धर्म-सस्कृति

देउसी भैलोको पौराणिक कथा

देउसी भैलोको पौराणिक कथा ! अयोध्यावासीहरूले आफ्ना परमप्रिय राजा श्रीरामको आगमनमा खुशियाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्री दियाहरूको उज्यालोले जगमगाएको थियो । मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे, देउसी” भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन् ।

देउसीको पछि एउटा अर्को कथा पनि जोडिएको छ । बलि नाम गरेका राजाले पृथ्वीमा राज्य गर्थे । उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी केही खाँदैनथे । उनको दानको प्रभावले गर्दा स्वर्गादि लोकहरु हल्लिन थाले । यसबाट डराएका देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे । विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए । विष्णु वामनको रुप धारण गरेर बलिकहाँ पुगे । त्यहाँ उनले दानी स्वभावका बलिसँग तीन पाउ जमिन मागे । बलिलाई वामनले मागेको जमिन अति थोरै भएजस्तो लाग्यो । उनले यसलाई अस्वीकार गर्ने कुरै थिएन । बलिबाट वचन लिएपछि वामनले आफ्नो रुपलाई विराट बनाए । उनको एउटै पाउले पूरै पृथ्वी ढाकियो । अर्को पाउले आकाश ढाक्यो । तेस्रो पाइलाभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे । उनले विष्णुसँग आफूलाई वर्षमा एकपटक तिहारको बेलामा पृथ्वी घुम्न दिइयोस् भनेर प्रार्थना गरे । विष्णुले स्वीकार गरे । भनिन्छ, बलि यस बेला घुम्न आउँछन् । देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भन्ने गर्छन् ।

स्त्रीहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् । किशोर किशोरीहरु औशीका दिनमा उज्यालो बालेर मजुरा, ढोल बाँसुली बजाउदै स्वाँगे नचाउदै एक जनाले भैलो हाल्ने (भट्टयाउने) अनि सबैले साथ दिएर डोटेली भैली देउसी रमाई रमाई खेल्छन् । यस भैलोमा किशोरी र किशोरको लय भने केही फरक हुन्छ । किशोरीहरु सुमधुर स्वरमा भैलि..री भैली भन्छन् भने किशोरहरु अलि ठाडो स्वरमा भैईलो भन्ने गर्दछन् । समुहमा मिलेर केटीहरूले गाउने गीती भैलो हो जुन तिहारको बेला गाइन्छ । हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलो भन्दै गीतको अन्तसम्म अनुसरण गर्छन । मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन।

यो पनि पढ्नुहोस्

यसरी भट्टयाउनुहोस देउसी खेल्दा

तिहारै आयो लौ झिलिमिली

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!