धर्म-सस्कृतिविज्ञान

भाइटीकाभित्र लुकेको वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

यमपञ्चक अर्थात् तिहारको पाँचौंं एवम् अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, कीर्ति, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिन्छन । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । दाजुभाइले दिदीबहिनीलाई आफ्नो अवस्थाअनुसार दक्षिणा, उपहार दिने प्रचलन छ ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायत फूलका माला लगाइदिने गरिन्छ ।

माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्नका लागि कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ । त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दूबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ।

यो पनि पढ्नुहोस् 

भाइटीका र यसको महत्व

गोवर्धन पूजा र यसको महत्व

दिपावली र यसको महत्व

लक्ष्मीपूजा र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!