स्वास्थ्य

बुद्धिबंगारा आउँदा दुख्ने कारणहरु र उपचार

दाँत स्वास्थ्य र सौन्दर्यको लागि मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो । मानिसको जीवनमा कुनै न कुनै एक समय बुद्धिबंगाराको कारण दुःख नपाएको शायदै होला । गिजा सुन्निने, गाला सुन्निे, ज्वरो आउने, खाना खान नसक्ने, मुख खोल्न नसकिने समस्याबाट ग्रसित भएको हुनुपर्छ । मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरी दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२–१३ वर्ष भित्रमा सबै झरी सक्छन् । ६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्षभित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर, १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धिबंगारा भन्छौं । बुद्धिबंगारा हाम्रो मुखमा युवावस्थामा उम्रने सबभन्दा पछाडिको बंगारा हुन् । यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुुद्धिमानी हुँदै जाने उमेर हो । यस कारणले गर्दा यस दाँतलाई बुद्धि बंगारा नामाकरण गरिएको मानिन्छ ।

कतिपय मानिसहरुमा बुद्दि बंगारा भनेको बुद्दि आउने बंगारा हो र यसलाई उखाल्नाले बुद्दि कम हुने, स्मरण शक्ति घट्ने वा आँखा कमजोर हुनेभन्ने भ्रम रहेको पाइएको छ। बुद्धिबंगाराको मानिसको बुद्दि, स्मरण शक्ति र आँखाको दृष्टिसँग केही पनि सम्बन्ध रहेको हुँदैन। अन्य दाँतहरु १२/१३ वर्षभित्रै आइसक्छ जुन वाल्यावस्था हो। दाँतका बिभिन्न प्रकारमध्ये बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने अंग हो । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भाग आजकाल झन् सानो हुँदै गएको छ । निकै सानो ‘स्पेस’मा यो बंगारा आउनै सक्दैन । खासमा यो बंगाराको कुनै काम नै छैन । खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन । पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ । नेपालमा भने खपेर बस्ने चलन छ । नेपालमा त यो बंगारा आउनुलाई बुद्धि आएको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन ।

बुद्धिबंगाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहरुले काँचो मासु चबाउन, जंगली खानेकुरा खान उपयोग गर्दथे । मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धिबंगाराको कम प्रयोग हुन थाल्यो । जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न । त्यसैले आजकल या दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ । कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ । यो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ । यसको सदुपयोग नहुने हुनाले नहुनाले आजकल यसलाई Vestigial Organ को रुपमा पनि मानिन्छ ।

यसको काम व्यक्तिलाई पीडा दिने मात्रै हो । यो दाँत एकैपटकमा आउँदैन । पटक–पटकमा थोरै–थोरै गर्दै आउँछ । यसैले लामो समयसम्म दुःख दिन्छ । यो आउने ठाउँ नै थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ । बुद्धिबंगारा थोरै–थोरै गर्दै आउँदा खाएका कुरा वरिपरि अड्किने गर्छ । दाँत सफा गर्दा पनि ब्रस त्यहाँसम्म राम्ररी पुगेर खेल्न पाउँदैन । अड्किएका खानेकुरा त्यहीँ कुहिने हुन सक्छ । यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै किरा लाग्न सक्छ । किरा लागेपछि झन् बढी दुख्छ । बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले थिच्ने पनि हुन सक्छ । यस्तो भएमा पनि दुख्न सक्छ । बुद्धिबंगारा आउँदै गर्दा वरिपरिको मासुको भाग छेडेको हुन्छ । यस्तो अवस्थामा इन्फेक्सन हुन सक्छ । इन्फेक्सन भएमा दुखाइ बढ्छ ।

उपचार

१. बुद्धीबंगारा उम्रदा सबै जसोलाई नै दुखाई हुने गर्दछ । यो धेरै दिन रहदैन र मन तातो पानीमा नुन हालेर कुल्ला गर्दा आराम हुन्छ ।

२. पुरै उम्रेको छैन र निस्कन सकेन भने यो दाँत र त्यसलाई ढाक्ने गिजाको बिचमा खानेकुरा फस्दछ जुन निकाल्न अफ्ठ्यारो हुन्छ र त्यसबाट किरा लाग्ने, पिप जम्ने र गिजा र गाला सुन्निने हुन्छ । यस्तो भएमा चिकित्सकको सल्लाह अनुसार गिजा र दाँत बीचको फोहोर हटाउने वा गिजा काटनुपर्ने हुन्छ । यस्तो भए Antibiotics पनि खानुपर्ने हुन्छ ।

३. यदि यो पुरै उम्रिएको वा नउम्रिएको अवस्थामा बाङ्गो भएर बसेको छ भने चाही छेउको दाँतलाई धकेलेर खियाइ किरा लाग्ने सम्भावना पनि बढाइदिने वा गालामा घाउ बनाउने गर्दछ । यो दाँत मुखको पछिल्लो भागमा भएकोले सफा गर्न त गाह्रो हुन्छ नै, अझ बाङ्गो भएर उम्रेको छ भने त झन् खानेकुरा फसेर किराको घर नै बन्दछ । यो दाँतले चपाउन केही पनि मद्दत गर्दैन र सबैभन्दा पछाडि भएकोले सुन्दरतामा पनि यसको केही योगदान हुँदैन । त्यसैले बाङ्गो दाँतले समस्या गरेमा दन्त चिकित्सककोमा गएर उखाले केही फरक पर्दैन । दाँत उम्रने वा नउम्रने चाही X-ray हेरेर भन्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

अमिलो खाँदा दाँत किन कुडिन्छ ?

दाँत कसरी सुरक्षित गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!