राष्ट्रिय समाचारसमाचार

विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

१८ पुस, पर्वत। पर्वत महाशिला गाउँपालिका–५ लुंखुको विकट क्षेत्र काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ । गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी उत्पादन भइरहेको छ । हरेक परिवारले वर्षेनि कम्तीमा दुई लाखको तरकारी बिक्री गर्दै आएका छन् ।

महाशिला गाउँपालिकामा खानेपानीको समेत अभाव छ । समुद्र सतहदेखि एक हजार ५५० मिटर उचाइमा रहेको काउले गाउँमा मात्रै पानीको राम्रो स्रोत छ । प्राविधिकका अनुसार उचाइका हिसाबले यो गाउँ व्यावसायिक तरकारी उत्पादनका लागि उपयुक्त मानिँदैन तर, उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले बिहान सबेरदेखि साँझसम्म घाम राम्ररी पर्छ ।

व्यावसायिक तरकारी लगाउनेले हप्तैपिच्छे ठूलो परिमाणमा रासायनिक विषादी र मलको प्रयोग गर्छन् तर यहाँका किसानले भने न रासायनिक मल प्रयोग गर्छन् न विषादी नै । चिसोका कारण लाग्ने रोगबाहेक अरू परजीवीले हत्तपत्त आक्रमण नगर्ने कृषकको भनाइ छ । चिसोका कारण लाग्ने ढुसी र डढुवा रोक्न घरेलु प्रविधि अपनाउँछन् ।

दूधमा पानी घोलेर छर्किंदा गोलभेँडा र आलुमा लाग्ने ढुसी नष्ट हुने किसानले बताए । डढुवालगायतका रोग लागेमा भैँसीको पिसाब र साबुनमा पानी मिसाएर छर्किने गरेका छन् । रासायनिक मल र विषादीरहित तरकारी उत्पादन भइरहेको यो गाउँलाई महाशिलाले प्राङ्गारिक कृषि पर्यटन गाउँका रूपमा विकास गर्ने तयारी गरेको छ । चालू वर्ष गाउँसभाले घोषणा गरेको एक घर एक टनेल कार्यक्रम पनि यही गाउँमा पालिका भरका किसान डाकेर शुरु गरिएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!