टिप्स

रिस कसरी नियन्त्रण गर्ने ?

रिस कसरी नियन्त्रण गर्ने ? भनिन्छ रिस हो मानिसको शत्रु, रिसैले सव नासिने, रिसैले उठ्छ झगडा, रिसैले सव भासिने। त्यसैले मानिसले रिसलाई नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ । रिस ज्यादै शक्तिशाली भाव हो। रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन्। कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन। रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यानसमेत लिने प्रयास भइरहेको हुन्छ। त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो। रिस नियन्त्रण गर्ने उपायहरु यस प्रकार छन् ।

१. जब तपाइँलाई निकै रिस उठ्छ । तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्दि्रत हुन्छ र तपाइँले त्यो  विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।

२. तपाइँलाई जेजसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस्  र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।

३. लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।

४. रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन ।  जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण  निवारण तर्फ लाग्नुहोस् ।

५. योगा तथा व्यायामले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पूराउँछ । ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका  तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ ।

६. अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् । कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको  कारक तत्व पनि साम्य हुन्छ ।

७. रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस् । गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ  पुग्नेछ र रिसको पारो तल ओर्लनेछ ।

८. रिससँग सामना गर्ने विभिन्न उपायहरू जस्तै- आरामका अभ्यासहरू, प्रकृतिसँग आनन्द मिल्ने ठाउँहरूमा चाडबाड, पूजापाठ, मन्दिर, सांस्कृतिक क्रियाकलापमा सहभागी हुने ।

९. खुसी, रमाइलो गरेको क्षणहरूलाई सम्झिने ।

१०. कुनै-कुनै बेला आफ्नो भूल, गल्ती, कमीकमजोरीलाई आफैंले क्षमा दिन सिक्नुस् ।

११. आफू तथा अरूलाई होच्याउने वा ठेस पुर्या्उने खालको बोली वचनको पहिचान गरी त्यसमा सुधार ल्याउनुहोस् ।

१२. रिस उठ्ने तत्त्वहरू के-के छन् आदि कुराको पहिचान गरिसक्नुभएको छ भने भरसक आफूलाई त्यसबाट टाढा राख्नुस् ।

१३. परिवार तथा आफ्नो मन मिल्ने साथीसँग मनमा लुकेका रिसका भावनाहरूलाई उसको सामुन्ने पोख्नुस् । अर्थात् साझेदारी गर्नुस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!