हाँस्न बिर्सेकाहरु
हाँस्न बिर्सेकाहरु
भूइंचालोले हल्लाएको भग्नावशेषमा
अझै पनि खोजिरहेछु,
जिवित अपेक्षा, भौतिक अवशेष र
मानसिक अर्धचेतनाहरु।
देखेको छु,
पीडामा बौरिएकाहरुको मन
थाङ्नो जस्तो भएको।
र निरन्तर
शुन्यतामा दौडिरहेका आशाहरु
भुवा जस्तै बनेको।
हे
मर्माहित मनसँग खेल्ने र
संवेदनाको हत्या गर्ने कसाइ हो?
केही टुक्रा र विम्वहरु जोडेर
किन
उदास गीत मात्र गाउँछौँ?
अनुभव गरेको छु,
जब शब्दको पराजय हुन्छ,
भावना कठ्याङ् रिदो रहेछ।
मैले भाचिँएका मनसगँ,
सत्य गीत उनेँ र
यहि सत्यलाई अङ्गालेर
कयौ पटक उदाङ्गो भएँ।
टुक्रिएका मन बटुलेर म,
सिङ्गो मन बनाउँन खोज्दैछु।
तिमी पनि,
मन मन जोडेर साँघु बनाउने
सङ्घर्ष नरोक प्रिय,
आवाद हुन बाकी छ, र
बर्षाद हुन खोज्दै छ।
हेर,
हुस्नमा निखार आए झै,
अनुहारमा सुन्दरता बदलिने छ।
शीत रोकिएर
घाम पर्न थालेपछि,
हाँस्न बिर्सेकाहरुले
हाँस्न थाल्नेछन्।
कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।