धर्म-सस्कृतिविचार-विश्‍लेषण

कार्तिक महिनाको महत्व

 

Madhusudhan Subedi
मधुसूदन सुवेदी

कार्तिक महिनाको महत्व को बारेमा चर्चा गरौ ।

रोगापहं पातकनाशतत्परं सद्बुद्धिदं पुत्रधनादिसाधकम् ।

मुक्तेर्निदानं न हि र्कािर्तकव्रताद् विष्णुप्रियादन्यदिहास्ति भूतले ।।

सृष्टिको आदिदेखि सूर्यको गतिको आधारमा दक्षिणायन र उत्तरायणको विधान चल्दैआएको छ । भगवान्  नारायण चतुर्मासभर पातालमा बलिको दरबारमा सुकला हुने र समापन हुनेछ । उत्तरायनमा देवकाल र दक्षिणायनमा आसुरीकाल मानिएको छ । दक्षिणायन देवकाल नहुनाको कारण सत्गुण क्षीण हुनबाट वचन बचाउनको लागि उपासना तथा व्रतविधान शास्त्रमा वर्णित गरिएको छ । कर्कटराशिमा  सूर्यको आगमनको साथसाथै दक्षिणायन कालको प्रारम्भ हुन्छ । कार्तिक महिना यसै दक्षिणायन र चतुर्मासको अवधिमा नै उपस्थित हुन्छ । पुराण आदि शास्त्रमा कार्तिक महिनाको विशेष महत्व   निर्देश गरिएको छ । हरेक महिनाको आफ्नैआफ्नै महत्व   हुन्छ, तर व्रत र तपको दृष्टिबाट कार्तिक महिनालाई ठूलो महिमा दर्शाउँदै स्कन्द पुराणले यसरी बताएको छ ।

मासानां कार्तिकः श्रेष्ठो देवानां मधुसूदनः ।

तीर्थ नारायणाख्यं हि त्रितयं दुर्लभं कलौ ।।

अर्थात् भगवान् विष्णु एवं विष्णुतीर्थको सदृश नै कार्तिक महिनालाई श्रेष्ठ र दुर्लभ बताइएको छ । कार्तिक महिनालाई कल्याणकारी महिना बताइएको छ ।

स्कन्दपुराणअनुसार नै कार्तिक महिना बराबर अर्को कुनै महिना छैन, सत्ययुगको समान अर्को युग छैन, वेदको समान अर्को कुनै शास्त्र छैन र गङ्काजीको समान अर्को कुनै तीर्थ छैन भनी यसरी बताइएको छ —

न कार्तिकसमो मासो न कृतेन समो युगम्  ।

न वेदसदृशं शास्त्रं न तीर्थं गङ्कया समम् ।।

सामान्य रूपबाट तुलाराशिमा सूर्यनारायण प्रवेश हुनेबित्तिकै कार्तिक महिना प्रारम्भ हुन्छ । कार्तिक महिनाको माहात्म्यबारे पद्म पुराण र स्कन्द पुराणमा विशेष रूपबाट वर्णन गरिएको छ । कार्तिक महिनामा महिलाहरू ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दछन् । यसरी पूजा गर्दा व्रत बस्दा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । यी चतुर्मास चारमहिना व्रत र पूजा गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । यस विषयमा भगवान् नारायणले ब्रम्हा लाई, ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक महिना नै सर्वगुण सम्पन्न महात्म्यको सम्वन्धमा बताउनुभएको हो ।

यस संसारमा सबै मानिस सुख, शान्ति र परम आनन्द चाहन्छन् । कोही पनि यस्ता हुँदैनन, जो आफू र आफ्ना परिवारलाई अशान्ति र दुःख चाहोस् । तर मानिसले बुझ्नपर्दछ कि दुःखबाट मुक्ति कसरी प्राप्त गर्न सकिन्छ । शास्त्रको भनाइअनुसार कार्तिक महिनामा स्नान व्रत जस्ले गर्दछ, उसले संयमका साथ नियमको पालना गर्नुपर्दछ । साथै श्रद्धा भक्तिपूर्वक भगवान्को आराधना गर्नुपर्दछ । जसले यसरी नियममा रहेर कार्तिक महिनाभर स्नान व्रत गर्दछ, ऊ सपरिवार आनन्द प्राप्त गर्दछ ।

यस महिनामा व्रत बस्नेले अमलाको बोट मुनि बसेर भगवान् कार्तिकेयको कथा सुन्नुपर्दछ । साथै कन्या कुमारीलाई भोजन गराई आफूहरू पनि भोजन गर्नुपर्दछ । स्कन्दपुराणको वैष्णव खण्डमा कार्तिक व्रतको महत्व को विषयमा यस महिनालाई रोग विनाशककारी भनी बताइएको छ । कार्तिक महिनाभर तुलसीको पूजा, आकाश दीप, पाताल दीप बालेर सेवा गर्नुपर्दछ । किनभने तुलसी जहाँ रोपिन्छ । त्यस ठाउँमा यमराजका दूतहरू पनि आउन सक्दैनन् । यस किसिमको महिमा छ ।

यस महिनाभर व्रतीले खाटमा सुत्नु हुँदैन, ब्रम्हचर्य पालना गर्नुपर्दछ । दूषित पदार्थ खानु हुँदैन । हरिकीर्तन गर्नुपर्दछ, किनभने ‘कलौ केशव कीर्तनात्’ भनी बताइएको छ । यस महिनामा श्रीमहाभागवत,  रामचरितमानस आदि श्रवण गर्नु उत्तम  मानिएको छ । तसर्थ जो मानिस विष्णुप्रियकारी, समस्त, पातकलाई नाश गर्ने, सत्पुत्र तथा धनधान्य वृद्धिकारक कार्तिक व्रतको पालना गर्दछ, उसलाई तीर्थयात्रा गरेको फल प्राप्त हुन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस् 

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!