अनुहारमा कालो पोतोे हुने कारण
छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । सामान्य छालाको कोषलाई मलाइनोसाइटिस भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई रंग प्रदान गर्दछन् । छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ । मेलानिन बढी भएमा कालो देखिन्छ । थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको अथवा कालो पोतोे आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।
१) कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ । यस्तो अवस्थामा समयमा उपचार गराउनुपर्छ ।
२) आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ । वा अन्य कुनै औषधिले पनि कालोपोतो निकालिदिन सक्छ ।
३) इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मोनल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन् । समयमा उपचार नभएमा छालाका कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ ।
४) खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ । घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ ।