स्वास्थ्यहेल्थ टिप्स

मानिसको शरीरमा खोप किन दिइन्छ ?

खोप भनेको प्रायः जसो सुईबाट लगाइने विशेष खालको औषधी हो, जसले जुन किटाणु विरुद्ध खोप लगाईन्छ त्यो किटाणु अन्य मानिसबाट खोप लगाएको मानिसमा सर्नबाट रोक्छ । खोप दिनु भनेको शरीरको प्रतिरोधात्मक क्षमता विकास गर्नु हो । शिशु जन्मेको ५ वर्ष नपुग्दै उसलाई विभिन्न थरिका खोपहरु लगाइन्छन् । पोलियो, हेपाटाइटिस, दादुरा आदिजस्ता रोगका खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । विशेषगरी खोप दिँदा रोग सम्वन्धीत भाइरस वा ब्याक्टेरिया नै शरीरभित्र पसाइन्छ । शिशु अवस्थामा नै खोप मार्फत यस्ता किटाणुहरु शरीरमा प्रवेश गराइएको खण्डमा शरीरमा सम्वन्धीत रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बढ्नाले भविष्यमा पनि रोग लगाउने किटाणु शरीरभित्र पसेमा केहि नकारात्मक असर विना नै त्यसको प्रतिरोध हुने स्थिति कायम हुन्छ ।

मानिस जन्मिँदा ऊसँग निश्चित प्रकारका रोगहरुविरुद्ध मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक तत्व उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन् । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन् । त्यस्तै, अन्य कैयौ रोगविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमा मार्फत प्राप्त हुँदैनन् । त्यसैले भविष्यमा लाग्न सक्ने रोगविरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खास-खास रोगका खोपहरु दिइन्छन् । खोपले नवजात शिशुको उच्च मृत्युका महत्वपूर्ण कारकका रुपमा रहेका दादुरा, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, क्षयरोग लगायत प्राणघातक सरुवा रोगमा उल्लेखनीय कमी ल्याएको छ । नेपालबाट सन् २०१५ देखि पोलियो उन्मूलन भइसकेको छ र दादुरा पनि सन् २०१९ सम्ममा निर्मूल हुने अवस्थामा आइसकेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!