विज्ञान जिज्ञासा

माझीऔँला किन लामो हुन्छ ?

हाम्रो हातका औँलाहरुमध्ये माझीऔँला अर्थात् बीचको औँला सबभन्दा लामो हुन्छ । यस्तो किन भयो भन्नेबारे चासो राख्नेहरु थोरै होलान् । शारीरिक अङ्गहरुको रचनाबारे कुरा गर्नुपर्दा सधैँ विकासवादी सिद्धान्तलाई अगाडि सार्ने गरिन्छ । माझी औँलाको रचनाको कुरामा पनि यस सिद्धान्त छुट्ने कुरै भएन ।

माझीऔँला किन अरु औँलाभन्दा सबभन्दा लामो भयो भने सवालमा विकासवादी शरीर विज्ञानविद्हरुले विकासवादी दृष्टिकोणमा विचार दिएका छन् । उनीहरुले यसको विश्लेषणको लागि सममिति सिद्धान्तलाई अँगालेका छन् । उनीहरुको अध्ययन प्राणीहरुका अङ्गहरुको भित्री कामहरुको लागि विकासवादी कारणहरुमा आधारित छ । यस क्षेत्रका विज्ञहरु माझीऔँला लामो हुनुमा हाम्रो पुर्खा पञ्जाधारी जीव भएको पुष्टि मिलेको बताउँछन् र शरीरलाई सन्तुलनमा राख्न लामो माझीऔँलाले भूमिका खेलेको उनीहरु बताउँछन् ।

माझीऔँला लामो हुनुको विश्लेषणमा विकासवादी शरीर विज्ञानविद्हरुले पनि सममिति सिद्धान्तलाई नै पछ्याएका छन् । तर उनीहरुले एउटा थप पक्ष यस सिद्धान्तमा जोडेका छन् । त्यो हो– बन्दको ज्यामिति । हामीले जब हातलाई मुठ्ठी पारी बन्द गर्दछौँ, तब सबै औँलाहरुले हत्केलाको सतह छुन्छन् । माझीऔँला लामो हुनाले नै यस्तो सम्भव भएको हो यो ‘बन्दको ज्यामिति’ हो । यही ज्यामितको कारणले नै जब कुनै वस्तु हातले समात्दछ, तब सबै औँलाहरुले समान काम गरेका हुन्छन् । औँलाहरुको यो खास आकारले हातको उत्कृष्ट कामलाई सम्भव तुल्याएको छ र यो काम लाखौँ वर्षदेखि हुँदै आएको हो ।

तर केही मानवशास्त्रीहरु सममिति सिद्धान्त र बन्दको ज्यामितिलाई मान्न तयार छैनन् । उनीहरुले मानवउद्विकासको अध्ययनमा मानवजातिको नजिकको नातेदारको रुपमा रहेको कुनै प्राइमेट प्रजातिमा हातको चौथो औँला लामो भएको भेट्टाएका छन् । उनीहरुका अनुसार यो तथ्यले उल्लेखित सिद्धान्तहरुलाई निर्विवाद स्विकार्न दिँदैन । तर ती मानवशास्त्रीहरुले कुनै छुट्टै सिद्धान्त भने प्रतिपादन गरेका छैनन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!