मुख्य समाचार

मुलुकलाई आत्मनिर्भर बनाउन युवा जलविद्युत् उत्पादनमा लाग्नुपर्ने – ऊर्जामन्त्री शर्मा

१२ चैत्र, काठमाडौँ। मुलुकलाई आत्मनिर्भर बनाउन युवा जलविद्युत् उत्पादनमा लाग्नुपर्ने – ऊर्जामन्त्री शर्मा ! ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई यहाँ आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक/एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको उहाँको भनाई थियो। राजनीतिक दलको घेराभन्दा माथि उठेर सम्पूर्ण युवाशक्ति अगाडि आउने हो भने नेपालको समृद्धि धेरै टाढा छैन र ऊर्जा मन्त्रालय सोही लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।

उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो । आर्थिक समृद्धि बिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ मात्रै हुने भएकाले यथार्थमा आउन र मुलुकलाई समृद्धिको दिशामा लैजान तर्कसङ्गत कुरा अगाडि सार्न उहाँले नेकपा(एमाले)लाई आग्रह गर्नुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!