धर्म-सस्कृति

पीपलसँग सम्बन्धित धार्मिक विधानहरू

हिन्दू धर्मले पशुपक्षी, वृक्षवनस्पतिमाथि समेत श्रद्धाभाव राख्दछ । हिन्दू धर्ममा पीपललाई देव वृक्ष अर्थात् देवताहरूको रुख मानिएको छ । स्कन्द पुराणमा भनिए अनुसार पीपलको बोटमा देवीदेवताहरूको वास हुन्छ । पीपल भगवान् विष्णुको जीवन्त एवं पूर्णतः मूर्तिमान स्वरूप हो । गीतामा कृष्णले भनेका पनि छन्- वृक्षहरूमा म पीपल हुँ । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ ।

ज्योतिषशास्त्रमा पीपललाई गुरु अर्थात् बृहस्पति ग्रहको कारक मानिएको छ । त्यसैले चिनामा बृहस्पतिको स्थिति अशुभ छ भने पीपलको पूजा, अर्चना गर्नुपर्छ । शनिग्रहको दशा शान्तिका लागि पीपलको बुटा तल सस्र्यूंको तेलमा बत्ती बालिदिने चलन पनि छ । पीपलसँग सम्बन्धित केही धार्मिक विधानहरू निम्न छन्-

१. होलिका दहनभन्दा पहिले कुनै सघन पीपलको बुटोलाई एघार पटक उल्टो परिक्रमा गरी त्यसमा काँचो धागो लपेट्ने । पछि सस्र्यूंको तेलमा बत्ती बालेर पीपलका बुटामुनि छाडी चूपचाप घरतिर फर्किने । होलिका दहनका बेला अग्निको एघार पटक प्रदक्षिणा समेत गर्ने । कुनै पनि दुष्कर्मको प्रायश्चित्तका लागि यसलाई अत्युत्तम उपाय मानिएको छ ।

२. प्रत्येक शनिवार पीपलको प्वाल नपरेको एउटा सग्लो पातलाई आफूले पूजा गर्ने ठाउँमा वा पैसा राख्ने भाँडामा राखिदिने । अर्को शनिवार अघिल्लो पात शुद्ध ठाउँमा सेलाइदिने र अर्को नयाँ पात राख्ने । यसो गर्नाले धनलाभ हुन थाल्छ ।

३. पीपलका सुकेका समिधा प्रयोग गरेर हवन गर्नाले विभिन्न कष्टबाट छुटकारा पाइन्छ ।

४. मङ्गलबार र शनिबारका दिन पीपलको पातमा ‘राम’ लेखेर त्यसमा मिठाईको नैवेद्य अर्पण गर्ने र त्यो हनुमानजीलाई चढाउने हो भने मनका सकारात्मक कामनाहरू पूर्ण हुन्छन् ।

५. काँचो धागोलाई बेसारमा रङ्गाएर झम्म परेको पीपलको बुटोमा लपेटिदिने हो भने बृहस्पतिबाट उत्पन्न दोषहरू निवारण हुन्छन् ।

६. नुहाइसकेपछि हरेक दिन पीपलको बुटोमा जल चढाउनाले अतृप्त आत्माहरूको प्यास मेटिन्छ ।

७. यदि कन्याको चिनामा वैधव्य वा यस्तै नराम्रो योग छ भने ती कन्याले शुद्ध भएर पीपलको तल गोबरले लिप्ने, एउटा माटोको दियोमा गाईको घिउ राखी बत्ती बालिदिने, सेतो काँचो धागोले पीपललाई लपेटिदिने, पीपलको १०८ पटक परिक्रमा गर्दै ‘ॐ श्रीलक्ष्मीनारायणाभ्यां नमः’ मन्त्रको जप गर्ने । यसो गर्नाले अशुभ दोष निवारण हुन्छ ।

८. पीपलको तल शिवजीको प्रतिमा (मूर्ति) राखेर हरेक दिन धूप, दीप, नैवेद्य आदिद्वारा पूजा गर्दै ‘ॐ शिवाय नमः’ मन्त्रको जप गर्ने हो भने सुखशान्ति र धनवृद्धि हुन्छ ।

९. चिनामा शनिदोषका कारण जस्तोसुकै दशा भए पनि शनिबारका दिन पीपलको पूजा गरेर यसको तल बसी १०८ पटक ‘ॐ शं शनैश्चराय नमः’ मन्त्रको जप गर्ने हो भने कष्ट निवारण हुन्छ ।

१०. शनिबार र मङ्गलबार हनुमत् सहस्रनाम अथवा हनुमान् चालीसा पाठ गर्दै पीपलको प्रदक्षिणा गर्ने हो भने सबै किसिमका कष्टबाट निवृत्ति हुन्छ ।

यो पनि पढ्नुहोस्

पीपलको धार्मिक महत्व

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

औषधिको रुपमा पीपलको पातको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!