खानपान

जाडो मौसममा खाने खानेकुराहरु

जाडो मौसममा खाने खानेकुराहरु ! जाडो मौसममा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । जाडो मौसममा चिसोले सताउने भएकाले तातो खानेकुरा खानुपर्छ । तातोमा बस्दा तथा तातो कपडा लगाउँदा शरीर सुख्खा हुन सक्ने भएकाले झोल खानेकुरामा जोड दिनुपर्छ भने शरीरलाई प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने फलफूल र तरकारीजस्ता भिटामिन र खनिजयुक्त खाद्य पदार्थको मात्रा बढाउनुपर्छ । लसुन, अदुवा, दालचिनीको पात वा बोक्रा, मरिच, टिम्मुर आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ  ।

उमेर र काम अनुसार खानेकुराको मात्रा फरक पर्छ । स–साना शिशु, बालबालिका एवं बूढाबूढीलाई चिसोले बढी सताउने भएकाले तातो तरकारीको सूप, मासुको सूप, गेडागुडीको सूप, तातो दूधका साथै फलफूलहरू खान दिनुपर्छ जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।  जाडो मौसममा फलफूलमा भिटामिन, मिनरल्स, एन्टीअक्सिडेन्ट हुने भएकाले फलफूलको मात्रालाई जाडो भनेर घटाउनु हुँदैन।

१. गेडागुडी तथा माछा मासु

जाडोमा गेडागुडीको प्रयोग बढी नै गर्नुपर्छ । गेडागुडीमा पोटासियम, म्याग्नेसियमजस्ता तत्व हुन्छन् जसले रक्तचाप लाई एक समान राख्दछ र मुटुको रोगलाई टाढै राख्दछ । चिसो मौसममा दिनमा ४ देखि ५ वटासम्म नट्स खान सक्छन् । भरसक गेडागुडीलाई मिश्रण गरेर भिजाउने अनी टुसा पलाएपछि पकाएर खाने गरेमा चिसो लाग्दैन । माछा, मासु पनि बढी खाने गर्नुहोस् । माछामा जिंक र ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले छाला रुखो हुनबाट बचाउँछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

२. बदाम र ओखर

जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । यसले शरिरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्दछ र मुटुको रोग लाग्नबाट बचाउँछ । यसमा राम्रो फ्याट हुन्छ जसले छालालाई नरम बनाइराख्न सहयोग गर्दछ ।  ओखरमा ओमेगा थ्री पर्याप्त हुने भएकाले खासगरी पुरुषका लागि यो निकै लाभदायक मानिन्छ । शुक्राणु वृद्धि र गुणस्तरमा सघाउ पुर्याउँछ। त्यस्तै शरीरका प्रत्येक अंगमा रगतको सर्कुलरलाई यसले सघाउ पुग्ने भएकाले जाडो मौसममा नियमित यसको प्रयोग गर्नुहोस् ।

३. दुध तथा अण्डा

हाड मजबुत बनाउन क्याल्सियमा चाहिने हुँदा अण्डा वा दूध खानुपर्छ । जाडोमा अरु समयको भन्दा अझै बढी हामिलाई प्रोटिन तथा क्याल्सियम चाहिन्छ । अण्डामा फोलिक एसिड र भिटामिन डी हुन्छ जसले हड्डी बलियो बनाउँछ । तर अण्डा र दुध एकैपटक भुलेर पनि नखानुहोस्। एकै पटक खानु शरीरका लागि ‘विषसरह’ हुन्छ।यस्तै प्रोटिनले शरीरमा तापक्रम बढाउनुका अलवा छाला फुस्रो हुनबाट पनि जोगाउँछ।

४. अंगुर र सुन्तला

सुन्तला जाडो मौसममा नै पाईने फल हो तर धेरै यसलाई खान डराउछन् । यो चिसो भएपनि स्वास्थ्यलाई असर गर्दै जति पनि खान सक्नुहुन्छ । फ्रिजमा राखेर भने नखानुहोस्। बजारमा उपलव्ध भएसम्म अंगुर खानु असाध्यै राम्रो हुन्छ। यसमा एन्टीअक्सिडेन्टको मात्रा भरपुर हुनाले छालालाई तन्दुरुस्त राख्न मद्दत गर्दछ। फलफूल बिहान खाली पेटमा नै खाँदा लाभदायक हुन्छ। तर फलफूल विषादीमुक्त र सफा हुनु जरुरी छ।

५. स्याउ र अनार

नियमित स्वाउ खानु भयो भने तपाईलाई रोगले छुदैन अर्थात चिकित्सकहरु नै भन्छन् नियमित स्वाउ खानुहोस् र अस्पतालबाट टाडा रहनुहोस् । यसमा भिटामिन तथा मिनरल्सको मात्रा हुने हुँदा शरीरलाई ताजा राख्न मद्दत पुग्दछ। अनारमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयघात हुनबाट बचाउँछ । यसले रगत बढाउन पनि मद्दत गर्छ ।

६. अमला तथा अम्बा

अमला तथा अम्बामा भिटामिन सी पर्याप्त हुन्छ। रगतलाई सुद्धीकरण तथा सन्तुलित सर्कुलरका लागि भिटामिन सी जरुरी हुन्छ। त्यसबाहेक स्वास गन्हाउने, मुखभित्र तथा गिँजामा आउने खटिराका लागि पनि अमला अम्बा जस्ता फलफुल उपयोगी हुन्छन्।

७. हरियो सागपात तथा कुरिलो

खानामा दैनिक सागपातको प्रयोग गर्नुहोस् । यसबाट पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्दछ। त्यसैले दैनिक हरियो सागको प्रयोग गर्न नहिच्कीचाउनुहोस् । जाडोमा कुरिलोको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त तथा शुक्र दुर्वलता निवारक मानिन्छ।

८. गाजर तथा सखरखण्ड
गाजरमा ‘भिटामिन ए’ को मात्रा अत्यधिक हुन्छ । यो खाँदा शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोगबाट बचाउँछ । यसलाई काँचो वा यसको हलुवा वा जूस बनाएर पिउन सक्नुहुन्छ । सखरखण्डमा फाइबरको मात्रा अधिक हुन्छ त्यसरकाण यो धेरै खाँदा पनि यसले तौल बढाउँदैन । यसलाई उसिने र तारेर खान सकिन्छ ।

९. मसलाहरु 

लसुन, अदुवा, दालचिनी, मरिच, टिम्मुर, मेथी, तिल आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ  । अदुवामा जिन्जेरोल्स हुन्छ जसका कारण शरिरको प्रतिरोधक क्षमता बढाउँछ । यसको चिया बनाएर पनि पिउनसक्नुहुन्छ र खानामा पनि मिसाउन सक्नुहुन्छ ।
मेथीमा पोटासियम र आइरन हुन्छ जसका कारण यसले कमजोरी हटाउँछ र मुटुको रोगीलाई पनि राहत दिन्छ । तिलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले चिसो मौसममा लाग्ने रोगबाट बचाउँछ । यसले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । यसको लड्डु वा अचार बनाएर खान सक्नुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!