विज्ञान जिज्ञासा

के हो स्मार्ट राष्ट्रिय परिचयपत्र (Smart National Identity Card)? यो कस्तो हुन्छ ?

राज्यले आफ्ना नागरिकलाई चिन्नको निम्ति प्रयोग गर्ने परिचयपत्र नै राष्ट्रिय परिचयपत्र हो । राज्यले जनतालाई प्रदान गर्ने सेवा सुबिधाको बितरणमा सेवाग्राहीको परिचयको पुष्ट्याईको निम्ति राष्ट्रिय परिचयपत्रको प्रयोग हुन्छ । हाम्रो नेपाली नागरिकताको प्रमाणपत्र नै नेपालमा अहिलेसम्म प्रयोग हुदै आएको राष्ट्रिय परिचयपत्र हो । नेपालमा सरकारी सेवा सुबिधा लिनको लागि व्यक्तिले नागरिकता देखाएर आफ्नो परिचयको पुष्ट्याईगर्ने चलि आएको छ ।

राज्यले आफ्ना नागरिकहरुलाई यूनिक परिचयपत्र नम्वर (राष्ट्रिय परिचय नम्वर)सहित प्रदान गर्ने वैयक्तिक र जैविक पहिचान समेटिएको स्मार्ट कार्ड प्रविधिमा आधारित परिचयपत्र चाही आधुनिक राष्ट्रिय परिचयपत्र हो । राष्ट्रिय परिचयपत्र बैंक तथा वित्तीय संस्थाहरुले प्रयोगमा ल्याएका एटीएम कार्ड जस्तै हुन्छ । यसमा सीमकार्डमा भएको जस्तै इलेक्ट्रोनिक्स चिप्समा तथ्य र सूचनाहरु समावेश गरीको हुन्छ । यसलाई मेसिनबाट डाटा हेर्न सकिन्छ ।

कार्डमा व्यक्तिको विवरण समावेश गरिएको हुन्छ । जस्तै लिंग, उमेर, रक्त समूह, जन्म मिति, बुबाआमाको नाम तथा पारिवारिक विवरण तथा व्यक्तिगत योग्यता, सम्पत्ति, जमिनको लालपुर्जा, राम्रा नराम्रा काम, संलग्नता जस्ता धेरै विषयहरुलाई एउटै चिप्सभित्र समावेश गरिएको हुन्छ ।इलेक्ट्रोनिक्स मेसिनले पढ्ने हुनाले यो एउटै कार्डमा धेरै सूचना तथा विवरण समावेश गर्न सकिन्छ । यसलाई नागरिकता, मतदाता परिचय पत्र, सवारीचालक परिचयपत्र, पासपोर्ट, लालपुर्जा, सामाजिक सुरक्षा कार्डजस्ता विभिन्न विषयमा उपयोग हुन सक्ने पनि बनाउन सकिन्छ ।

यस्तो कार्डले अन्तराष्ट्रिय सीमाहरुमा नेपाली नागरिकको परिचानलाई सहज बनाउन मद्दत गर्नेछ । त्यस्तै व्यक्तिलाई चिन्ने वा व्यक्तिले दावी गरेको परिचयको पुष्ट्याई गर्ने औठा छाप,अनुहार तथा आखाँको रेटिना जस्ता एक अर्को साग मेल नखाने व्यक्तिका जैविक (बायोमेट्रिक्स) विशेषताहरुको पनि प्रयोग गरिन्छ । यसरी राज्यद्वारा नागरिकलाई छिटो छरितो र कम लागतमा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न, सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्न समेत महत्त्वपूर्ण साधन हुने राष्ट्रिय परिचयपत्र आजको आवश्यकता हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!