विज्ञान जिज्ञासा

हाइड्रोजन बम (Hydrogen Bomb) भनेको के हो  ?

Gopal Bhandari
गोपाल भण्डारी

हाइड्रोजन बम मानव जातिले अहिलेसम्म निर्माण गरेको सबैभन्दा शक्तिशाली अत्याधुनिक हतियार हो । यो बम जापानको हिरोसिमा र नागसाकिमा खसालिएको एटम बमभन्दा हजारौँ गुणा शक्तिशाली हुन्छ । एटम बममा युरेनियम र प्लुटोनियमजस्ता ठूला अस्थिर परमाणुहरु टुक्रिने प्रक्रियाबाट ऊर्जा उत्सर्जन हुन्छ ।  तर, हाइड्रोजन बमको ऊर्जा उत्सर्जन गर्ने प्रक्रिया एटम बमको भन्दा ठीक विपरीत हुन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसाटोपहरु एकै ठाउँमा गाभिने प्रक्रियामा उर्जा उत्पादन हुन्छ । यसरी गाभिएका दुई परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड कम हुन्छ । यसरी ‘हराएको पिण्ड’ अपार ऊर्जामा रुपान्तरण हुन्छ भन्ने तथ्यबारे महानतम् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको E = mc2 समीकरण अनुसार अत्याधिक उर्जामा परिणत हुन्छ ।

हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । प्रारम्भमा एटम बममा झैँ युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्र्याएर अधिक ऊर्जा उत्सर्जन गरिन्छ । त्यसपछि त्यो ऊर्जालाई हाइड्रोजनका आइसोटोपहरु फ्यूजन गराउनका प्रयोग गरिन्छ । यसरी आइसोटोपनहरु फ्युजन भएपछि एटम बमले भन्दा हजारौँ गुणा बढी ऊर्जा उत्पादन हुन्छ । हाइड्रोजन बम अति शक्तिशाली र भयानक विनासकारी हतियारमा मानिन्छ । आणविक हतियार विकासमा हाइड्रोजन बम बनाउने क्षमतालाई निक्कै उपलब्धिमुलक र उपल्लो स्तरको मानिएको छ ।

हाइड्रोजन बम निक्कै जटिल मेसिनरी हो । यसमा एउटा बमभित्र २ वटा बम हुन्छन् । जव यसको फ्यूजनमा धक्का पुग्छ यसबाट निक्कै धेरै ताप पैदा हुन्छ । यसमा भएका आणुहरु मिचिन थाल्छन् र यसले चेन इफेक्ट पैदा गर्दै प्रतिक्रिया र काउन्टर प्रतिक्रिया शुरु हन्छ । यसलाई थर्मो न्यूक्लियर हतियार भनिनुको कारण पनि त्यही हो । हाइड्रोजन बममा एकै पटक २ विष्फोट हुन्छन् । अहिलेसम्म अमेरिका, रुस, बेलायत, फ्रान्स र चीनसँग हाइड्रोजन बम छ । भारत र पाकिस्तानसँग पनि यस्तो बम भएको विश्वास गरिन्छ । हामीले सूर्यबाट प्राप्त गर्ने ऊर्जा पनि यस्तै प्रक्रियाबाट उत्पादन हुन्छ ।

यो पनि पढ्नुहोस्

युरेनियमका गुणहरु र दोषहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!