टिप्स

नङ हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्य स्थिति पनि बताउँछ । प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर स्वास्थ्य समेत थाहा पाउन सकिन्छ ।

नङको काम चिलाएको भाग कन्याउने मात्र होइन, यसले त आफ्नै भाषामा तपाईंको स्वास्थ्य बताउने पनि गर्छ । नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ । कस्ता नङ भएका ब्यक्तिको स्वास्थ्य कस्तो थाहा पाउनुहोस् ।

१. नङ फुल्ने

नङ फुल्दा नयाँ कपडा पाइन्छ भन्ने नेपालीमा लोकोक्ति छ । तर क्याल्सियमको कमीको लक्षण हो यो । कहिलेकाहीँ नङमा चोट लाग्यो भने पनि फुल्छ । नङ बढ्दै जाँदा फुलो हराउँदै जान्छ तर फुलो रहिरह्यो भने फंगल संक्रमणको लक्षण हो ।

२. पहेंला नङ

उमेर बढ्दै जाँदा नङ पहेंलिन्छन् । तर जवान मानिसकै नङ पहेंलियो भने चाहिँ नङपालिसका कारण यसो भएको हुन सक्छ । चुरोट पिउने मान्छेको नङ पनि पहेंलो हुन्छ ।

३. नङमा अर्धचन्द्राकार नहुनु

नङमा अर्धचन्द्राकार भएन भने थाइरोइडको समस्या भनी बुझ्नुपर्छ । हाइपोथाइरोइडले अर्धचन्द्र लुकाइदिन्छ अनि मूड अफ भइरहने, डिप्रेसन हुने, कपाल झर्ने र तौल बढाउने गर्छ ।

४. नङमा ठाडो कालो धर्को

नङको बीचमा वा पूरै भागमा कालो हुने स्थिति काला जातिका मानिसमा पाइन्छन् । नङभित्र रहेको कोठी पनि हुन सक्छ यो । तर यो धर्कोको रंग परिवर्तन भयो भने चाहिँ छालाको क्यान्सरको लक्षण हो ।

५. नङमा तेर्सो रेखा

कहिलेकाहीँ नङमा चोट लाग्दा यस्तो रेखा बन्न पुग्छ तर एउटाभन्दा बढी नङमा यस्तो देखियो भने चाहिँ गम्भीर बिरामीको संकेत हो । तपाईं गम्भीर बिरामीबाट निको हुनुहुँदैछ भने तपाईंको शरीरले रोगसँग लड्न सबै ऊर्जा प्रयोग गर्दैछ र नङमा ध्यान दिन पाएको छैन । केमोथेरापी गरेको मानिसको नङमा पनि तेर्सा रेखा बन्छन् ।

६. रंगहीन नङ

स्वस्थ नङ गुलाबी रंगको हुन्छ र फेदमा गुलाबीजस्तो देखिने सेतो अर्धचन्द्रकार हुन्छ । यसबाहेक अन्य रंग भयो भने लुकेको स्वास्थ्य समस्या हो । रंगहीन नङले भिटामिनको कमी भएको देखाउँछ भने हरियो नङले ब्याक्टेरियाको संक्रमण भएको देखिन्छ । सेतो रंगको नङले कलेजोको रोगको संकेत दिन्छ भने नङमा राता धर्सा देखिए भने मुटुरोगको चेतावनी हो । हल्का नीलो नङले चाहिँ तपाईंको रगतमा अक्सिजनको मात्रा कम भएको देखाउँछ ।

७. चम्चा जस्ता नङ

चम्चाको आकारका नङमा त पानी समेत अड्न सक्छ । यसो भयो भने आइरनको कमी भएको संकेत हो । कलेजोको रोग हेमोक्रोमाटोसिसको पनि संकेत हो यो । हाइपो थाइरोइड भयो भने पनि नङ चम्चा जस्तो हुन पुग्छ ।

८. बाक्ला नङ

बाक्ला नङ प्राकृतिक देखिँदैनन् र चराको नङ्ग्रा जस्ता देखिन्छन् । तपाईंको यस्तो नङ छ भने फोक्सोको रोगको संकेत हो । छुट्टिएका बाक्ला नङले थाइरोइडको संकेत दिन्छन् । रक्तसञ्चारको समस्या वा फंगल संक्रमण पनि यसले जनाउँछ ।

९. सुख्खा र सजिलै फुट्ने नङ

रसायनयुक्त सफाई औजार, नङपालिस हटाउने रिमुभर, पञ्जा नलगाइकन भाँडा धुने काम, बुढ्यौली र चिसो अवस्थाले नङ सुख्खा हुने र फुट्ने गराउँछ । यी माथि उल्लेख कारण बाहेक नै तपाईंको नङ फुट्छन् भने तपाईं थाइरोइड वा फंगल संक्रमणको शिकार हुनुहुन्छ ।

१०. भुक्क उठेका नङ

भुक्क गरी नङ उठ्दा तपाईंका औंला सुन्निन्छन् । यो भनेको मृगौला वा कलेजोको समस्याको संकेत हो, मलत्यागको समस्या र अझ एड्स जस्तो गम्भीर रोगको पनि संकेत हो । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्   

नङ हेरेर थाहा पाउनुस् आफ्नो भाग्य

तपाईको नेतृत्व क्षमता थाहा हुन्छ हातको औँलाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!