विज्ञान जिज्ञासा

पिण्ड (Mass) भनेको के हो ?

कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्ड वस्तुमा भएका परमाणु संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । पिण्डको आधारभूत एकाई किलोग्राम हो । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगेतापनि त्यसको पिण्ड परिवर्तन हुँदैन । हामीहरु धेरैलाई पिण्ड र तौल बीचको भिन्नतामा भ्रम हुन्छ । हामीले पसलमा चामल वा अन्य जोखेर दिइने सामान किन्न जाँदा यति किलो उति किलो दिनुस भन्छौ र त्यसलाई हामी तौल भन्छौ । यसो हेर्दा हामी सामान तौलमा किन्छौ भन्ने लाग्छ । तर वास्तविकता के हो भने ग्राम वा किलोग्राम भनेको तौल नभई वस्तुको पिण्डको एकाई हो र हामी वस्तु तौलमा नभई पिण्डमा किनिरहेका हुन्छौ । सामान्य व्यवहारमा पिण्ड र तौलमा कुनै भिन्नता नहुने भएकोले हामी तौललाई पिण्डको पर्यायको रूपमा बुझिरहेको भएतापनि वास्तविकता फरक छ ।

कुनै पनि वस्तुको पिण्ड भनेको उक्त वस्तुमा रहेको पदार्थको मापन हो । तर, त्यसको भार अथवा तौल भनेको त्यस वस्तुमाथि गुरुत्वाकर्षण शक्तिले पार्ने प्रभावको मापन हो । त्यसैले कुनै वस्तुको भार वा तौल त्यो वस्तु अवस्थित ठाउँको गुरुत्वाकर्षण शक्ति कति छ भन्ने कुरामा निर्भर गर्छ । उदाहरणको लागि पृथ्वीको गुरुत्वाकर्षण शक्ति चन्द्रमाको भन्दा बढी हुने भएकोले कुनै पनि वस्तुको तौल चन्द्रमामा भन्दा पृथ्वीमा बढी हुन्छ । त्यसैगरी सो वस्तुको तौल सूर्यमा पृथ्वीमा भन्दा बढी हुन्छ । तर पिण्ड भनेको उक्त वस्तुमा निहित पदार्थको मापन भएको कारण त्यसको गतिमा परिवर्तन नल्याइएसम्म ब्रम्हाण्डको जुन कुनामा लगिए पनि पिण्ड उही रहन्छ । त्यसको गतिमा परिवर्तन ल्याइएको खण्डमा भने आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्तअनुसार त्यसको पिण्डमा पनि परिवर्तन आउँछ । कुनै पनि कणका गुणहरूको बारेमा अध्ययन गरिदा त्यसको तौल हौइन, पिण्डको अध्ययन गरिन्छ । तौल त पिण्डको अस्तित्वको कारण गुरुत्वाकर्षण शक्तिको प्रभावमा मात्र पैदा हुन्छ । तौल भनेको वस्तुमा आफैँमा निहित गुण होइन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!