कृषि

किवि खेती

किवि खेती
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ ।
यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । ‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमुलक फल हो । एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो । नेपालमा अहिले विदेशी किवि ६०० प्रति किलो र नेपाली किवि ४०० प्रति किलोमा विक्रि भइरहेको छ । मलेसियाको डि.एन.एक्स. कम्पनिका अनुसार आधा टुक्रा किवि फलमा प्रशस्त भिटामिन सी को साथमा १७ वटा स्याउ, ८ वटा केरा, ४ वटा कागती र २ वटा सुन्तलाले दिने जति पौष्टिक तत्व दिन सक्छ ।
उपयोग
एउटै किवि फलको दानामा १२ किसिमको फलफूलको स्वाद र १७ किसिमको भिटामिनहरुले भरिपूर्ण भएको स्वादिलो यो फल मानव स्वास्थ्यको लागि पनि महत्वपूर्ण छ । यसको नियमित सेवनबाट मुटुरोग, क्यान्सर, दम, अल्सर, डाइविटिज, ब्लड प्रेसर एवम आँखा र छाला सम्बन्धि रोगहरु उपचार गर्न मदत पु¥याँउदछ । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ ।
उत्पादन
बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ । अझ विदेशमा त एउटै विरुवाले १५० देखि २०० किलो सम्म किवि फल उत्पादन गरेको पाइन्छ । यो फल कुखुराको अण्डा भन्दा केहि ठूलो आकारमा फल्ने गर्दछ ।
वातावरण
यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, बैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवि राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस विरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।
विश्व इतिहास
२० औँ शताब्दिको सुरुवातितिर चीनमा फेला परेको किवि त्यसपछि भारत, जापान, न्यूजील्याण्डमा सन् १९०७ मा परिक्षण स्वरुप लगाइएको थियो । उक्त विरुवाले सन् १९१० देखि फल दिन थालेपछि सन् १९३७ देखि व्यावसायिक खेती सुरु गरिएको थियो । किवि चरा जस्तै देखिने भएकोले सन् १९५९ मा किवि फल भनेर नामकरण गरिएको यो फललाई नेपालीमा ठेकी फल पनि भन्ने गरिन्छ ।
नेपालमा किवि
नेपालको ४० जिल्लामा यो फल लगाउन सकिने अनुमान गरिए पनि हाल १० वटा जिल्लामा यसको खेती सुरु गरिएको छ । ति मध्ये पनि दोलखा किविको स्रोत जिल्ला हो । दोलखाको बोच स्थित बागवाणी फार्ममा १४ वर्ष अगाडिबाट किवि लगाइएको थियो । दोलखाकै श्याम खड्का निजी क्षेत्रका नेपालकै पहिलो किवि कृषक हुन् । दोलखाकै पवटीमा तारा बहादुर कोइराला र लापिलाङ्ग गाविस निवासी राजेश भुजेलले पनि कञ्चन किवि फार्म स्थापना गरी किविको खेती सुरुवात गरेका छन् । अहिले दोलखाका विभिन्न कृषकहरुले परिक्षणको लागि किविको केहि विरुवा लगाएका छन् । छिमेकि जिल्ला रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पनि किवि फलको व्यावसायिक खेति सुरु गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!