पर्यटन

मुस्ताङमा पर्यटकको घुँइचो

असोज २७, मुस्ताङ । मुस्ताङमा पर्यटकको घुइचो बढेको छ । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा पुगेपछि आन्तरिक पर्यटकको घुँइचो बढेको हो ।  पर्यटकको आगमनसँगै होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

दसैँ लगत्तै जिल्लामा आन्तरिक पर्यटकको आवागमन बढेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खास गरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएका छन् । दसैँ सुरु हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ भएका थिए । तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताएका छन् ।

‘लेतेदेखि माथि लोमान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन्, अहिले सबै भरिभराउ छन्”, पर्यटन व्यवसायी तुलाचनले भने –‘एकदमै राम्रो व्यापार भइरहेको छ ।’ यो मौसममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् ।

साभार : अन्नपूर्ण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!