धर्म-सस्कृतिमुख्य समाचार

आज नवरात्रको नवौ दिन महानवमी मनाइँदै

असोज २०, काठमाडौँ । आज नवरात्रिको नवौं दिन महानवमी दुर्गा भवानीको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले भने आज आ-आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमवार बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

महानवमीमा शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनै पनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी-खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!