गर्मीमा पसिना किन आउँछ ?

शरीरबाट पसिना निस्कनु स्वाभापिक प्रक्रिया हो। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ र स्वच्छ वायु शरीरमा पुर्याउँछ। यसको माध्यमले शरीरभित्र भएको विकार बाहिर आउँछ। शरीरबाट यो निस्केन या कुनै कारणबस यो भित्रै रोकिन गयो भने थुप्रै प्रकारका रोग उत्पन्न हुनसक्छ। अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि यो निस्कन दिनुपर्छ। अचेल मानिस पसिना आउने गरी साइक्लिङ, व्यायाम, जगिङ, मर्निङ वाक या जिममा गएर यो निकाल्ने गर्छन्।

कहिलेकाहीँ आवश्यकताभन्दा बढी मात्रामा तथा बिनाकारण शरीरबाट यो आउनसक्छ। बढी पसिना आउनुलाई चिकित्साविज्ञानमा ‘हाइपरहाइड्रोसिस’ भनिन्छ। एक तथ्यांकअनुसार विश्वको कुल जनसंख्याको २ प्रतिशत मानिसमा हाइपरहाइड्रोसिसको समस्या छ। सामान्यता महिलाको तुलनामा पुरुषलाई धैरै मात्रामा यो आउने गर्छ। छालाको भित्री सतहमा अवस्थित स्विटग्ल्यान्ड (ग्रन्थी) बाट बन्ने नुनिलो तरल पदार्थ नै पसिना हो। यो ग्रन्थीको काम शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो। अत्यधिक गर्मीमा छालालाई डढ्नबाट जोगाउनको लागि यस ग्रन्थीले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना)उत्पन्न गर्छ। शरीरबाट निस्केको यो प्रायः नुनिलो हुन्छ।

शरीरमा यो आउनुका विभिन्न कारण छन्। वंशाणुगत कारणले पनि बढी यो आउन सक्छ। गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त र मसलादार खाना नियमित खानु तथा कब्जियतका कारण पनि यो बढी आउँछ। यसबाहेक कुनै शारीरिक रोग, जस्तै– मलेरिया, टाइफाइड, डेंगु ज्वरो, छातीको टिबी, रगत दूषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, भय, आघात र कडा ज्वरोका कारण पनि बढी पसिना आउँछ। अन्य कारणमा (तातो पेय पदार्थ पिउनु, खैनी, गुट्खा तथा नशालु पदार्थको सेवन गर्नाले पनि यो आउँछ। अधिक मोटो हुनु तथा थायराइड ग्रन्थी शरीरको इम्युनोसिस्टमका कारण बढी सक्रिय भयो भने पनि धैरै यो आउँछ।

पसिना शरीरको जुनसुकै ठाँउमा पनि आउन सक्छ। तर, खासगरी हत्केला, खुट्टाका पैँताला, काखी, काछमा पसिना बढी आउँछ। यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्युँ, पेटतिर पनि आउँछ। शरीरको भित्री भाग हत्केला र पैतालामुनि स्विटग्ल्यान्ड बढी हुन्छ। ती ग्रन्थीहरू कुनै कारणले बढी सक्रिय भएमा पसिना आउँछ। शरीरबाट निस्केको पसिना वाष्पीकरण (वाफ) भएर जान सकेन भने पसिना गन्हाउन थाल्छ। शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ। धैरे यो आउनाले छालाको पत्रलाई ओसिलो बनाउँछ। ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्किने अनुकूल वातावरण पाउने हुँदा त्यहाँ चाँडै दुर्गन्ध उत्पन्न हुन्छ र व्यक्तिले लागाएको लुगामा विभिन्न प्रकारका सेतो, पहेँलो, रातो, कालो, टाटेपाटे पसिनाका दाग बस्न थाल्छ। यसले सामाजिक अप्ठेरो पार्न पनि सक्छ। त्यसकारण बढी यो आउनेले नियमित आफ्नो शरीरको सरसफाइ गर्नुपर्छ। विषेशगरी पैताला, काखी, काछ र हत्केलामा बढी पसिना आउने भएकाले शरीरका यी अगंको सरसफाइमा ध्यान दिनुपर्छ।

साभार : नागरिक न्युज – डा. लालितकुमार मिश्र,  सोमबार २८ भाद्र, २०७२

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/adminscience/public_html/wp-includes/functions.php on line 4979