अर्थ-वाणिज्य

एडीबीका लगानीका आयोजनाहरूको प्रगति न्यून

काठमाडौं, कार्तिक ५ । नेपालमा परियोजना कार्यान्वयन क्षमता सबल नभएकाले लक्ष्य अनुसार विकास निर्माणको काम अघि बढ्न नसकेको एसियाली विकास बैंक (एडीबी) ले दोहोर्‍याएको छ । उक्त कारण लगानी गरेका अधिकांश परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेको एडीबीले औल्याएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित त्रिपक्षीय समीक्षा बैठकमा एडीबीका उपमहानिर्देशक दिवेश शरणले यस्तो बताएका हुन् । परियोजनामा पर्ने जग्गा अधिग्रहण तथा वातावरणीय सफाइमा समस्या, परियोजनामा कार्यरत अधिकृतहरूको बारम्बार सरुवा र भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालित आपत्कालीन सहायता परियोजनाको कमजोर कार्यान्वयनलगायत कारण एडिबीको परियोजनाको कार्य प्रगतिमा ढिलासुस्ती भएको उनले आरोप लगाए ।

हाल नेपालमा एडीबीद्वारा सञ्चालित ३२ वटा परियोजनाहरूमा १ अर्ब ७३ करोड अमेरिकी डलरको सम्झौता भएको छ । उक्त रकममध्ये सन् २०१६ को तेस्रो त्रैमाससम्म ३४ प्रतिशत मात्र खर्च भएको एडीबीले जनाएको छ । बाँकी ६६ प्रतिशत (१ अर्ब १४ करोड ५० लाख अमेरिकी डलर) अझै खर्च हुन सकेको छैन । यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६ प्रतिशत बराबर हो ।

एडिबीद्वारा सञ्चालित प्रमुख पूर्वाधार परियोजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र विद्युत् प्रसारण लाइनको निर्माणमा भएको ढिलाइमा एसियाली विकास बैंकको विशेष ध्यानाकर्षण भएको उपमहानिर्देशक सरनले बताए । ‘सञ्चालित परियोजनाको कार्य प्रगतिका आधारमा एडीबीले लगानी सम्झौतालाई वृद्धि गर्ने नीति बनाएको छ,’ उनले भने, ‘यसकारण पनि नेपालले परियोजना कार्यान्वयनको कार्यक्षमता सबल बनाउनुपर्छ ।’ यसका लागि सुशासन वृद्धि गर्नुका साथै खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने उनको सुझाव थियो ।

चालू आर्थिक वर्षमा लक्ष्यभन्दा निकै थोरै मात्र काम भएकाले निर्माणको गति बढाउन सबै सरोकारवाला विशेष रूपमा लाग्नुपर्ने एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर केनिची योकोयामाले बताए । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको वर्तमान अवस्थामा लक्ष्यअनुसार गर्नुपर्ने काम धेरै मेहनत गर्नुपर्ने उनको सुझाव थियो । ‘छिटोछिटो कर्मचारीहरूको सरुवा हुने गरेकाले सिँचाइलगायत विभिन्न परियोजनाको काम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन,’ उनले भने ।

पुँजीगत खर्चका लागि क्षमता अभिवृद्धि सरकारले विशेष कदम चालेको उनले बताए । यस वर्ष वातावरण अनुकूल रहेकाले विकास निर्माणको कामले प्राथमिकता पाउने उनले दाबी गरे । ‘परियोजना निर्माणको काम तीव्र रूपमा अघि बढाउन सरकार कटिबद्ध छ । तीमध्ये पनि राष्ट्रिय महत्त्वका परियोजनालाई विशेष महत्त्व दिएका छौं ।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!