराउन सक्छ । साथै केहि छालाका रोगहरु भएका बिरामीहरुलाई घामको किरणले रोगलाई थप बल्झाउन सक्छ । “डर्माटाइटिस”, “पोर्फाइरिया”, “लुपस” आदि छालाका रोगहरु भएका विरामीहरुको समस्या लामो समय घाममा बस्दा थप विग्रन सक्छ । त्यसैले लामो समय घाममा हिड्नपर्नेछ वा घाममा बसेर काम गर्नुपर्नेछ भने घामको विकिरणबाट बचाउने क्रिमहरु प्रयोग गरेर यो समस्याबाट बच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

जाडोमा मह खानुको फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

जाडोमा कुर्कुच्चाको स्याहार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!