राष्ट्रिय समाचार

नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान शुरु

काठमाडौं, २१ फागुन । नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान शुरु ! संविधान कार्यान्वयन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूल उद्देश्यका साथ नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु भएको हो। झापा क्रान्ति अन्तर्गत पक्राउमा परेका ५ जनालाई झापाको सुखानीमा हत्या गरिएको दिन फागुन २१ गतेदेखि नै १५ दिने अभियान सञ्चालन गरिएको हो।

आगामी निर्वाचनलाई लक्षित गरी संविधानले अधिकार दिएन भनेर संविधान निर्माणदेखि नै आन्दोलन भइरहेको तराई–मधेश क्षेत्रका जनतालाई संविधानले दिएको अधिकार प्रष्टसँग बुझाउन र राष्ट्रिय एकता कायम गर्न भन्दै नेकपा एमालेले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ शुरुवात गरेको हो ।  तराईमा चलाउने मेची–महाकाली अभियान कसैको विरुद्ध नभएको, कसैको सभा सम्मेलन बिथोल्ने काम नगर्ने र सबैसँग मित्रवत् व्यवहार गरिने भएकाले अरूबाट पनि त्यस्तै अपेक्षा गरेको एमालेको भनाइ छ ।

अभियान शुभारम्भ समारोहमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, नेता भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अमृतकुमार बोहरा, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए ।  १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकाली पुगेर टुंगिने छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!