भाइटीका र यसको महत्व
भाइटीका र यसको महत्व को बारेमा चर्चा गरौ ।
उर्जे शुक्ल द्वितीयायाम् पूजितस्तर्पितो यमः ।
वेष्टितः किन्नरैः हरस्टै: तस्मै यच्छन्ति वाञ्छितम् ।।
यस उत्सवको अर्को पाँचौ पर्व हो भाइटीका । यो पर्व यमराजलाई दीर्घायुष्यको कामना गरी उनकी बहिनी यमुनाले टीका लगाई दिएको हुँदा सोही सनातन वैदिक परम्ंपरालाई अँगाली प्रत्येक दाजु भाइलाई दिदी बहिनीहरूले टीका लगाईदिने, सगुन दिने र दूबोको माला, मखमलीको माला लगाइदिएर आफ्ना दाजु भाइको दीर्घ जीवनको कामना सौेहार्दका साथ गर्दछन् । कार्तिक शुक्ल द्वितीया भातृ पूजाको दिन दिदी बहिनीले दाजु भाइलाई पञ्चरङ्की टीका र मखमलीको माला लगाएर पूजा गर्नुपर्दछ भन्ने कुरा पद्मपुराणमा लेखिएको छ । टीका र मालाको सङ्गेत यस प्रकार छ—
रातो— मङ्कल सूचक सेतो— शान्ति सूचक
पहेँलो—दीर्घजीवीको सूचक नीलो— निरोगीको सूचक
हरियो—बौद्धिकताको सूचक
मखमलीको माला— कुनै समयमा मलीन र निस्तेज नभई सदा एकैनास उज्वल तेजिलो होस् दीर्घायु होस् भन्ने कामना गरी मखमलीको माला लगाइ दिने चलन छ । कार्तिक शुक्लपक्षको द्वितीयालाई यमद्वितीया भनिन्छ । व्रतार्क स्कन्दपुराणअनुसार यस दिन अपराìको समयमा यमराजको पूजा गरी यमुनामा जसले स्नान गर्दछ उसले यमराजलाई देख्नुपर्दैन । यस दिन तर्पण गर्नाले र आफ्ना किङ्गरले युक्त यमराजको पूजा अर्चना गर्नाले मनोवाञ्छित फल मिल्दछ ।
भगवान् श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ— “श्रावण, भाद्र, आश्विन र कार्तिक शुक्लपक्षका चार द्वितीया तिथि अति उत्तम मानिन्छन् । त्यसमा पनि कार्तिक शुक्लपक्ष द्वितीयाको दिन यमुनाजीले पहिले आफ्नो घरमा आफ्ना दाज्यू यमराजलाई पूजा अर्चनापछि श्रद्धापूर्वक भोजन गराउनुभएको थियो, सत्कार गर्नु भएको थियो । त्यसकारण यस द्वितीयालाई तीनै लोकमा यम द्वितीयाको नामबाट सम्बोधन गरिन्छ । यस दिन मानिसले आफ्नो घरमा भोजन नगर्नु राम्रो हुन्छ । प्रयत्न गरेर भए पनि दिदी बहिनीकहाँ खानुपर्दछ । यसरी खाएको भोजन पुष्टि बढाउने हुन्छ ”।
भातृपूजाको बारेमा यो कथा प्रचलित छ– पहिले कुनै बेला यमुनाजी प्रतिदिन यमराज कहाँ गएर प्रार्थना गर्दथिन् कि दाज्यू तपार्इँ मेरो घरमा सबै गणसहित भोजन गर्न हिड्नुहोस् । यमुनाजीको यो प्रार्थना यमराज सधैं भरी हेर बहिनी मेरो तिमीकहाँ आउने इच्छा नभएको होइन । म कुनै दिन पनि आफ्नो काम छोड्न पाउँदिन । हरेक दिन मत्र्यलोकका मानिस मर्दछन् । मैले तिनीहरूलाई उनीहरूले गरेको पाप—पुण्यअनुसार नरक स्वर्गादिको व्यवस्था मिलाउनु पर्दछ त्यसैले आउन नपाएको भन्नुहुन्थ्यो । जे भएता पनि यमुनाले ढिपी गर्दा कहिले भोलिपर्सि भन्दै धेरै दिन बितिसक्यो अनि यमुनाजीले ज्यादै कर गरेर नै यमराजलाई आफूकहाँ बोलाइन् । जुन दिन यमराज यमुनाजीकहाँ जानुभयो त्यस दिन कार्तिक शुक्ल द्वितीया थियो । यमुनाजीले आफ्ना दाज्यू यमराजलाई सत्कार गरिन् । त्यस पछि टीका, माला, फूल, दूबो आदि लगाई धूप—दीप, नैवेद्य आदि गरी फुल अक्षता लिई प्रार्थना पनि गरिन् —
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
त्राहि मां किङ्गरैः सार्धं सूर्यपुत्र नमोद्रस्तुते ।।
जाने बेलामा यमराजले आफ्नी बहिनीसँग भन्नुभयो— “केही माँग” यो सुनेर यमुनाजीले भनिन्— “दाजू म हजुरसँग यो माग्दछु— तपाइँ वर्सैपिच्छे यही दिन मकहाँ आउनुहोला म यहाँलाई भोजन गराउन पाऊँ ”। यमराजले आउने प्रतिज्ञा गर्नुभयो र यो पनि भन्नुभयो —“यति मात्र होइन, यस दिन जुन दिदी बहिनीले आफ्नो दाजु भाइलाई बोलाएर भोजन गराउँछे, उसको घरमा धन सम्पत्तिको कहिल्यै दुःख हुँनेछैन ”। त्यसकारण हरेक मानिसको कर्तव्य हो कि यसै दिन आफ्नी बहिनी कहाँ भोजन गरुन् —
यत्नेन भगिनी हस्ताद् भोक्तव्यं पुष्टिवर्धनम् ।
दानानिच प्रदेयानि भगिनीभ्यो विशेषतः ।।
बहिनीलाई लुगा र गहना आदि दिऊ् । जुन दिदी–बहिनीहरू यस यम—द्वितीयाको दिन विधिपूर्वक दाजु भाइलाई टीका, माला लगाई पूजा गरी मनाउँछन् । उनीहरूको दाजु—भाइको आयु लामो हुनेछ । तसर्थ त्यस बेलादेखि आजसम्म यो पर्व मान्दै आएको हो । दीप, कलश, गणेशको पूजा, यम–यमुना, चित्रगुप्त, यमदूतको पूजा गरिन्छ तेल र पानीले घुमी दाजुलाई जल चढाई यमराजलाई यो मन्त्रले अर्घ दिइन्छ अर्घ दिने मन्त्र यस प्रकार छ—
एहरोही मात्र्तण्डज पाशहस्त यमान्तकालोकधराद्रमरेश ।
भ्रातृद्वितीयाकृतदेवपूजां गृहाण चाघ्र्यं भगव;मस्ते ।।
अष्ट चिरञ्जीवी पूजा, षोडशोपचारले गरिन्छ । त्यस्तै यमुनाको परिचारिकाको पूजा पनि गरिन्छ । बिमिराको पूजा, सूर्यको पूजा प्रार्थना गरी धूप, दीप, नैवेद्य, भेटी, निराजन आदि गरिन्छ । दिदी, भाइ सबैले अष्ट चिरञ्जीवीको पूजा गरी पुष्पाञ्जलि र प्रार्थना यस मन्त्रबाट गरिन्छ —
मार्कण्डेय नमस्तेद्रस्तु नमस्ते महदायुषे ।
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।
आयुः प्रद महाभाग सोमवंश समुÈव ।
महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोद्रस्तुते ।।
यथाद्रस्ति यमुना देवी यमेन भातृशालिनी ।
तथा मे भ्रातरः सन्तु प्रति जन्मसु सुव्रता ।।
त्यसपछि दिदी बहिनीले दाजु भाइलाई प्रदच्छिणा गरी जल, अर्घ चढाई पूजागर्नु पर्दछ । पञ्चरङ्की टीका, माला, फूल, दूबो आदि लगाई धूप, दीप, नैवेद्य, सगुन आदि गरी फूल अक्षता लिएर प्रार्थना गर्नुपर्दछ सो यस प्रकार छ–
भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् ।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।।
आयुर्लक्ष्मीर्यशोधैर्यनिर्भयत्वमरोगिता ।
वाक्पटुत्वमजाढ्यञ्च जायतां मम सर्वदा ।।
त्यसपछि जेठो क्रमले सबै दिदी बहिनीलाई पूजा गरी टीका फूल—माला लगाई दिई दक्षिणा दिई फूल अक्षता लिई प्रार्थना गर्ने गरिन्छ –
त्वं लक्ष्मीस्त्वमपर्णाद्रसि ब्रम्ही त्वं च सरस्वती ।
त्वत्पूजनात्भ्रवेयुस्ताः पूजिता मम सर्वदा ।।
आयुर्लक्ष्मीर्धनं धान्यं पश्वादिकमरोगिता ।
सर्व त्वदर्चनादाप्तं भवेज्जन्मनि जन्मनि ।।
अब अर्घ निवेदन पूर्णपात्र गरी ब्रम्ह्णणलाई दक्षिणा दिई पूजित देवताहरूलाई विसर्जन गर्ने यसरी भातृ पूजा समाप्त गरिन्छ । काठमाण्डौंमा दिदी बहिनी नहुने दाजु—भाइले रानी पोखरीको शिवजीको पूजा गरी टीका लगाउने चलन छ । वर्ष दिनमा केवल यस दिन मात्र यो मन्दिर सर्व साधारणको निमित्त खुला गरिन्छ ।
मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।
यो पनि पढ्नुहोस्