कृषि

कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी अनुचित

काठमाडौं, २२ असार, बिहीबार । कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको विरोध गरिएको छ । काठमाडौमा बिहीबार राष्ट्रिय किसान आयोगले गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँने र विदेशी लगानी भित्रयाउँनै हुन्न भन्नेहरुका कारण देश नै बन्धक बनाउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताले कृषिको प्राथमिक तहमा प्रत्येक्ष वैदेशिक लगानी (एफडीआई) कुनै पनि बहानामा भित्र्याउन नदिने बताएका छन् । कृषि विज्ञले पनि नेताको अडानमा समर्थन जनाएका छन्। कृषिमा प्रत्यक्ष वैदेशिक लगानी विषयक गोष्ठीमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र नेकपा एमालेका नेता केशव बडालले राष्ट्रिय हित, किसानको सम्मान र मौलिक पहिचानमा आँच आउने गरी वैदेशिक लगानी भित्र्याउन नहुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । उनले भने ‘नेपालको ऐन र कानुन अनुसारमात्रै लगानी भित्रयाउनु ठिक हुन्छ, ऐन कानुनविपरित लगानी भित्रयाउनुको कुनै अर्थ छैन ।’ पुर्व प्रधानमनत्री समेत रहेका अध्यक्ष प्रचण्डले विदेशी लगानी भित्रयाउनुअघि राजनीतिक स्थायित्व हुनु अनिवार्य रहेको बताए । उनले शान्ति र स्थिरता भए लगानीकर्ताहरु आफै लगानी गर्ने ठाउँ खोज्दै नेपालमा आउने भन्दै त्यसका लागि सवैको ध्यान राजनीतिक स्थायित्वतर्फ जानुपर्ने बताए । उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन कार्यक्रम ल्याएको र त्यसलाई कार्यन्वयन गर्न सके धेरै किसानलाई राहात पुग्ने पनि बताए ।

राजनीतिक द्वन्द्वका कारण नेपालको कृषि क्षेत्रपछि परेको स्वीकार गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वहुराष्ट्रिय कम्पनीको दास बनाउने उद्देश्यले कुनै पनि बहानामा कृषिमा वैदेशिक लगानी भित्र्याउन नपाइने बताउनुभयो । कोइरालाले पछिल्लो समयमा नेपालमा भित्रँदै गरेको वैदेशिक लगानीबारे सूक्ष्मरूपमा अनुगमन गर्नुपर्ने समय आएको बताउनुभयो । ‘कृषिको प्राथमिक उत्पादन तहमा वैदेशिक लगानी भित्र्याउन नदिने विषयमा हामी सबै राजनीतिक दलको एउटै धारणा छ’, कोइरालाले भन्नुभयो, ‘प्रशोधन, उद्योग तथा भौतिक पूर्वाधारमा लगानी गर्ने भनिए पनि निकै सचेत भएर बन्देज राखेर मात्रै लगानी भित्र्याउनुपर्छ ।’

नेकपा एमालेका नेता केशव बडालले वैदेशिक लगानी भित्र्याउन मरिहत्ते गर्ने कर्मचारीतन्त्रले स्वदेशी लगानीका उद्योगलाई संरक्षण नगरेको आरोप लगाउनुभयो । ‘नेपालको कृषिको प्राथमिक तहमा लगानी ल्याउन पाइँदैन । कृषिजन्य वस्तुको प्रशोधन, उद्योग र भौतिक पूर्वाधारमा लगानी भित्र्याउने व्यवस्था भए पनि पर्याप्त उत्पादन नहुने अवस्थामा यस्ता क्षेत्रमा लगानी भित्र्याउनुको अर्थ छैन्’, बडालले भन्नुभयो । उहाँले कृषि र पशुपन्छी जन्य केही वस्तुमा आत्मनिर्भर भएको मुलुकमा वैदेशिक लगानी भित्र्याएर त्यस्ता क्षेत्रलाई धराशायी बनाउन कर्मचारीतन्त्र लागेको आरोप लगाउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!