मुख्य समाचार

नास्टद्वारा २० वैज्ञानिक, प्राध्यापक र विद्यार्थी पुरस्कृत

२३ जेठ, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान, प्रविधि र प्राकृतिक क्षेत्रको खोज, अध्ययन र अनुसन्धानमा योगदान पुर्याएका २० जना वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई विभिन्न १० विधामा हिजो २१ गते मंगलवार पुरस्कृत गरेको हो । नास्टद्वारा ललितपुरको खुमल्टारमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उहाँहरुलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा नास्टका कुलपति केपी शर्मा ओेलीले प्रधानमन्त्री कार्यालयबाट पठाउनुभएको शुभकामनापत्र वाचन गरिएको थियो।

मन्त्री पोखरेलले पुरस्कारले विज्ञानको क्षेत्रमा खोज अनुसन्धानका लागि हौसला मिल्ने बताउँदै वैज्ञानिक खोज र अनुसन्धानमा नास्टले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । सरकारले विज्ञान क्षेत्रमा थप योगदान पुर्याउन साइन्स म्युजियमको स्थापना गर्ने योजना अघि बढाएको बताउनुभयो । नेपालमा पहिलो पटक इमेल सेवा भित्र्याउनेदेखि नेपालमा पहिलो पटक भू-उपग्रह प्रक्षेपण गर्ने काम नास्टले गरेको उपकुलपति डा सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको वन तथा जैविक विविधताको संरक्षणमा योगदान गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासङ्घलाई २ लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरेको छ । ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’बाट स्याङ्जाका डा. टेकबहादुर गुरुङ र डा गजेन्द्र शर्मा, प्यूठानका डा. रबा थापा तथा तेह्रथुमका प्रा. डा. विजया पन्तलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु. १ लाख २५ हजार रहेको थियो । भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पुर्याए बापत प्रा.डा. मेघराज धिताललाई रु १ लाख नगद सहित ‘विज्ञान पुरस्कार’ र वातावरण क्षेत्रमा योगदान पुर्याएकोमा सप्तरीका प्रा.डा. विनयकुमार झालाई रु १ लाख राशिकै ‘प्रविधि पुरस्कार’ प्रदान गरिएको छ ।

नास्टले अन्य ५ जनालाई रु ७५ हजार राशिको ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ प्रदान गरेको थियो । पुरस्कार पाउनेमा गुल्मीका डा. भानुभक्त न्यौपाने, डडेलधुराका डा. महेशकुमार जोशी, चितवनका डा. अजय पौडेल, झापाका दीपेन्द्र गौतम, कास्कीकी डा. ईन्दिरा पराजुली रहेका छन् । नास्टले रु ५० हजार राशिको ‘प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार’ बाट नेपाल पोलिमर इन्स्टिच्यूट काठमाडौँलाई र स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकासमा योगदान पुर्याएबापत काभ्रेका माधवप्रसाद अधिकारीलाई पुरस्कृत गरेको छ । रु ५० हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’बाट कैलालीका पत्रकार उमेशकुमार ओझालाई सम्मान गरिएको छ । यस्तै रु ५० हजार राशिको ‘फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार’बाट त्रिविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत सरिता पौडेल पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रममा विश्व विज्ञान प्रतिष्ठानले काभ्रेका डा. सुदीप ठकुरी र प्रविधि विकासमा काठमाडौँका डा. सविन बसीलाई जनही एक हजार अमेरिकी डलरसहित सम्मान गरेको थियो । यस्तै जलवायु परिवर्तनको क्षेत्रमा योगदान गर्ने त्रिभुवन विश्व विद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका मिनु अधिकारी र जैविक प्रविधि केन्द्रीय विभागका मितेश श्रेष्ठलाई रु २५ हजार राशिको ‘दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो ।

नास्टद्वारा १० विधाका पुरस्कृत बिभिन्न २० वैज्ञानिक, प्राध्यापक र विद्यार्थी निम्न अनुसार छन्।

१. प्रकृति संरक्षण पुरस्कार

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल, भक्तपुर

योगदान : नेपालको वन संरक्षण र व्यवस्थापन मार्फत जैविकविविधता संरक्षण, जलवायु परिवर्तनवाट पर्न गएको असरलाई न्यूनीकरण एवम् अनुकूलनमा महत्वपूर्ण योगदान पुर्याए वापत ।

२. विज्ञान पुरस्कार

प्रा. डा. मेघराज धिताल, दाङ्ग

योगदान : नेपालका हिमालयहरूको गहन भौगर्भिक अध्ययन–अनुसन्धान गरी भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पु¥याए वापत ।

३ प्रविधि पुरस्कार

प्रा. डा. विनय कुमार झा, सप्तरी

योगदान : जैविक, कार्वनिक, अकार्वनिक फोहोर तथा मूल्यहीन पदार्थहरूबाट फोहोर पानी प्रशोधन गर्ने मूल्यवान् एड्सोर्वेण्टहरूका साथै वातावरणमैत्री जियोपोलिमर बनाउने प्रविधि विकासमा योगदान पुर्याए वापत ।

४. विज्ञान तथा प्रविधि युवा पुरस्कार

(क) डा. भानुभक्त न्यौपाने, गुल्मी

योगदान : अति नजिक रहेका वस्तुहरूलाई छुट्याउन सक्ने खालको सूक्ष्मदर्शक यन्त्र तयार गरी कोषिका भित्र हुने विभिन्न जटिल प्रक्रियाहरूको अध्ययन गरी योगदान पुर्याए वापत ।

(ख) डा. महेश कुमार जोशी, डडेलधुरा

योगदान : टिस्यु इन्जिनियरिङ्ग अनुप्रयोगका लागि ईलेक्ट्रोस्पिनिङ्ग प्रविधिबाट विकसित द्धि-आयामिक नानोफाइब्रोस मेम्ब्रेनबाट कम घनत्व भएको तन्तुको आन्तरिक संरचनासँग मिल्दोजुल्दो त्रि-आयामिक स्काफोल्ड बनाउने प्रविधि विकास गर्न योगदान पुर्याए वापत ।

(ग) डा. अजय पौडेल, चितवन

योगदान : क्षयरोग छिटो र सजिलो तरिकाले पत्ता लगाउन सक्ने Loop-mediated isothermal amplification (LAMP) विधिको विकास र नेपालमा यसको पहिलोपटक परीक्षण तथा आनुवांशिक अध्ययन गरी योगदान पुर्याए वापत ।

(घ) श्री दिपेन्द्र गौतम, झापा

योगदान : Seismic Fragility Functions निर्माणको लागि उपयोगी प्रविधि र बहुप्रकोपीय जोखिमबाट संरचनामा पर्ने प्रभाव मूल्याङ्कन गर्ने पद्धति विकास गर्न योगदान पुर्याए वापत ।

(ङ) डा. इन्दिरा पराजुली, कास्की

योगदान : हिमाली क्षेत्रका दाउरा बाल्ने घरहरूका लागि तापमान सन्तुलित वायु सञ्चार प्रणाली, धूँवाका कारण स्वास्थ्यमा पर्ने असर न्यूनीकरण सम्बन्धी अध्ययन गरी योगदान पुर्याए वाापत ।

५. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार

(क) श्री नेपाल पोलिमर इन्स्टिच्यूट , काठमाडौं

योगदान : पोलिमर विज्ञान तथा नानो प्रविधिको उपयोगिता सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन एवम् यस सम्बन्धीे नेपालमा गरिएका अनुसन्धान क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसार गरी योगदान पुर्याए वापत ।

(ख) श्री माधवप्रसाद अधिकारी, काभ्रे

योगदान : विज्ञान शिक्षालाई सहज रूपमा बुझाउन स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकास र ती विधिहरूको नेपाली भाषामा पुस्तक प्रकाशन गरी योगदान पुर्याए वापत ।

६. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

श्री उमेश कुमार ओझा, कैलाली

योगदान : विज्ञान तथा प्रविधिका उपलब्धि र ज्ञानवद्र्धक जानकारीहरू सरल भाषामा प्रकाशन माध्यम मार्फत सर्वसाधारणसम्म पुर्याई योगदान पुर्याए वापत ।

७. TWAS पुरस्कार

(क) डा. सुदीप ठकुरी, काभ्रे

Contribution on Climate change and its role in modulating the mountain glaciers, glacial lakes, and the river flows, with the aim of bridging the knowledge gaps on the Himalayan cryosphere

(ख) डा. सविन बसी, काठमाडौं

Contribution to develope techniques for solute transport through stomata in increasing crop productivity enhanced foliar uptake of agrochemicals

८. दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार

(क) श्री मिनु अधिकारी, वनस्पतिशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदान : नेपालका तीन बाह्य मिचाहा प्रजातिका वनस्पतिको पारिस्थितिकीय बीज अंकूरण क्षमता तथा यसले वन विनासमा पर्न सक्ने असर र न्यूनीकरण सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

(ख) श्री मितेस श्रेष्ठ, जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदान : अर्बुद रोगको कोषिकाहरूमा माइटोकोन्ड्रियाको भूमिका, तिनको विभाजनमा संलग्न जीनहरूले कोषिकाहरूमा गरेको परिवर्तन तथा यस रोगको उपचारमा माइटोकोन्ड्रियाको भूमिका सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

९. नबिल विज्ञान तथा प्रविधि पुरस्कार

(क) डा. टेक बहादुर गुरूङ्ग, स्याङजा

योगदान : रेन्बो ट्राउट माछापालन सम्बन्धी अनुसन्धान र मत्स्य प्रजनन् प्रविधिको विकासमा योगदान पुर्याए वापत ।

(ख) डा. रबा थापा, प्यूठान

योगदान : आँखाको पर्दाका रोगको अध्ययन, यसबाट बच्ने उपाय र मधुमेह रोगबाट आँखामा पर्ने असरको पहिचान एवम् सचेतना जागृत गरी अन्धोपन न्यूनीकरणमा योगदान पुर्याए वापत ।

(ग) डा. गजेन्द्र शर्मा, स्याङजा

योगदान : नेपालको लागि उपयुक्त e-governance framework तयार गर्नुको साथै Virtual world को प्रयोगबाट e-commerce technology को विकासमा अनुसन्धान गरी योगदान पुर्याए वापत ।

(घ) प्रा. डा. विजया पन्त, तेह्रथुम

योगदान : नेपालका लोपोन्मुख औषधिमूलक सुनगाभामा तन्तु सम्वद्र्धनका विविध प्रविधिको विकास गरी तिनको संरक्षण र विकासमा योगदान पुर्याए वापत ।

१०. फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार

सरिता पौडेल, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

योगदान : कट जरबेरा फूलहरूकोे गुणस्तर र यसको उत्पादन पश्चात् टिकाउ अवधिमा विभिन्न संरक्षक तत्वहरूको (Floral Preservatives) प्रभाव सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!