अल्छी आँखाको उपचार विधि
अल्छी आँखाको उपचार गर्नु अगावै सम्बन्धित विषेशज्ञद्वारा आँखाको बिस्तृत परीक्षण गरेर मात्र शुरु गर्नुपर्छ । खासगरी दृष्टि परीक्षण, माक्रोस्कोपद्वारा आँखा जाँच , चस्माको पावर जाँच, अर्थोप्टिक्स जाँच र कलर भिजन परीक्षण गर्नुपर्छ । केटाकेटीको आँखामा औषधि हालेर नानी फुलाई गरिने पावर जाँच गर्नुपर्ने भएकोले आँखासम्बन्धी सम्पूर्ण जाँच पूरा गर्नका लागि अस्पताल जानुपर्ने हुन्छ ।
उपचार विधि
अल्छी आँखाको उपचार विधि विशेष किसिमको हुन्छ । यिनीहरुमध्ये तीन किसिमका उपचार पद्दति प्रभावकारी हुन्छन् । एउटा उपचार पद्दति अर्कोको विकल्पको रुपमा नभएर एक अर्काका परिपूरक हुन् ।
१) चश्मा लगाइ उपचार गर्ने विधि
नियमित चश्मा लगाउनाले वालवालिकामा स्पष्ट देख्नसक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ । चश्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छी आँखाको उपचार गर्न सकिन्छ । तिनीहरुलाई आखाँको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ । उमेर बढ्दै जाँदा चश्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाह अनुसार अभिभावकहरुले नियमित रुपले अस्पतालमा जाँच गराउनु पर्छ । केटाकेटीहरुले चश्माको शिशा कोर्ने, भाँच्ने, फुटाउने आदि गर्ने हुनाले चश्माको सुरक्षा र मर्मत–सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिनु जरुरी हुन्छ ।
२) आँखामा पट्टी लगाउने विधि
यो उपचार विधि अल्छी आँखाको उपचारको प्रभावकारी विधि हो । अल्छी मान्छेलाई बढी काममा जोतेजस्तै अल्छी आँखालाई बढी समय खुल्ला राखि काममा लगाएर अर्को सामान्य आँखालाई पट्टीले छोपेर (आरम दिएर) उपचार गरिन्छ । आँखामा पट्टी कसरी लगाउने हो भन्ने चाहिँ अभिभावकलाई राम्रो सिकाउनु पर्छ । एकपटकमा एउटा आँखामा मात्र पट्टी लगाउने गरिन्छ । कुन आँखामा पट्टी लगाउने? दिनको कति घण्टा आँखामा पट्टी लगाउने र कति घण्टा खुल्ला राख्ने ? हप्ताको कति दिन पट्टी लगाउने ? दिनको कुन समयमा पट्टी लगाउने ? स्कूलमा के गर्ने ? घरमा के गर्ने ? आदि प्रश्नको उत्तर भने आँखा बिशेषज्ञले उपचारार्थ केटाकेटीको उमेर, दुबै आँखाको दृष्टि एवं अन्य विविध पक्षलाई समेत ध्यान दिई अन्तर्राष्ट्रिय मान्यता अनुसार तय गर्छन् । उपचारको सिलसिलामा दृष्टि क्षमतामा आउने सुधार र केटाकेटीको उमेर अनुसारको दृष्टि परिवर्तन एव. परिमार्जन गर्नुपर्ने हुन्छ ।
नजिकको बस्तु राम्रोसँग देख्ने र टाढाको वस्तु नदेख्ने केटाकेटीमा यो उपचार बढी प्रभावकारी हुन्छ । नजिक र टाढाको वस्तु स्पष्ट नदेख्ने भएका केटाकेटीमा तुलनात्मक रुपले यो उपचार कम प्रभावकारी हुन्छ । साथै जति कलिलो उमेरमा यो उपचार शुरु ग¥यो, यो त्यति नै बढी प्रभावकारी हुन्छ । यो उपचार ८–९ वर्षको उमेरसम्म जारी राख्नुपर्छ । प्रायजसो केटाकेटीको उमेर १० वर्ष नपुगेसम्म यो उपचार पद्दति प्रयोग गरिन्छ । वयस्क भएपछि अर्थात कलेज पढ्ने उमेरका विद्यार्थीमा यो उपचार प्रभावकारी हँुदैन । यो उपचार विधि शुरु गनुअघि अभिभावक र वालवालिकासँग यसको सकारात्मक पक्ष तथा कहिलेकाहिँ नकारात्मक पक्ष, जस्तैः पट्टीको एलर्जी एवं सम्भावित मनोवैज्ञानिक असरको बारेमा पनि छलफल गर्नु आवश्यक हुन्छ ।
३) डेढो आँखा सुधार गरी अल्छी आँखाको उपचार बिधि
कलिलो उमेरका वालवालिकामा दृष्टिदोष र डेढोपनको उचित उपचार समयमा नै नभएमा उनीहरु अल्छी आँखाको शिकार बन्न पुग्छन् । तसर्थ उनीहरुलाई आवश्यकता अनुसार चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दति समेत अनुसरण गरी दृष्टि क्षमतामा सुधार ल्याउन सकिन्छ । त्यसपछि आवश्यकता हेरी उपयुक्त उमेरमा डेढोपनको शल्यक्रिया गरिन्छ । त्यसपछि पनि चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दतिलाई निरन्तरता दिनु आवश्यक छ । यी उपचार पद्दतिबाहेक अन्य उपचार विधि पनि छन् । तर ती बिरलै मात्र प्रयोगमा आउने गर्दछन् ।
अन्तमा, हरेक अभिभावकले आफ्ना वालवालिकाको स्वास्थ्य परीक्षणको सिलसिलामा आँखा पवनि परीक्षण गराउनु पर्छ । आफ्ना ससाना नानीहरुलाई स्कूल पठाउनु अगाडि उनीहरुको आँखाको जाँच गराउनु आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको आँखाको दृष्टिको समुचित विकास भएको छ वा छैन, चश्माको प्रयोग गर्नु पर्ने हो वा होइन भन्ने थाहा पाउन सकिन्छ । यस बाहेक स्कुलका शिक्षकहरुले पनि आफनो कक्षाका विद्यार्थीले सेतो बोर्ड वा कालो पाटीमा लेखेको विषयवस्तु पछाडिको बेन्चबाट देख्न सक्छन् या सक्दैनन्, नदेखेर साथीको हेरेर पो सार्ने गछनर्् कि ? आदि कुरामा ख्याल राख्नुपर्छ । आँखा कमजोर भएको शंका लागेमा सम्बन्धित अभिभावकलाई जानकारी दिई चिकित्सक कहाँ जँचाउने सल्लाह दिनुपर्छ । किनभने अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन् । त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ ।
साभार : डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ , स्वास्थ्य खवरपत्रीका, २०७३ जेठ २४ गते प्रकाशित