मुख्य समाचार

सरकारले ‘आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्स’को आयोजना गर्ने

असोज ३०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाई दिएको छ । यसको सल्लाहकार समिति अध्यक्षमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह रहेका छन् ।

हालै जारी भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति अनुरुप देशभरका विज्ञान प्रविधिका गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’अन्तर्गत सम्मेलन हुनेछ । हालै जारी गरिएको नीतिमा उदीयमान प्रविधिहरुलाई विशेष महत्वसाथ देशको विकासमा विज्ञान प्रविधिलाई मूल प्रवाहीकरण गर्ने उद्देश्य राखिएको छ ।

सोही अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोसेढुंगा सावित हुने विश्वास लिइएको मन्त्री गिरिराजमणि पोखरेलले बताए । विश्वमा जारी चौंथो औद्योगिक रिभोल्युसनअन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीतिनिर्मातालाई सचेत र जागरुक बनाउदै एसडीजीका लक्ष्य हासिल गर्न सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाइ छ ।

प्राम्भिक तयारी अनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञ नेपाल आउने छन् । सम्मेलनमा विज्ञहरूसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाको उल्लेख्य सहभागिता रहनेछ । इमर्जिङ प्रविधिहरुमा केन्द्रित रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!