मुख्य समाचारराष्ट्रिय अन्तर्वार्ता

हिन्दुराष्ट्र सहितको सवैंधानिक राजतन्त्र नै राप्रपाको प्रमुख एजेण्डा हो – मन्त्री दिलनाथ गिरी

अन्तर्वार्ता

हिन्दुराष्ट्र सहितको सवैंधानिक राजतन्त्र नै राप्रपाको प्रमुख एजेण्डा हो – मन्त्री दिलनाथ गिरी

बैशाख १५, २०७४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले भर्खरै स्थानीय तहको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  राप्रपाको  प्रमुख एजेण्डा भनेको हिन्दुराष्ट्र सहितको सवैंधानिक राजतन्त्र नै हो । राप्रपा घोषणापत्रमा आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई स्मार्टसिटी र प्रत्येक गाउँपालिका एउटा गौशाला विकास गर्ने संकल्प सार्वजनिक गरेको छ । पार्टीले जितेका सबै गाउँपालिका र नगरपालिकाका सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने घोषणा पनि गरेको छ । राप्रपाको नेतृत्वमा महत्वपुर्ण भूमिका निभाई सकेका अनुभवी नेता दिलनाथ गिरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ । उहाँ यसअघि पहिला राप्रपा नेपाल संसदीय दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनः राप्रपाको  प्रमुख सचेतक बन्नुभएको थियो । राप्रपाले भर्खरै सार्वजनिक गरेको स्थानीय तहको चुनावी घोषणापत्र, राप्रपा र मन्त्रालयको भावी योजनामा केन्द्रित रहेर साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी।

१. राप्रपा घोषणापत्रमा स्मार्टसिटीदेखि गौशालासम्म छ । धेरै जनताहरु उत्साहित पनि भएका छ ।  यसलाई कार्यान्वयन गर्न राप्रपा आगामी दिनहरुमा कसरी अघि बढ्छ ?

भर्खरै हामीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा सार्वजानिक गरेका छौ। भोलीको स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय तह गाउँपालिका र नगरपालिका कस्तो बनाउने भन्ने बारेमा स्पष्ठ खाका सहित हाम्रा सोचहरु अघि सरेका छौ।नेपाल र नेपाली जनतालाई सम्बृद्ध बनाउनको लागि स्मार्टसिटीदेखि गौशालासम्म अवधारणा अघि सरेका छौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भनेका बिगतदेखि नै नेपाली जनताले भरपर्ने, योग्य, क्षमतावान व्यक्तित्वहरु राप्रपाको नेतृत्वमा रहेको हुँदा जनताको जुन अभिमत र विश्वास अनुसार हामीले चुनाव जितेका प्रत्येक नगरपालिकालाई स्मार्टसिटी बनाउने सोच अघि सरेका छौ । हामीले चुनाव जितेको ठाउंमा कुनै  सामाजिक विभेद हुने छैन । हामीले चुनाव जितेको ठाउँमा एक घर एक रोजगार अभियान संचालन गरिनेछ । नागरिकको स्वास्थ्य र शिक्षा, खानेपानी र सरसफाई, सडक र बिजुली जस्ता आधारभूत आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर  योजनाहरु ल्याइनेछ । हाम्रो धर्म र संस्कृतिलाई केन्द्रबिन्दुमा राखेर ९४ प्रतिशत जनताको आस्था र बिश्वास रहेको हिन्दु राष्ट्र कायम गर्नुका साथै हामीले जनताको विश्वास जितेर हामीले दुई तिहाई बुहुमत ल्याएपछि यो देशमा सवैंधानिक राजतन्त्र स्थापित गछौं ।

२. पार्टीले जितेका सबै गाउँपालिका र नगरपालिकाका सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, पुस २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने घोषणा गर्नु सकारात्मक भए पनि चुनौतीपूर्ण पनि छ भन्छन् नि ?

यसो हेर्दा चुनौती पनि छ र अवसर पनि । नेपाली जनताको चाहना के हो भने हाम्रो नेपालीको पहिचान भनेको नै हामीलाई नेपाल र नेपाली बनाउने सष्टाको रुपमा पृथ्वीनारायण शाहलाई लिईन्छ। यदि पृथ्वीनारायण शाह थिएनन भने नेपालको एकीकरण पनि हुने थिएन र हामी नेपाली पनि हुने थिएनौ । आज जसले नेपाल र नेपाली बनायो त्यस्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई बिर्सने र उहाँको मान्यतालाई अपमान गर्ने किसिमको परिस्थिति आएकोले गर्दा जनताको आस्थामाथि  पनि चोट पुगेको छ । हामीले त्यो आस्थालाई पुनरावृति गरेर नेपाली जनताको चाहनालाई बुझेर त्यो आस्थालाई स्थापित गर्छौ । हामीले चुनाव जितेका हरेक अड्डा अफिसमा पृथ्वीनारायण शाहको फोटो राख्नेछौं र उहाँको सम्मान गर्नेछौं । यति मात्र होइन नेपाल अधिराज्यभरी नै पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने छौं ।

३. खासगरी धेरै जनताले भन्ने गर्छन राष्ट्रवादी पार्टी त राप्रपा नै हो तर यो अनुभूति राप्रपाले  जनतामा देखाउन नसकेको परिस्थिति हो ?

अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय पजातन्त्र पार्टी चौथो शक्तीको रुपमा स्थापित भएको छ । हामी भन्दा अरु ठूला दलहरु छन् । जुन दलीय सिण्डिकेटमा राखेर हामीलाई निधेष गर्ने काम भएको छ । त्यो कुरा नेपाली जनतालाई चित्त बुझेको छैन । बाह्य शक्तिको आड भरोषाबाट वाह्य शक्तिको इच्छा परिपूर्ति गर्न जुन दलहरु अग्रसर भएकोले गर्दा नेपाल र नेपाली जनताले दुःख पाए भन्ने कुरा जनताहरुमा धारणा अभिवृद्धि भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नै राष्ट्रवादी पार्टी हो । अब यो वैकल्पिक प्रजातान्त्रिक शक्तीको रुपमा स्थापित भएको हुँदा अव नेपाली जनताले भरपर्ने, योग्य, क्षमतावान व्यक्तित्वहरु राप्रपाको नेतृत्वमा रहेको हुँदा जनतालाई हामीले त्यस ढंगवाट अवको चुनावमा त्यो जनताको अभिमत र विश्वास लिएर हामी पहिलो शक्ति हुन्छौं भन्नेमा हामी लागेको छौं ।

४. नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ भन्ने अवधारणा अझपनि आम नेपालीमा भएपनि पुनः यसलाई स्थापित गर्न राप्रपा कसरी अघि बढी रहेको छ ?

नेपाल जुन वेलामा नेपालको यस्तो संरचना हो । जहाँको संरचनामा ९४ प्रतिशत ऊँकार परिवारमा छन् त्यसमध्ये ८२ प्रतिशत हिन्दु छन् ९ प्रतिशत बुद्धिष्ट छन् र ३ प्रतिशत किँरातीहरु छन् । यो तिनवटैको मिलाउँदा खेरी ९४ प्रतिशत हुन्छ । यो एक अर्कालाई हिन्दु भनेर आफुलाई परिभाषित गरेका छन् । यो हिन्दुत्वलाई कमजोर बनाउनको लागि देशी-विदेशी शक्तिहरु प्रयोग भए । यो भएकोले ९४ प्रतिशत जनताको आस्थालाई वेवास्ता गरेर धर्मनिरपेक्षता ल्याएकोले देश अस्तव्यस्त भयो र देशमा एउटा जुन विकास गरेर अगाडि गरेर बढ्नु  पर्थ्यो त्यो भएन । जुन हाम्रो राष्ट्रिय अखण्डताको विषयमा मजबुत भएर हामी जानुपर्ने थियो त्यसमाथि सांघातिक हमला भएको छ । हामी जातजातिहरुलाई विभाजन गर्ने काम भएको छ । धर्मनिरपेक्षता सहितको गणतन्त्र र संघीयताले  मुलुककलाई विकास गर्न नसक्ने रहेछ र मुलुकलाई अस्थिर बनाउने रहेछ । विदेशीहरुको भूमिका प्रमुख हुने रहेछ । नेपाली जनताहरु छायाँमा पार्ने रहेछन भन्ने कुराको अनुभूति हुन थालेको छ । अबको ९४ प्रतिशत जनताले आफ्नो अस्तित्वको लागि पनि अगाडि आउने छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको अवधारणालाई साथ दिनेछन् र सहयोग गर्नेछन् । हामी पुनः यो मुलुकलाई हिन्दु राष्ट्रको रुपमा स्थापित गर्नेछौं यो हाम्रो प्रतिवद्धता हो ।

५. अहिले गणतन्त्र र धर्मनिरपेक्षता कार्यान्वयन गराउने सरकारमा राप्रपा सहभागी भएको हो । राजतन्त्र, हिन्दूराज्यको नै अझपनि राप्रपाको मूल एजेन्डा हो भन्नुहुन्छ । बाग्मतीमा धेरै पनि बगिसक्यो पनि भन्छन् अब राप्रपाको एजेन्डा फेरि स्थापित गर्न कसरी अघि बढी रहेको छ ?

धेरै ठूलो भेल-बाढी आउँदाखेरी बडो हिम्मतका साथ म यो भेललाई पनि पार गर्छु भनेर त्यसमा घमण्ड गयो भने त्यसले बगाउँछ । जुन बेला भेल-बाढी आयो त्यो भेल-बाढीसँग हामी सतर्क भएर किनारामा बस्यौं त्यसलाई जान दियौं जुन यथास्थितिमा पुग्यो भनेको मतलव हिजोको जुन अवस्था थियो त्यो अवस्थामा हामीले हाम्रो एजेण्डालाई कायम नै राखेर हिंडेको भएपनि हामी त्यसलाई जनताको जुन किसिमको जनलहर थियो त्यसलाई च्यालेन्ज गर्ने स्थिति थिएन किनभने जनतालाई भ्रम पारेको थियो । त्यो भ्रमपूर्ण यथास्थितिमा जनता नआउञ्जेलसम्म हामीले गर्ने जुन काम थियो हामीले गयोैं । अब भेलबाढी गईसक्यो बरु खोलानाला शान्त भइसके । अब त्यहाँ हामीले पार गर्ने स्थिति भयो । अव जनताले हाम्रो कुरा सुन्ने अवस्था सिर्जना भएकोले हामीले दिएको एजेण्डा बुझ्ने अवस्था भयो । सबैले के कुरा बुझे भने हिजो त गलत नै भएको रहेछ । यत्रो  ९४ प्रतिशत जनतालाई धोका दिने, अपमान गर्ने, अविश्वास गर्ने, धर्मनिरपेक्षताको कुरा ल्याएर मुलकलाई विखण्डन गर्ने दिशातर्फ पो रहेछ भन्ने कुरा जनताले विस्तारै बुझ्न थालेको हुँदा हामीले अब गणतन्त्रलाई आलोचनात्मक रुपमा समर्थन गरेका छौं यसको मतलब के हो भने जुन दिनसम्म दुई तिहाइ बहुमत आउदैन त्यस दिनसम्म यो संविधान स्वीकार्छौं आलोचनात्मक रुपमा । जुन दिन हामीले बहुमत दुई तिहाइ ल्याउँछौं । त्यस दिन हामी यो बहुदलीय व्यस्था होइन सवैंधानिक राजतन्त्र हो मुलुकमा भनेर स्थापित गछौं । त्यसका निम्ति हामी संयमका साथै रणनीतिक रुपमा हामी अघि हिंडेका छौं र यसलाई गणतन्त्र नै स्वीकार गयो राप्रपाले सबै सिद्धान्त छोड्यो भन्ने भ्रम छ त्यो भ्रमलाई हाम्रो संगठनात्मक शक्तिबाट विचलन भएका हाम्रा विपक्षीहरुले गरेका प्रोपोगण्डालाई नेपाली जनताले सहज रुपमा बुझेका छन् । दिनप्रतिदिन हाम्रो आवश्यकता र हाम्रो औचित्यको विषयमा नजिकबाट पुष्टि गर्न थालेका छन् ।

६ . हिन्दूराज्यको आवाज चर्को स्वरमा सुनिए पनि राजतन्त्रको कुरा हिजोआज खासै सुन्नमा आएको छैन, राजतन्त्र बारेको तपाईंहरूको पछिल्लो धारणा के हो ?

हामीले हिन्दु राष्ट्रको मान्यताको विषयमा कुरा उठाउने वित्तिकै हिन्दु राष्ट्रको संरक्षण भनेको राजा हुन्छ । जब हिन्दुराष्ट्र कायम हुन्छ त्यहाँ राजाको आवश्यक स्वतस्फुर्त पर्छ । यो कुरा नेपालीहरुले राम्रोसँग बुझेका  छन् । तर भ्रम पार्नेहरुले के भन्छन् भने राप्रपा हिन्दुराष्ट्रको कुरा गर्छ राजाको कुरा गदैन है । एक थरीले विदेशी शक्तिसँग मिलेर हामीलाई राजावादीहरुसँग अलिकति टाढा पार्ने खेल खेलेका छन्  । त्यसले गर्दा अब त्यो भ्रम रहँदैन । हामीले उठाएको मुद्दा नेपाली जनताको मुद्दा हो र चाहना पनि  । हिन्दुराष्ट्र कायम हुनुपर्छ र संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने राप्रपाको मात्र मुद्दा नभई यो त अधिकांश नेपालीको मुद्दा हो । हामी यसलाई स्थापित गरेर छौड्छौं । सन् १६४९ मा यस्तै भ्रम फैलाई सस्ता कुराहरु गरेर बेलायतमा राजा चाल्स प्रथमलाई मारियो र गणतन्त्र स्थापना गरियो । गणतन्त्र स्थापना भएको ११ वर्ष नपुग्दै  बेलायत ध्वस्त हुने स्थितिमा पुग्यो । होइन गणतन्त्रले त हामीलाई जोगाउन होइन सिध्याउन ल्याएको रहेछ राजालाई यस किसिमबाट हटाएको रहेछ भन्ने कुरा  त्यहाँको जनतालाई अनुभूति भयो । त्यसो भए राजाको सन्तान कहाँ छ त भनेर खोजेर फ्रान्सबाट ल्याएर राजतन्त्र स्थापित गरियो । हामी कहाँ जुन ढंगबाट गणतन्त्र आयो त्यो जनताको अभिमत नलिइकन आयो । यसले स्थायित्व दिन सक्दैन । अन्ततोगत्वा  हिन्दुराष्ट्र र राजतन्त्र स्थापित नभईकन यो मुलुकको विकास हुन सक्दैन । मुलुकको समृद्धि हुँदैन । यो मान्यता राष्ट्रिय प्रजातन्त्रको पार्टीको मात्र नभई अधिकांश नेपाली जनताको हो । हामीले त्यसलाई एउटा पथप्रर्दशकको रुपमा  बोकेर हिंडेको हो । यसको हामी मालिक होइनौं । मालिक त जनता हो । जनताको कुरा लिएर हिंड्ने राप्रपा पार्टी मात्र हो । बाँकी सबैले जुन-जुन विषय उठाएतापनि विदेशीहरुसँगको कुनै न कुनै रुपको सहमति र सहकार्यबाट चलेका दलहरु छन् । त्यो मैले भनिरहनु पर्दैन । राष्ट्रवादी पार्टी राप्रपा, राप्रपा भनेको जनताको पार्टी हो ।

७. निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था एक पटक हटाउने निर्णय गरेतापनि पुनः कार्यान्वयन नगर्ने निर्णय गरेकोमा राप्रपा धारणा के छ ?

अहिले त मैले अगाडि पनि भनिसकेको छु । निर्वाचन आयोगले आफ्नो दायरा भन्दा बाहिर गयो । निर्वाचन आयोगले असंबैधानिक काम गर्यो जुन कुरो उसको बिषय नै होइन । निर्वाचन आयोगको काम भनेको निष्पक्ष, स्वतन्त्र रुपमा चुनाव गराउने हो । कुन दलको विधानमा के लेखिएको छ, त्यो विधान परिवर्तन गर्ने, त्यो विधानको एजेण्डाहरुलाई थपघट त्यो अधिकार उसको क्षेत्रभित्र पर्दैन । के लाग्यो भने राप्रपामाथि आक्रमण गयो भनेर त्यसको एजेण्डालाई निकालिदियो भने राप्रपा विद्रोहमा जान्छ हुन लागेको चुनाव चाहिँ भाडिन्छ भन्ने उद्देश्य अभिप्रेरित भएर गरिएको यो सुनियोजित षडयन्त्रबाट आएको परिणाम हो । हामीले के भन्यौ भने निर्वाचन आयोगको गठन गर्दा सिन्डीकेट सिष्टमबाट कांग्रेस,  एमाले र माओवादीको प्रतिनिनिधित्वबाट निर्माण भएको संरचना हो त्यो । अहिले कांग्रेस, एमाले र माओवादीको चुनाव हुनुपर्छ भन्ने प्रतिवद्धता छ भने उनीहरुले तय गरेको उनीहरुले जिम्मेवारी दिएको निर्वाचन आयोगले किन यो गैर -संवैधानिक काम गयो । यसको मतलब यो चुनाव होस भन्ने भित्री मनसाय छैन कि भन्ने पनि जनताले आकलन गर्न थालेका छन् । होइन भने काँग्रेसको र एमालेको विधानमा पनि प्रधानमन्त्रीय प्रणालीमा जाने भनेको छ । माओवादीको राष्ट्रपतीय प्रणालीमा जाने भन्ने छ । अहिलेको संविधान त त्यो छैन । संविधानको विरुद्धमा भयो उसलाई कारवाही गर्ने सक्ने किन उसले हिम्मत गरेन ।  हामीलाई किन गरेको भन्दा पूर्वाग्रही भएर यो विषय उठाएको हुँदा खेरी हामीले यो कुरो सच्चिनुपर्छ, यो गलत हो हामीले उठाएको मुद्दा ठीक र बेठिक भन्ने एक मात्र शक्ति भनेको जनता हो  । जनताले  यसलाई अस्वीकार गरे भने  हामी स्वीकार गर्न तयार छौं । यो निर्वाचन आयोग होइन । हामीलाई निर्देशन गर्ने अथवा हामीलाई यस विषयमा पाठ सिकाउने  निर्वाचन आयोगको क्षेत्राधिकार भन्दा बाहिरको कुरा हो ।

८. अव राप्रपा सरकारमा हुँदा त सजिलो भयो आफ्नो एजेण्डा निर्वाचन आयोगवाट फिर्ता ल्याउन नत्र भने त फलामको चिउरा जस्तै हुन्थ्यो भन्छन् नी ?

सरकारमा नभएको भए हामीलाई अनाधिकार गैरसंवैधानिक ढंगवाट गरेको ब्यबहारको विरुद्धमा रुपमा जनतामा जान्थ्यौं । कुनै पनि निर्वाचन प्रणालीमा जनता भनेको सर्वशक्तिमान हो । जनताले दिएको निर्णय अन्तिम हुन्छ । हामीलाई अन्याय भएको कुरा जनतालाई थाहा थियो किनभने हाम्रो एजेण्डा ८० प्रतिशत भन्दा बढी नेपालीको मन मुटुमा भएको थियो । यसलाई जनताले आफुमाथि भएको अन्यायको रुपमा लिएर सहन नसकी जनताहरु स्वत स्फुर्त असंख्य रुपमा सडकमा आउथे। धेरै नै ठुलो जनबिद्रोह हुन्थ्यो जसलाई थाम्न सरकारलाई हम्मेहम्मे नै पर्थ्यो ।

९. महाभूकम्पपछि अझसम्म पनि पर्यटनको प्रवर्धन त्यति उल्लेखनीय रुपमा हुन सकेको छैन भन्छन् नी ?

पर्यटन प्रवद्र्धन भनेको नेपालको पर्यटकीय दृष्टिकोणबाट एउटा आर्थिक मेरुदण्डको रुपमा पर्यटन मन्त्रालय लिइन्छ । म यहाँ आउनु भन्दा पहिला यहाँ धेरै विकृतिहरु रहेछ ।  बिदेशी प्रर्यटकहरु अन्तर्राष्ट्रिय विमानस्थलमा आउने वित्तिकै इम्प्रेसन बिग्रने स्थिति थियो । यो अवस्थामा  निराश हुने स्थिति थियो । ट्वाइलेटहरु अव्यवस्थित, जथाभावी  पसलहरु मनपरी किसिमले राखेको, इमिरीगेशनले त्यस्तै दुःख दिने जस्ता कुराहरु थिए । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप थिएन । एउटा एग्रिमेन्ट एउटा गर्ने काम अर्को गर्ने, पेसेन्सजरका झोला झ्याम्टाहरु गायब हुने जस्ता किसिमका व्यवहार देखिएको थिए । पहिलो चरणमा मेरो ध्यानाकर्षण  त्यसतर्फ भयो । त्यसलाई सुधार्नको लागि १२ बुँदे निर्देशन दिएको छु । अब प्लेन ल्याण्ड गर्छ विदेशी पाहुनाहरु ट्याक्सी पार्कसम्म नपुग्दासम्म कस्तो व्यवहार गर्नुपर्छ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार  उनीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो सहयोग उपलब्ध गराउनको लागि २५ जना केटा र २५ जना केटी परफ्फेक्ट अंग्रेजी जान्नेलाई नियुक्ति गर्ने र  पूर्ण रुपमा उनीहरुलाई केको आवश्यकता छ, इमिरिग्रेशनमा केहि समस्या भएमा उनीहरुलाई सहयोग गर्नेछन । टुरिष्टलाई नेपाली संस्कृतिमा आधारित हाम्रो चरित्रलाई प्रदर्शन गर्ने एउटा मौका पनि हो । हाम्रो मूल्य मान्यता नेपालको संस्कृति कति राम्रो रहेछ भन्ने कुरा विदेशीहरुलाई हाम्रा व्यवहारहरुले प्रस्तुत गर्न सक्यौं भने फर्केर जाने बेलामा त्यस्तै किसिमको व्यवहार पाउँछौं । दोस्रो नम्बरमा अव्यवस्थित रुपमा रहेका पसलहरुलाई व्यवस्थित गर्न निर्देशन दिएको छु भने तेस्रो कुरा अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै राम्रोसँग सञ्चालन गर्नुपर्छ भनेर निर्देशन दिएको छु । डोमेस्टिक फ्लाइट तोकिएको समयमा हुनुपर्छ त्यसमा कुनै कमी कमजोरी हुनुहुदैन भनेर निर्देशन दिएको छु । पार्किङको व्यवस्था राम्रो हुनुपर्छ भनेर निर्देशन दिएको छु र ट्राफिकको पार्किङको व्यस्थाका लागि हेलिकप्टर जहाँ राखिएको छ त्यसलाई दक्षिणतर्फ सारेर त्यो ठाउँलाई खुला राखेर व्यवस्थाका लागि निर्देशन दिएको छु । त्यस्तै बाहिर आउने वित्तिकै देखिने होडिङबोर्ड हटाएर ठूल-ठूलो स्क्रिन बोर्ड राखेर नेपालको महत्वपूर्ण स्थानहरु कुन कुन हुन् भन्ने बारेमा  त्यही स्क्रिनबाट देखिने बोर्ड राख्ने निर्देशन दिएको छु । कुन ठाउँमा जाँदा कति भाडा लाग्ने भाडादर लिष्ट समेत देखाउने । कष्टमरसँग भाडाको बार्गेनिङ गर्न नपाइने, ट्याक्सीहरुलाई क्यु सिष्टमबाट चलाउने, अन्तर्राष्ट्रिय र डोमेष्टिक एयरपोर्ट एकै ठाउँमा भएको हुनाले काभ्रेमा भएको डोमेष्टिक एयरपोर्टको सम्भाव्यता तुरुन्तै अध्ययन गर्ने, डोमेष्टिक एयरपोर्टलाई काभ्रेमा सार्ने र त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय बिमान स्थलको रुपमा बिकसित गर्ने मैले निर्देशन दिएको छु । त्यस्तै लुम्बिनी विकासको लागि पनि मैले निर्देशन दिएको छ । त्यहाँ पनि यस्तै किमिसको भद्रगोल रहेछ । त्यसलाई सुधार्न पनि धार्मिक पर्यटक आउने, त्यो इण्डियाबाट आउने उनिहरु एकैदिन फर्किने भएकोले त्यसलाई सुधार गर्न जुन नाकाबाट नेपाल आउँछन् लुम्बिनी दर्शन गर्ने तीर्थालुहरु । उनीहरु नेपालको सेन्ट्रल नाकाबाट आउने व्यवस्था मिलाउने निर्देशन दिएको छु । यो गौतम बुद्धको मन्दिर छ त्यहाँ बुद्ध जन्मेको रहेछ त्यो अनुभूति  उनीहरुलाई होस् । त्यहाँको फोहोर मैला हटाउन तुरुन्त निर्देशन दिएको छु । तपाईहरु सक्नुहुन्छ भने एक महिनाभित्र क्लियर गर्नुहोस् होइन भने तुरुन्त राजिनामा दिनुहोस् भन्ने निर्देशन दिएको छु । गौतम बुद्ध जन्मेको स्थानलाई दुर्गन्धित गरेर जागिर खान पठाएको होइन । त्यस्तै गरी पशुपति विकास कोषमा व्यापक किसिमको सुधारको कुराहरु छन् निकै राम्रो प्रगति भएको छ । त्यो पर्याप्त छैन त्यहाँ पनि अलिकति अगाडि बढाउनुहोस् । त्यहाँ पनि विभिन्न खेलहरु भएका रहेछन् त्यो खेल हिन्दुधर्मको विरुद्धमा हो । नेपालीहरुका आराध्यदेव हुन् । जसको दर्शन गर्न नगरिकन चारधाम तीर्थ गरेपनि पशुपतिनाथको दर्शन नगरे पुरा हुँदैन । केदारनाथको शिर चाहि डोलेश्वर महादेव हुन्  भन्ने भ्रम पारिएको छ ।  शिव पुराणमा के भनिएको छ भने केदारनाथको शिर भनेको पशुपतिनाथ हो । वेदमा पनि भनिएको छ । वेद भन्दा ठूलो शास्त्र नै यो विश्व व्रह्माण्डमा कुनै छैन । यसरी पशुपतिलाई छायामाँ पार्ने उद्देश्यबाट विदेशीले खेलेको खेल हो । यो गलत हो । डोलेश्वरलाई विकास गर्नुपर्छ सम्मान गर्नुपर्छ तर केदारनाथको शिर पशुपतिनाथ नै हो डोलेश्वर होइन । पर्यटन बोर्डबाट पर्यटन दुतको रुपमा विदेशमा राख्ने प्रचलन रहेछ त्यसलाई मैले तुरुन्त बन्द गरिदिएको छु । त्यसको मापदण्ड बनाउनुहोस् । मापदण्ड बनाएर कस्तो व्यक्ति पर्यटन दुत  हुँदाखेरी देशको बेइज्जत हुन्छ । कर्मचारीहरुलाई पनि मैले के भनेको छु भने तपाईहरु बहुदलीय व्यवस्थाबाट आएका आफ्नो आस्था राख्न पाइन्छ । तर हरेक समयमा राजनीतिक रुपमा आस्थालाई प्रयोग गर्नुभयो भने दुःख पाइन्छ ।   दुईटै शक्ति कर्मचारीतन्त्र र राजनीतिक  कार्यकर्ता एउटै रथका दुई पांग्रा हुन । यसलाई एउटै टिम बनाएर जानुपर्छ । मैले चन्द्रागिरीमा गएर हेरें । पर्यटकीय दृष्टिले आकर्षक पाएँ । त्यस्तै पर्यटकीय दृष्टिले नगरकोट अर्को आकर्षक छ । हाम्रो नौ-नौ महिनामा सरकार फेरिन्छ । यसले गर्दा  यी दुईलाई पर्यटकीय क्षेत्र घोषणा गर्न जाँदैछु । हाम्रो समय यस्तै छ । त्यसले गर्दा भोलीको आउने थाहा छैन । अहिले जे जति मठ मन्दिर छन् त्यसलाई व्यवस्थित गर्न खोजेको छु  रयसलाई औपचारिक रुपमा भन्दा पनि यसलाई आस्थाको रुपमा  हेर्नुपर्छ ।

१०.  मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका योजनाहरुको बार्षिक प्रगति विवरण सन्तोषजनक छैन भन्ने सुन्नमा आएको छ नी ?

सबै ठाउँमा राजनीतिकरण भएको छ । राजनीतिकरणले विकासलाई नराम्रो घाइते बनाएको छ । त्यो घाइते हुनुमा वेथिति, कुनै नियम कानुन नमान्नु, मनपरीतन्त्र व्यापक भएको छ । चाँडै नै हामीले कमीकमजोरीलाई नियमावलीको कारणले होकि त्यसलाई सुधारेर व्यक्तिको कारणले गर्दा असक्षमताको कारणले भएको भए त्यसलाई परिवर्तन गर्ने, राइट म्यान राइट प्यालेसको अधारबाट अगाडि हिंड्नुपर्छ । त्यो ढङ्गबाट एउटा बलियो टिम भयो भने काम गर्नलाई असहज हुन्छ भन्ने लागेको छु ।

११ . कलाकारहरु राष्ट्रका गहना भएपनि अझसम्म सरकारले उनीहरुलाई संरक्षण गर्न किन नसकेको होला ?

यो विषय पनि गम्भिर रुपमा छलफल भइरहेको छ । कला, साहित्य, नाट्यको विषयमा प्रज्ञा–प्रतिष्ठानको विषयमा विभिन्न प्रतिष्ठानहरुको विषयमा हाम्रो ध्यान त्यतातिर गएको छ । कलाकार भनेको मुलुकमा राष्ट्रिय अन्तर्राष्टिय क्षेत्रमा मुलुकको अवस्था चित्रण गरेर पहिचान गर्ने  प्रतिभा हुन् । उनीहरुलाई कुनै प्रकारले असहज वातावरण बनाइदिनु हुन्न । ती प्रतिभाहरुको सम्मान गर्नुपर्छ । उनीहरुको आवश्यकतालाई परिपूर्ति गरिदिनुपर्छ भन्ने कुरा अगाडि बढाएको छु ।  नाट्य क्षेत्रका विज्ञहरु, साहित्य क्षेत्रका विज्ञहरु, संकृति क्षेत्रका विज्ञहरु सबैसँग बसेर सबैको आवश्यक र एकता कायम गरी राज्यले दिनुपर्ने सुविधा दिने बारेमा  छलफल भई रहेको छ ।

१२. अन्त्यमा छुटेका र भन्न मन लागेका केहि कुरा भएमा साइन्स इन्फोटेक मार्फत के भन्न चाहनुहुन्छ ?

अहिले चुनाव संघारमा आई पुगेको छ । नेपाली जनताहरुलाई वहाँहरुको अमूल्य मतले यो राष्ट्र विकास गर्ने कि विनास गर्ने भन्ने निर्णय गर्दछ । यो मतले त्यो मतको दुरुपयोग भयो राष्ट्रको विनास हुन्छ । मतको सदुपयोग भयो भने राष्ट्रको विकास हुन्छ । यो राष्ट्रलाई निर्माण गर्न समृद्ध राष्ट्र बनाउनको लागि उहाँहरुको मतको सहि सदुपयोग गरि दिनुहुन आग्रह गर्दछु । फेरि भविष्यमा यो मुलुकको अस्थितरता, अन्यौलता, गरिबी, भ्रष्टाचार, महंगी पीडा नेपाली जनताले भोग्नु नपरोस् । किनभने उहाँहरुको त्यो अमुल्य मतले यो राष्ट्रको विकास गर्नेकि विनास गर्ने भन्ने भविष्य निर्धारण गर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!