अन्तर्राष्ट्रिय समाचार

नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन नेपाल आउँदै

काठमाडौं, भदौ २८। नेपालमा १३ औं अन्तर्राष्ट्रिय ‘क्वाजीक्रिस्टल’ आइसीक्यु–१३ सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन उपस्थित हुने आयोजकले जनाएको छ । सन् २०११ मा उनले रसायनशास्त्रको तर्फबाट क्वाजीक्रिस्टल पत्ता लगाए बापत नोबल पुरस्कार जितेका थिए।

९ वर्षदेखि लिभरपुल विश्वविद्यालय,  भौतिकशास्त्र विभागमा सहप्राध्यापक डा. हेमराज शर्माले आफूले अध्ययन–अनुसन्धान गरेको विषयमा केही गरौं भन्ने उद्दश्यले नेपालमा सम्मेलन आयोजनाका लागि ३ वर्षअघि आवेदन दिएका थिए। सोहीअनुसार सम्मेलनको सल्लाहकार समितिले नेपालमा ‘आइसिक्यु–१३’ आयोजना गर्ने निर्णय गरेको थियो।

असोज २ देखि ८ गतेसम्म काभ्रेको धुलिखेलमा सञ्चालन हुने सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ अर्थात विशेष किसिमको ठोस पदार्थ तीन वर्षयतादेखि अहिलेसम्म काम गरिरहेका विश्वभरका वैज्ञानिकहरुको उपस्थित हुने आयोजकले जनाएको छ। ६ दिनसम्म चल्ने सम्मेलनमा भौतिकशास्त्री‚ रसायनशास्त्रीका साथै पदार्थविज्ञान तथा गणितमा काम गरिरहेका वैज्ञानिक सहभागी रहने आयोजकले जनाएका छन्।

नेपाल‚ भारत‚ अमेरिका‚ जपाननलगायतका करीब १५० वैज्ञानिक उपस्थिति हुने सम्मेलनका अध्यक्ष शर्माले बताए। नेपाल र भारतबाट १०¸ जपानबाट ५० बाहेक विश्वका अन्य २७ मुलुकका वैज्ञानिकको उपस्थिति हुने वताइएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!