राजनीति

चिनीयाँ राष्ट्रपतिलाई नेपाल ल्याउन प्रधानमन्त्रीले ब्रिक्स सम्मेलनलाई उपयोग गर्नुपर्छ-पराष्ट्रविद्हरु

काठमाडौं,  असोज २७। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पराष्ट्रविद्हरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा भाग लिन जाँदा चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँग हुने भेटलाई अवसरको रुपमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् ।

साक्षात्कारमा बोल्दै परराष्ट्र मन्त्रालयका भुतपूर्व सचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालमा स्थाई प्रतिनिधि समेत भैसकेका मधुरमण आचार्यले ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चीनीयाँ राष्ट्रपति सिलाई भ्रमणको बारेमा स्पष्ट पार्न सक्नुपर्ने बताएका हुन् ।  साक्षात्कामा बोल्दै उनले दक्षिण एशियालाई कनेक्टिभिटीमा जोड दिनको लागि व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट विशेष कुरा राख्न सक्नुपर्ने सुझाव समेत दिए । उनले नेपाल सार्क र विमस्टेक दुवैको अध्यक्ष राष्ट्र भएकोले व्रिक्स सम्मेलनमा भाग लिन पाउनु अवसरको रुपमा चित्रण गरे ।

त्यस्तै पूर्वराजदुत डा. शंकर शर्माले पछिल्लो समय नेपालको पराष्ट्र नीति सन्तुलित नभएको भन्ने आंशकाहरु पैदा भएको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्रीले चीनीयाँ राष्ट्रपतिलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । उनले भने,‘हामी सन्तुलित नीतिमा कहाँनिर चुकेको छौं ? यसबारेमा पनि हामीले ध्यान दिनुपर्छ, नेपाल कसैको लागि पनि प्लेग्राउण्ड बन्नुहुँदेन ।’

कार्यक्रममा अर्का पराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले आठौं व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउँदै भने,‘यो ठूलो अवसर हो, व्रिक्स आँफैमा मल्टिल्याटरल फोरम हो, झन यसपटक त सार्क सम्मेलन स्थगित भएको अवस्थामा सार्कका पाँच सदस्य राष्ट्रका प्रमुखहरु समेत आउँदैछन्, यसबारेमा समेत कुरा गर्नको लागि उपर्युत्त अवसर छ ।’

त्यस्तै पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित् हुनुमा नेपाल सरकार असफल भएको आरोप लगाएका छन् । उनले भने,‘यो व्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री प्रचण्डको चीनीयाँ राष्ट्रपतिसँग भेट हुन्छ, उहाँको नेपाल भ्रमणको लागि फेरि पहल गर्नुपर्छ ।’ उनले पछिल्लो समय नेपालको पराष्ट्र नीति एकातिरमात्रै लहसिएको आरोप लगाए । उनले व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री भाग लिन जानु अवसर भएको टिप्पणी गरे । उनले भने,‘व्रिक्समा आर्थिक साझेदारीदेखि अन्य कुराहरुमा समेत महत्वपूर्ण मानिएको छ ।’

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!