राष्ट्रिय समाचारसमाचार

आईएईएका अधिकारीहरु काठमाडौँमा, परमाणुको शान्तिपूर्ण एवं सुरक्षित उपयोगमा जोड

२४ मङ्सिर, काठमाडौँ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कार्यशालामा आज उहाँहरूले परमाणु प्रविधिको सुरक्षित उपयोगले विकासका लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा विज्ञहरूले जोड दिनुभएको छ ।

परमाणु प्रविधिको सुरक्षित प्रयोगका साथै प्रचलित अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि लगायत विषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । सरकारले विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरी सङ्घीय संसद सचिवालयमा टेबल गर्ने तयारी गरेको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न पनि सो ऐन ल्याउनुपर्ने बाध्यता छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव कृष्णराज विसीले नेपाल परमाणु सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भइसकेको उल्लेख गर्दै ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ल्याउने तयारी अघि बढेको जानकारी दिनुभयो । उहाँले विधेयक पारित भएसँगै स्वास्थ्य, कृषि, उद्योग लगायत क्षेत्रमा परमाणु प्रविधिको प्रयोग सहज रूपमा बढाउन सकिने बताउँदै सो कार्यमा एजेन्सीको निरन्तर सहयोगका अपेक्षा पनि गर्नुभयो ।

मन्त्रालयका सहसचिव एवं पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख ऋषिराज कोइरालाले परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोगका संभावनामाथि प्रकाश पार्दै कार्यशालाबाट यस क्षेत्रमा भइरहेको नयाँ प्रविधि र ज्ञानको आदान प्रदान हुने बताउनुभयो । मन्त्रालयका अर्का सहसचिव दिपेन्द्र काफ्लेले कार्यशालामा सम्बन्धित क्षेत्रका विज्ञसँगको अन्तरक्रियाबाट परमाणु प्रविधिको सुरक्षित उपयोगका साथै सुरक्षित प्रयोग नगर्दा हुने असरको न्यूनीकरण बारेमा समेत जानकारी हासिल हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका संयोजक शोता कामिसिमाले परमाणु प्रविधिको विश्वभर भइरहेको प्रयोगका सम्बन्धमा प्रस्तुती दिँदै एजेन्सीले गरिरहेको कामका बारेमा प्रकाश पार्नुभयो । उहाँले नेपालजस्ता आईएईएको सदस्यता लिएका मुलुकले विज्ञान र प्रविधिको प्रयोगमा सहभागिता बढाउन पारमाणविक ऊर्जाको सही उपयोग जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बोेल्दै आईएईएका कार्यक्रम व्यवस्थापन अधिकृत माईकेई कुरिचुकीले खाद्य तथा कृषि, जनस्वास्थ्य, प्रविधि तथा उद्योग, जलस्रोत र पर्यावरण संरक्षणमा पारमाणविक वा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग बढाउनुपर्ने सुझाएका छन् ।

सन् १९५६ मा जारी भएको आईएईएमा नेपालले सन् २००८ मा हस्ताक्षर गरि सदस्यता लिइसकेको छ । सन् २००८ मा नेपालले परमाणु नीति समेत बनाइसकेको छ । सन् १९५५ पछि भने पारमाणविक पदार्थको शान्तिपुर्ण विधिले जनस्वास्थ्य उत्पादनमुलक कार्यमा उपयोगबारे छलफल शुरु भएको थियो । त्यसको एक वर्षपछि १९५६ मा संयुक्त राष्ट्र संघको एउटा इकाईको रुपमा आईएईएको स्थापना भएको थियो ।

कानुनको अभावमा नेपालले धेरै क्षेत्रमा परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सकेको छैन । यस सम्बन्धी ऐन बनेपछि प्रयोग बढाउन सहज हुने र प्रयोगका क्षेत्रमा नियमन गर्न छुट्टै निकाय गठन गर्न सकिने छ । कृषिको उत्पादकत्व बढाउन, अनुसन्धान गर्न, खाद्यान्नलाई सुरक्षित राख्न, खानी पत्ता लगाउन, पूर्वाधार निर्माणमा सहजताका लागि पनि परमाणु प्रविधिको प्रयोग गर्न सकिने यस क्षेत्रका जानकारको भनाइ छ ।

परमाणुको सुरक्षित प्रयोग नभए घातक रोग लाग्ने, स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर हुन्छ भने आणविक हतियारको रूपमा पनि यसको दुरुपयोग हुने गरेको छ । नेपालमा हाल कार्यविधिको आधारमा परमाणु प्रविधिको प्रयोग गरिँदै आएको छ । दुई दिनसम्म चल्ने कार्यशालामा सम्बन्धित क्षेत्रमा विज्ञ, विभिन्न मन्त्रालयका अधिकारी, चिकित्सक लगायतको सहभागिता छ ।

आईएईएको स्थापना अघिसम्म पारमाणविक पदार्थको प्रयोग घातक हतियार बनाउन बढी गरिन्थ्यो । जापानको हिरोसिमा र नागासाकीमा सन् १९४५ को अगस्ट ६ र ९ मा खसालिएका परमाणु बमबाट लाखौंको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

हाइड्रोजन बम (Hydrogen Bomb) भनेको के हो ?

युरेनियमका गुणहरु र दोषहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!