वातावरण

वातावरण प्रदूषण पनि फाइदाजनक !

प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वातावरणलाई समेत दूषित बनाएको छ । यो समस्याबाट विश्वका अन्य देशजस्तै चीन पनि आक्रान्त छ । बढ्दो प्रदूषणका कारण त्यहाँका दैनिक कार्यहरुमा नकारात्मक प्रभाव पार्नुका साथै विद्यालयमा पढाइ ठप्प भएको छ । वातावरणीय प्रदूषण समाधान गर्न चीनले कहिले कार्बन व्यापारको थालनी, कहिले सवारीसाधान विक्रीमा कडाइ त कहिले बारबेक्यू नष्ट गर्नेलगायतका विभिन्न कदम चाल्दै आएको छ । यसैबीच, चिनियाँ सरकारले प्रदूषणले त फाइदा पनि पुर्‍याउँछ भनेर त्यस्ता फाइदाको सूची पो प्रकाशित गरेको छ । वातावरण प्रदूषण पनि फाइदाजनक !

सुन्दा अचम्म लाग्न सक्छ, प्रदूषणको पनि फाइदा ! चीनको कम्युनिष्ट पार्टीको प्रकाशन ‘पिपल्स डेली’सँग आबद्ध पत्रिका ग्लोबल टाइम्सले प्रदूषणले चीनमा पुर्‍याएको फाइदा यस प्रकार उल्लेख गरेको छ :
१. चिनियाँ नागरिकलाई एकताबद्ध गर्न सहयोग गरेको छ ।
२. चीनलाई समतामूलक बनाउन सहयोग गरेको छ ।
३. यसले चीनको आर्थिक विकासको लागतबारे जनचेतना अभिवृद्धि गराएको छ ।
४. मानिसलाई हँसिमजाक गर्न बहाना मिलेको छ ।
५. मौसम विज्ञान तथा अङ्ग्रेजी शब्द (हेज)बारे मानिसलाई बढी जानकार बनाएको छ ।

यो एकदमै रोचक तर्क हो । त्यसो हो भने त समुद्री तुफानलगायतका प्राकृतिक प्रकोपहरुले पनि त मानिसलाई आफ्नो छुट्टै ठाउँ छोडेर समूहमा बस्न बाध्य बनाउँछ र मानिसलाई प्रकृतिको शक्तिबारे जानकारी दिन्छ । त्यसैगरी, जङ्गलमा लागेको आगोले त झन् सबै मानिसको सामानलाई समान रुपमा जलाएर खरानी बनाउँछ । त्यसकारण प्राकृतिक समस्याको विषय होइन । समस्या मानिस आफै हो । त्यति मात्र होइन, प्रदूषणको रक्षात्मक फाइदा रहेको पनि ग्लोबल टाइम्सले लेखेको थियो ।

‘प्रदूषणले मानिसको दैनिक कार्य तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने भए पनि लडाइँको मैदानमा भने यसले रक्षात्मक लाभ पुर्‍याउन सक्छ,’ पत्रिकाले लेखेको छ । यस लेखलाई समर्थन गर्न पत्रिकाले कोसोभो तथा साउदी अरेबियाले लडाइँमा धूवाँको प्रयोग गरेर दुश्मनको आँखामा छारो हालेको उदाहरणसमेत प्रस्तुत गरेको थियो । तर, ठूलो मात्रामा धूवाँ ल्याउन एउटा सिँगो गाउँ नै जलाउनुपर्ने तर्फ पनि पत्रिकाले औंल्याएको छ ।

यस्ता वातावरणीय खतराले मानिसको जीवनमा रक्षात्मक फाइदा पुर्‍याउँछ भन्ने तर्कलाई अझ बढाएर भविष्यमा चीनले धूम्रपानले मानिसको फोक्सो बलियो बनाउन पनि सहयोग पुर्‍याउँछ भनेर धूम्रपानलाई पनि समर्थन गर्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, जङ्क फूड तथा महँगा कपडा खरीद गर्दा कपडा उद्योग विस्तार हुन सघाउने भन्दै चीनले यस्ता चीजलाई समर्थन नगर्ला भन्न सकिन्न । अनि टेलिभिजनका रियालिटी शोहरुले आफ्नो परिवार तथा मित्रका अविश्वासबारे जान्न मद्दत गर्छ भनेर यस्ता चीजलाई पनि चीनले प्राथमिकतामा राख्ने सम्भावना बढेको विश्लेषण गर्न थालिएको छ ।

साभार : आर्थिक अभियान

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!