लेखहरुस्वास्थ्य

पिनासको दोहोलो

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन । यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ

पिनासका प्रकारहरु

नास तीव्र पिनास, मध्यम पिनास र जीर्ण पिनास र आवर्तक तीव्र पिनास गरी चार प्रकारका हुन्छन् ।

१. तीव्र पिनास

पिनास ग्रन्थीहरूएकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफै ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।

२. मध्यम पिनास

चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ।

३. जीर्ण पिनास

१२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ ।

४. आवर्तक तीव्र पिनास

लामो एक वर्षमा चार वा धेरै पटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ ।

पिनासका कारणहरू

१. एलर्जी ।

२. नाकमा मासु पलाउनु ।

३.नाकको हड्डी बाङ्गिनु ।

४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।

५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण ।

६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।

७. ब्याक्टेरिया : स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएस ।

८. ढुसीको सङ्क्रमण : कमजोर प्रतिरक्षा प्रणाली, जस्तै ः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।

९. रसायनहरूको गन्ध : तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।

पिनासका लक्षणहरू

१. रुघा लाग्नु ।

२. टाउको भारी भएर दुख्नु ।

३. पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।

४. स्वर परिवर्तित हुनु ।

५.  नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।

६. दाँत दुख्नु ।

७. गन्धग्रहण शक्ति कमजोर हुने ।

८. स्वाद ग्रहण शक्ति कमजोर हुने ।

९. आउने ।

१०.  बेचैनी बढ्नु ।

११. नाक बुझिनु ।

१२. नाकबाट सिंगान बग्नु ।

१३. घाँटी खसखसाउनु ।

१४. थकान ।

१५. श्वास गन्हाउने ।

१७. हाच्छुयु आउने ।

१८. अनुहार सुन्निने ।

पिनासको निदान विधि

१. रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वास प्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ ।

२. एक्स–रे : एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ ।

३. सिटी स्क्यान : सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।

४. एमआरआई : यो सिटी स्क्यान र एक्स–रे भन्दा पनि उत्तम खालको निधान पद्दति हो ।

पिनासको रोकथाम र बच्ने उपाय

पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् । जस्तै :

१. माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ ।

२. ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ । जस्तै : गद्दा, सोफा, कार्पेट, गलैचा, डोरम्याट, पर्दा रुमाल आदि ।

३.  परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ ।

४. दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट बचौँ ।

५. घरमा हावा गुम्सिन नदिऔँ । भरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।

६. जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुनसक्छ ।

७. तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ ।

८. रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौ ।

९. तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ ।

१०. मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।

११. नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहि यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ ।

१२. जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ ।

१४. दैनिक ३–४ लिटर पानी पिउने गरौँ ।

१५. नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।

१६. नाकको सफाईमा विशेष ध्यान दिऔँ ।

पिनासको उपचार

पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसार्थ पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरूपनि थाहा पाउनुपर्ने हुन्छ । कारणको इकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।

प्राकृतिक उपचार

१. जलनेती गर्ने :  प्रचिनकालदेखिनै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ ।

२. सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नुपर्छ ।

३. अनुहारको वाफ लिने : उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।

४. कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८–१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।

५. टाउकाको मालिस  : तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुयाउँदछ ।

६. मसलाहरूको सेवन : तिक्ष्ण स्वाद भएका मसलाहरूजस्तै तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार, आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ ।

७. अकुप्रेसर : अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हत्ेकला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

८. भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोग : भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।

९. गाईको घिउ : सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।

१०. प्रशस्त पानी पिउनस्  : पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुमा कोल्डड्रिङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ ।

११. नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्गिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।

योग चिकित्सा

आसनहरू : शलभासन, मंडूकासन महावीरासन, वीरासन, पृष्ठचालनासन, कर्णपिडासन, शिर्षासन ।

प्राणायाम : अनुलोम—विलोम, कपालभाती, भस्त्रिका, महाभेद ।

ध्यान वा पूर्ण विश्रामको लागि सिथिलिकरण वा शवासनको अभ्यास ।

खानपान व्यवस्थापन

पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमण संग सम्बनिधत रोग हो । पिनासको लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरूलाई आधार मानेर गर्नुपर्ने हुनेछ ।

के के खाने ?

१. मसलाहरूको सेवन ः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तै ः लसुन, प्इाज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसार, ज्वानो, सौफ, अदुवा, हिङ ।

२. अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ ।

३. खजुर, किसमिस, स्याउ, र गैरअम्लिय ताजा फलफूल खाने गरौँ ।

४.तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको पहरेज गर्नुपर्छ ।

५. तातो पानीको सेवन, प्रशस्त झोल पदार्थएको सेवन

६. तातो पानी र बेसार

के के नखाने ?

तारे—भुटेको, संरक्षित खाद्यान्न, कोल्ड ड्रिङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

औषधीको रुपमा मरिचको प्रयोग

कान कराउनुको कारण के हो ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!